आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी साताको कविता

विनोदविक्रम केसीका तीन कविता

शनिबार, २० वैशाख २०८२, १४ : ००
शनिबार, २० वैशाख २०८२

१) शिलाजित

सहरमा शिलाजित बेच्नेहरू बढेका छन् 
सहरमा शिलाजित खोज्नेहरू बढेका छन् 

अकस्मात् के भयो सहरका मान्छेलाई ?
भयभीत भएका छन् एकाएक 
नपुंसत्वको आगामी अनिष्टले 

श्रीमती र प्रेमिकाहरूले गरिरहे लाख कोसिस
बेडरुमलाई प्रेमको पावन भूमि बनाउन 
तर, पुरुषहरूले 
यसलाई रणमैदान बनाउन 
बाँकी राखेनन् कुनै कसर

(यहाँलाई थाहै होला, 
इरेक्टाइल डिस्फंक्सनको बिरामीलाई 
सहरको सेक्सोलोेजिस्टले दिने पहिलो डायलग हुन्छ— 
‘बेडरुम युद्धभूमि होइन ।’)
 
मजनूको प्रतीक्षामा रहने मदहोस धड्कनहरूमा 
ध्वजोत्थान गर्न सर्वदा आइपुग्छ नृशंस चंगेज खान 
सिंगो जुनीको जम्मा प्रयत्न पुंसत्व भएपछि 
(धिक्कार छ !)
शीत्कारहरूका खातिर 
आफूलाई उत्सर्ग गरिदिने मन पैदा होस् पनि कसरी   
यातना–उपकरणबाट ध्वनित/प्रतिध्वनित चीत्कारहरू
आनन्दको परिभाषामा सामेल भएपछि 
कोही पुंसत्ववाला नपुंसक भइन्छ कि भनेर 
सधैँ सधैँ डराउने नै भयो 

पुरुषहरू कहिल्यै भएनन् प्रेममा पारंगत  
जबकि यो सजिलै सिकिने उच्चतम कला हो 
अर्काे मुटुको धड्कन महसुस हुनासाथ 
भई त हालिन्छ प्रेमविशारद 
र, प्रेयसीको प्रणयमग्न एक बुँद नजर 
खस्नासाथ याचनाको प्यालामा 
पुगी त हालिन्छ चरमोत्कर्षमा 

यसरी प्रेम घटित हुन
तदनुरूप सम्भोग घटित हुन 
तगारो हालेको छ पुंसत्वले    

एक कविका हैसियतले 
मैले खारेज गर्ने शब्दहरूको सूचीको 
पहिलो नम्बरमा छ— पुंसत्व 

बलिष्ठतासँग छैन कुनै मोह मलाई 
दुर्बलता मेरा सयौं गुणमध्ये एक हो 
शक्तिहीनताले मलाई दुःखी बनाउँदैन 

मर्दपना, पुरुषत्व, बहादुरी, पुरुषार्थ, पराक्रम...
यी सारा शब्दले मेरी आमा, बहिनी र प्रेमिकालाई 
चोट पुर्‍याइरहे इतिहासदेखि इतिहाससम्म
त्यसैले यिनलाई म मृत देख्न चाहन्छु 

पुरुष हुनुको नाताले 
पुंसत्व खारेज गर्नु मेरो प्रथम दायित्व हो 
किनभने, म एक स्त्रीको सन्तान हुँ, सिर्जना हुँ 
त्यसैले स्वतः हुँ स्त्री—
पुरुषका केही चिह्नसहितको स्त्री !

सोध्नुहोला— पुंसत्व खारेज गर्न चाहने म 
किन लेखिरहेछु शिलाजितमाथि कविता 

किनभने, म शीघ्रभन्दा शीघ्र हुने 
पतनहरूलाई रोक्न चाहन्छु 

सहरका चोक–गल्ली भौँतारिरहेका 
जुम्ला र मुगुतिरका शिलाजितवाला मित्रहरू हो, 
तपाईंहरूका मुखमा दूध र भात ! 

म रोक्न चाहन्छु पतनहरूलाई 
...भावनाको दुर्भावनामा द्रुत पतन 
...स्वप्नको दुःस्वप्नमा द्रुत पतन
...सहीको गलतमा द्रुत पतन  
...मान्छेको दुर्मान्छे अर्थात् चुतियामा द्रुत पतन 

पुनः एक कविका हैसियतले 
गर्छु म सिफारिस 
प्रतिचुतिया दुई–दुई ग्राम शिलाजित    

दिनू, महाशक्ति अमेरिकालाई डबल (अझ ट्रिपल) डोज दिनू
कि— सन्तानको अनुहार कल्पिरहेका विभोर गर्भवतीहरूमाथि 
बम खसाल्ने निर्दयीमा रोकियोस् उसको पतन... 

दिनू, हिजोका क्रान्तिकारीहरूलाई दिनू 
कि— जसले सपनाको अन्तिम बेर्नासमेत 
बहुराष्ट्रिय कम्पनीको हातमा बेचिदिए 
अब पतन हुन बाँकी छैन भन्ने 
तिनको हेक्काको रोकियोस् पतन 

दिनू, संसदीय पहलमानहरूलाई दिनू 
कि— भोका शिशु र रोदनरत आमाहरूको संसार फँडानी गरेर 
जसले जमाएका छन् लोकतन्त्रको अखडा 
जहाँ तमासा बन्दाबन्दा थकित भइसकेको छ जनवेदना 


दिनू, हरेक चुतियालाई दिनू 
दुई–दुई ग्राम दिनू 

र, आफैँलाई पनि सिफारिस गर्छु म 
दुई ग्राम  
किनभने, सारा चुतियाहरूको पतन 
शिलाजितले रोक्न सक्ला कि भन्ने हास्यास्पद आशावादमा 
यत्रो शब्दविलास गर्ने 
म पनि हुँ चुतिया एउटा ।  

२) ज्यास्मिन म्यामको एकहप्ते कार्यकाल 

इमान बाँकी भएको अन्तिम होमो सेपियन्सका रूपमा
संसारले उहाँलाई 
रत्नपार्कको फुटपाथमा फेला पारेको थियो  

देश–देशावर 
बेइमानी र धोकेबाजीका ज्वालामुखीहरू फुटिरहेको समयमा 
कुनै विराट् संयोग— 
बिग ब्याङभन्दा पनि विराट् संयोगले 
उहाँ सिंगो विश्वको प्रधानमन्त्री हुनुभयो 

ज्यास्मिन म्याम, अर्थात् 
विश्वकै प्रथम ‘वेश्या’ प्रधानमन्त्री  
    
उहाँको कार्यकाल केवल एक हप्ता थियो 
त्यो एक हप्ता 
मानव सभ्यताको सबैभन्दा सुन्दर कालखण्ड थियो 

त्यो एक हप्ता 
मान्छेहरू यति इमानदार भएका थिए, कि 
प्रेमीहरूले प्रेमिकाहरूसँग 
प्रेमिकाहरूले प्रेमीहरूसँग 
सच्चा प्रेम गरेका थिए, 
विना कुनै छलछाम, बिना कुनै कृत्रिमता 

त्यो एक हप्ता 
सबैले आफ्नो काम अप्रतिम इमानदारीपूर्वक गरेका थिए
मजदुर र किसान चकित भएर नियालिरहेका थिए दुनियाँलाई 
किनभने, तिनले जुनीभरि आफूबाहेक अरूले 
निष्ठापूर्वक काम गरेको देखेकै थिएनन्  

त्यो एक हप्ता 
राजनीति फोहोरी विरासतबाट मुक्त भएको थियो 
र, यो सबैभन्दा कञ्चन र सफा खेल भएको थियो 

त्यो एक हप्ता 
मान्छेहरूको खाद्य संस्कृति बदलिएको थियो, 
‘फुड चेन’ टुटेको थियो 
ठुला मान्छेले साना मान्छे खान छोडेका थिए 

कुपोषित केटाकेटीले जीवनमा पहिलोपटक 
सपनामा 
अन्न, सागपात, फलफूल, 
गेडागुडी, माछामासु देखेका थिएनन् 
किनभने, विपनामै तीसँग उनीहरूको भेट भएको थियो 

त्यो एक हप्ता 
अमेरिकाले दीन देशहरूमाथि बम बर्साएन 
शान्ति–दलालहरू बेरोजगार भएका थिए, र 
दाल–रोटीका लागि नयाँ रोजगारी खोजिरहेका थिए 
कलह उस्तादहरू बाँसुरी फुक्न सिकिरहेका थिए 
इजरायलले प्यालेस्टाइनी आमाका शोकाकुल कोखहरूसँग 
रुँदै/निहुरिँदै माफी मागेको थियो 

त्यो एक हप्ता
पैसाले ईश्वरको दर्जा गुमाएको थियो 
र, यो पुनः कागजमा सीमित भएको थियो 
(अरूको के कुरा, 
नास्तिकहरूसमेत यो एउटा ईश्वरको अस्तित्व स्वीकार गर्थे) 
र, मान्छेहरूले शताब्दीयौंपछि 
सम्बन्ध, भावना, गीत, नृत्य, खेल, चरा, कोपिला, पुतलीलाई पनि 
ठूला र महान् कुरा ठानेका थिए 

ज्यास्मिन म्याम भावनाले चल्नुहुन्थ्यो 
उहाँका सारा कदम हृदयबाट सञ्चालित हुन्थे 

त्यो एक हप्ता 
जङ्गलहरू फँडानी भएनन् 
नदीहरू ढल बोक्न अभिशप्त थिएनन् 
ठप्प भएको थियो कार्बन उत्सर्जन 

पृथ्वीको सबैभन्दा पाको जीव— 
एक सय उनान्नब्बे वर्षीय जोनाथन कछुवाले 
जीवनमा पहिलो पटक 
कुनै तानाशाहलाई झेल्नुपरेको थिएन 

त्यो एक हप्ता 
धर्तीलाई मान्छेहरूप्रति कुनै गुनासो थिएन 

ज्यास्मिन म्याम विश्वको कार्यकारी भएको 
त्यो एक हप्ता 
संसार बाँच्नलायक भएको थियो 

साँच्चै बाँच्नलायक भएको थियो । 

३) अश्लील

निलो सिनेमाको मैथुनबद्ध झलक... 
आमाचकारी गाली... 
खुलेआम प्रदर्शित विक्षिप्त मान्छेको जननेन्द्रिय... 
नर्तकीका थर्थराइरहेका अर्धनग्न स्तन... 
शरीरका रौँका रैथाने नाम...
रात्रिक्लबमा मध्यरात चल्ने नाङ्गो नाच... 
पार्कमा लट्ठारिरहेको चुम्बनमग्न युगल मायालु...
पोर्नसाइट र कोकशास्त्रहरू...   

यिनै हुन् त अश्लील ? 

महिला तथा सज्जनवृन्द ! 
स्वागत छ यहाँहरूलाई मेरो कवितामा 
आज हामी अश्लील/श्लीलको बहसलाई 
सदाका निम्ति टुङ्ग्याउँदै छौँ 

आफैँमा अश्लील हुन्छन् केही चिज—

कुपोषित नानीहरूका दूध र लिटो फँडानी गरेर 
बसाइएको फोब्र्सको धनाढ्य सूची

परमाणु हतियारको अनुष्ठानपछि 
विश्वलाई दिइने विश्वशान्तिका प्रवचनहरू 

खडेरीमा धकेलेर गरिब देशको किसानको हाँसोलाई 
लाखौँ चिम्नीबाट फैलिरहेको प्रथम संसारको कार्बन अट्टहास...
 
यो पृथ्वी, यो जल, यो तेज, यो वायु र यो आकाशलाई 
आफ्नो लुट–वाङ्मयमा समेटिरहेको 
व्यवस्था छ एउटा 
अश्लील, अश्लील  
(कति दिऊँ उदाहरण !)     

कसले फैलाउँछ अश्लीलता ?
(यसको टुङ्गो पनि आजै लगाऔँ) 

चोरको पक्ष लिइरहेको 
पुलिसले फैलाउँछ अश्लीलता
 
किशोरीका भर्खर–भर्खर आकार लिइरहेका स्तनमा 
सिकारी आँखा टाँसेर 
निक्लिने भलादमीको सुसेलीले फैलाउँछ अश्लीलता 

सरकारी नियुक्ति ताकिरहेको भजनरत कविको 
आत्मच्युत एक–एक शब्दले फैलाउँछन् अश्लीलता 

बाढीले घरखेत निलेपछि झोक्राइरहेको मान्छेकै छेउमा 
दर्किरहेको झरीमा 
विभोर भएर रुझिरहेको मान्छेले फैलाउँछ अश्लीलता 

बस्तीबाट वेश्या भनिएकी महिलालाई गलहत्याउनुअघि 
भद्र गणले प्रस्तुत गर्ने दलिलले फैलाउँछ अश्लीलता 

श्लीलको संहिता कुँद्ने 
शास्त्रहरूले फैलाउँछन् अश्लीलता 

प्रेमको हत्यार्थ हतियार उजाइरहेका 
हरेक हातले फैलाउँछन् अश्लीलता... 

अब यो बहसलाई टुङ्ग्याइदिऊँ यसरी— 
अत्याचारविरुद्ध मौनता 
अश्लील हो 
दुःखीमाथि ठट्टा 
अश्लील हो 

अत्याचार गर्दै ठट्टा गर्ने 
र, ठट्टा गर्दै अत्याचार गर्ने 
शासनलाई झेल्नु 
अतिशय अश्लील हो 

म घृणा गर्छु
अश्लील मान्छेहरूलाई 

गर्छु घृणा  
अश्लील चिजहरूलाई
 
र, असाध्यै घृणा गर्छु 
मभित्र बेला–बखत पैदा हुन खोज्ने 
एउटा अश्लील मान्छेलाई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोदविक्रम केसी
विनोदविक्रम केसी
लेखकबाट थप