शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अरुण तेस्रो आयोजना

सबैभन्दा ठुलो विदेशी लगानीमा स्थानीयको अवरोध, समस्याको स्थायी समाधान खोज्दै सरकार

स्थलगत अध्ययन सकेर फर्कियो उच्चस्तरीय कार्यदल
बुधबार, २७ मङ्सिर २०८०, ०६ : ४२
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको स्थलगत अध्ययन गरेर उच्चस्तरीय कार्यदल फर्किएको छ । स्थानीयले आयोजनाको पावर हाउस प्रवेशमार्गमा ६७ दिन लामो अवरोध सृजना गरेपछि समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको थियो । सो कार्यदल ९ दिनको स्थलगत भ्रमण सकेर काठमाडौँ फर्किएको हो ।

स्थानीय वासिन्दाले २४.५ किलोमिटर लामो प्रवेशमार्गको मुआब्जा माग्दै ६७ दिन लामो अवरोध खडा गरेका थिए । पटक–पटक मुआब्जा माग्दै आयोजनामा अवरोध पुर्‍याउन थालेपछि सरकारले तीन सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको थियो । अर्जुनजंग थापा नेतृत्वको कार्यदलमा जनकराज दाहाल र पद्यनिधि सोती सदस्य छन् ।

लगानी बोर्डका अनुसार कार्यदल यही मङ्सिर १५ गते आयोजनास्थल पुगेको थियो । र, ९ दिने लामो स्थलगत अध्ययनपछि मङ्सिर २४ गते फर्किएको हो । यद्यपि, कार्यदलले आफ्नो प्रतिवेदन भने बुझाइसकेको छैन । आयोजनाको निर्माणमा ६७ दिन लामो अवरोध गर्नु अघि पनि स्थानीयले २२ दिन अवरोध सिर्जना गरेका थिए ।

‘पटक–पटक स्थानीयको अवरोध आउन थालेपछि आयोजनास्थलको समस्या समाधान गर्नका लागि उच्चस्तरीय कार्यदल गठन भएको थियो,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने । यो कार्यदलले स्थानीयवासीको माग जायज भए÷नभएको हेर्ने छ । यस्तै, मुआब्जा पाउन बाँकी स्थानीयको पहिचान गर्नुका साथै तिर्नुपर्ने मुआब्जाको विषयमा समेत स्पष्ट प्रतिवेदन कार्यदलले बुझाउनेछ ।

साढे तीन दशक अघि सल्टिएको मुद्दा बल्झिएपछि...

नेपाल सरकारले ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजना बनाउन २०४५ सालदेखि नै काम थालेको थियो । उक्त समयमा आयोजना बनाउनेभन्दै सङ्खुवासभाको आयोजना प्रभावितलाई मुआब्जा वितरण सकिएको थियो । लगानी बोर्डका अनुसार उक्त समयमा आयोजना निर्माणको काम विश्व बैंकले गरेको थियो । तर, विविध कारण देखाउँदै आयोजनाबाट विश्व बैंक बाहिरियो ।

२०७४ सालको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार अध्ययन गरेर ४ किलोमिटर पहुँचमार्गका स्थानीयवासीलाई मुआब्जा दिइयो ।  सोही मुआब्जा वितरणपछि २०४५ सालतिरै मुआब्जा वितरण भइसकेको २४.५ किलोमिटर पहुँचमार्गको समेत मुआब्जा चाहिने आवाज बलियो बन्यो ।

यसपछि २०६७ सालतर्फ सरकारले मुआब्जा वितरण भएको क्षेत्रको लगत कट्टा गरेको थियो । यस्तै, त्यसअघि पुगेको नापिले समेत मुआब्जा वितरण भइसकेको क्षेत्रको नापि गरेको थिएन । सोहीअनुसार भारतको सतलज जलविद्युत निगम र लगानी बोर्डबिच २०७१ सालमा आयोजना अघि बढाउने सम्झौता भयो । सम्झौता आयोजना प्रभावितलाई मुआब्जा वितरण भइसकेको उल्लेख थियो । ‘आयोजनास्थलसम्म पुग्न चाहिने कूल २८.५ किलोमिटर पहुँच मार्ग बनाउनेक्रममा ४ किलोमिटरको मुआब्जा छुटेको पाइयो,’ सीईओ भट्टले भने ।

त्यसपछि २०७४ सालको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार अध्ययन गरेर ४ किलोमिटर पहुँचमार्गका स्थानीयवासीलाई मुआब्जा दिइयो । तर, सोही मुआब्जा वितरणपछि २०४५ सालतिरै मुआब्जा वितरण भइसकेको २४.५ किलोमिटर पहुँचमार्गको समेत मुआब्जा चाहिने आवाज बलियो बन्यो । ‘स्थानीयवासीले सरकारले मुआब्जा वितरण गरेकोभन्दा धेरै जग्गा काटेर आयोजनाले पहुँच मार्ग बनाएको बताउँदै आएका छन्,’ भट्टले थपे, ‘अब जसरी पनि यो समस्यालाई समाधान गर्नै पर्ने भएको छ ।’

सबैभन्दा ठुलो विदेशी लगानी

सरकारले प्रत्येक फोरममा विदेशी लगानीलाई खुला मनले स्वागत गर्ने बताइरहेको छ । तर, अहिले कार्यान्वयनको प्रक्रियामा रहेका सबै आयोजनामध्ये अरुण तेस्रोमा आएको विदेशी लगानी सबैभन्दा ठुलो हो । यो आयोजना निर्माणका लागि १ खर्ब ४४ अर्ब रुपैयाँको स्वीकृति भारतीय लगानीकर्ता कम्पनी सतलजले पाएको थियो । सोहीअनुसार काम भइरहेको छ ।

स्थानीयको अवरोधका बाबजुद बिजुली उत्पादनतर्फ आयोजनको भौतिक प्रगति उल्लेखनीय देखिएको छ । आयोजनाले उत्पादनतर्फ ६७ प्रतिशतभन्दा धेरै भौतिक प्रगति गरेको बोर्डलाई जानकारी दिएको छ ।

तर, स्थानीय वासिन्दाले पटक–पटक मुआब्जाका नाममा अवरोध गर्दा कम्पनीले नेपाल सरकारलाई समस्याको स्थायी समाधान खोजिसकेको छ । लगानीकर्ता कम्पनीले समस्याको समाधान खोजिदिन धेरै पटक भनेपछि ६७ दिन निर्माणको काम रोकिएपछि सरकारलाई तीव्र दबाब समेत दिइरहेको छ । ९०० मेगावाट क्षमताको आयोजनाको निर्माण सम्पन्न भएपछि २१.९ प्रतिशत बिजुली नेपाल सरकारले निःशुल्क पाउनेछ । यस्तै, व्यावसायिक उत्पादन थालेको २५ वर्षपछि कम्पनी स्वतः राज्यको स्वामित्वमा आउनेछ ।

स्थानीयको अवरोधका बाबजुद बिजुली उत्पादनतर्फ आयोजनको भौतिक प्रगति उल्लेखनीय देखिएको छ । आयोजनाले उत्पादनतर्फ ६७ प्रतिशतभन्दा धेरै भौतिक प्रगति गरेको बोर्डलाई जानकारी दिएको छ । यस्तै, प्रसारणलाइनतर्फ भने १४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ भने वित्तीयतर्फ ४० प्रतिशत हाराहारीको प्रगति देखिन्छ । अरुण तेस्रो आयोजना सम्पन्न भएसँगै लगानीकर्ता कम्पनीले तल्लो अरुण र अरुण चौथोमा समेत लगानी गर्ने तयारी थालेको छ ।

तल्लो अरुण निर्माणका लागि लगानी बोर्डसँग सम्झौता भइसकेको छ । यस्तै, अरुण चौथो निर्माणका लागि समेत विद्युत् प्राधिकरणसँग सुरुवाती सम्झौताको चरणमा सतलज छ । अहिले कार्यान्वयनको प्रक्रियामा रहेको सबैभन्दा ठुलो विदेशी लगानीको समस्या समाधानमा बोर्डले आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरेको प्रमुख कार्यकारी अधिकृत भट्ट बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप