मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न एकीकृत समाजवादीमा लर्को

अध्यक्षसहित ५ सदस्यमा पार्टीको दाबी
मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : २२
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेकपा एकीकृत समाजवादीभित्र नेताहरूको लर्को लागेको छ । पार्टी पदाधिकारीहरूमार्फत राष्ट्रिय सभा सदस्यका नाम टिपाउनेको सङ्ख्या लर्को लागेको हो ।

उपाध्यक्ष राजेन्द्र पाण्डेले मंगलबारसम्म करिब तीन दर्जनले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस आएको बताए । ‘आकांक्षा राखेर नाम सिफारिस गर्नेहरूको सङ्ख्या बढ्दो छ । तर पार्टीले अहिलेसम्म केही निर्णय गरिसकेको छैन’, पाण्डेले रातोपाटीसँग भने । त्यस्तै उपमहासचिव जगन्नाथ खतिवडाले पनि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन ३० भन्दा बढी नेताले आग्रह गरेको बताए । ‘मलाई नै ३० भन्दा बढीले उम्मेदवारका लागि अनुरोध गरेका छन् । यही ढंगले अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरुलाई पनि होला’, खतिवडाले भने, ‘सिफारिस नामहरुबारे पार्टी बैठकमा छलफल भैसकेको छैन ।’

उपाध्यक्ष पाण्डेले मंसिर अन्तिम साता बस्ने सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारबारे छलफल हुने जानकारी दिए । सो पार्टीको मंसिर २८ र २९ गते सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकअघि गठबन्धनमा कसले कति सिट पाउने भन्ने निर्णय हुने नेताहरूको भनाइ छ । अहिलेसम्म गठबन्धनमा आआफ्ना पार्टीबाट खाली भएका आआफ्नै हुने बाँकी एमालेका नौ पदमा भागबण्डा गर्ने तयारी छ । गठबन्धन मिल्दा एमालेले कतै पनि जित्ने अवस्था छैन ।  

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिने भएपछि १९ पदका लागि माघ ११ मा निर्वाचन हुँदैछ । एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । फागुनमा पदावधि सकिनेमध्ये एकीकृत समाजवादीका दुई जना सदस्य छन् । सो पार्टीबाट कर्णालीका नन्दा चपाईं र बागमतीबाट सिंहबहादुर विश्वकर्माको पदावधि सकिँदै छ । एकीकृत समाजवादीको चुनाव चिह्न कलमबाटै निर्वाचन जितेका तर पछि स्वतन्त्र बनेका खिमलाल देवकोटाको स्थानमा पनि एकीकृत समाजवादीले नै दाबी गर्ने गरेको छ ।

‘फागुन २० मा हाम्रो पार्टीका तीन जनाको पदावधि सकिन्छ । ती स्थानमा हाम्रो दाबी स्वाभाविक रहन्छ’, सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘त्यसबाहेक थप २ वटामा पनि हाम्रो दाबी रहन्छ ।’

राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने

फागुन २० मा राष्ट्रिय सभा अध्यक्षको समेत पदावधि सकिँदै छ । हाल राष्ट्रिय सभा अध्यक्ष नेकपा एमालेका गणेश तिमिल्सिना रहेका छन् । हालको गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्ष फागुन २० पछि आफूले पाउनुपर्ने बताउँदै आएको छ ।

‘एकीकृत समाजवादी आकारमा सानो भएपनि अहिलेको गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी हो’, उपमहासचिव खतिवडाले भने, ‘माओवादीको प्रधानमन्त्री, कांग्रेसको राष्ट्रपति, जसपाको उपराष्ट्रपति पद सुरक्षित हुँदा हामीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नु व्यवहारिक हुन्छ ।’

उनले गाडी जतिसुकै भएपनि पाङ्ग्राको एउटा नटबोल्ट नभए गाडी नगुड्ने बताए ।

‘गाडी जतिसुकै ठुलो भएपनि पाङ्ग्राको एउटा नटबोल्ट भएन भने गाडी दौडँदैन । एकीकृत समाजवादी भनेको एउटा नटबोल्ट हो’, खतिवडाले भने, ‘त्यस कारण अहिलेको सरकारलाई गाडी सम्झने हो भने त्यो गाडीको एउटा नटबोल्ट एकीकृत समाजवादी हो । यस्तो अवस्थामा गठबन्धनका अरू दलले महत्त्वपूर्ण पद पाइसकेको अवस्थामा हामीले राष्ट्रिय सभाको अध्यक्ष किन नपाउने ?’

यसैबीच उपाध्यक्ष समेत रहेका प्रमेश हमालले समेत आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन अध्यक्ष माधव नेपाललाई चर्को दवाव दिएको बुझिएको छ । तर हमालको हकमा अध्यक्ष नेपाल सकारात्मक भएपनि अन्य पदाधिकारीहरू सकारात्मक नभएको बुझिएको छ । ‘प्रतिनिधि सभामाको समानुपातिक सुचीमा नाम समावेश रहेकाहरूको राष्ट्रिय सभामा सिफारिस हुँदैन । यद्यपि मापदण्ड तय भैसकेको छैन’, माधव नेपाल निकट स्रोतले भन्यो, ‘हमालजीको प्रतिनिधि सभाको समानुपातिक सुचीमा नाम एक पटक दर्ता भैसकेकाले उहाँको सम्भावना न्युन छ ।’ अर्का उपाध्यक्ष घनेन्द्र बस्नेत पनि राष्ट्रिय सभा सदस्य बन्न आकांक्षी छन् । हमालको तुलनामा बस्नेतको पार्टीमा समेत लामो योगदान रहेकाले उनको हकमा सर्वसम्मत निर्णय हुनसक्ने सो पार्टीका नेताहरूको भनाई छ ।

‘वाम आन्दोलनबाट आएको र १७ बर्ष जेल बसेको निश्कलंक व्यक्तित्वका रुपमा बस्नेत जी रहेकाले उहाँ सबभन्दा उपयुक्त उम्मेदवार बन्न सक्नुहुन्छ’, अध्यक्ष नेपाल निकट स्रोतको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप