बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह

शनिबार, २० वैशाख २०८२, १४ : १७
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् ।  शनिबार काठमाडौँमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको जिकिर गरेकी हुन् । 

उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन । तपाईँहरू त कहीँ लेबर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेसनभित्र तपाईँहरूले कति ठुलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’

उनले पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको उल्लेख गरिन् । “तपाईँहरूले आफूभन्दा ठूलो संस्था र संस्थाभन्दा ठूलो देश हो भन्ने भावना बोकेकै कारण अहिले एकता महाधिवेशन सम्भव भएको हो”, उनले भनिन्, “तपाईँहरू राजनीति गरेर मन्त्री र प्रधानमन्त्री बन्ने होइन, गैरआवासीय नेपालीहरूको हितका लागि हो, त्यसैले सङ्घमा राजनीति मिसाउनु उचित होइन ।” उनले सङ्घभित्र भएका मतभेद त्यागेर एकताका साथ एनआरएनएको उद्देश्य पूरा गर्नका लागि सबै एकजुट हुनुको विकल्प नभएको दोहोर्‍याइन्  । 

परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् । परराष्ट्रमन्त्री डा राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताइन् ।

उनले नेपालसँग स्रोतसाधन भए पनि विश्वमा विकास भइरहेको प्रविधि, नयाँ व्यवस्थापकीय कला र पुँजीको अभाव भएकाले त्यसको पूर्ति गैरआवासीय नेपालीहरूले गर्न सक्ने उल्लेख गरिन्।  उनले गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै आर्थिक सुधारको बाटोमा सहकार्य गर्न आवश्यक रहेकामा जोड दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप