बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीको अदिभारामा पुल निर्माण सुरु

बुधबार, २७ मङ्सिर २०८०, २० : ०१
बुधबार, २७ मङ्सिर २०८०

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । 

सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलन्यास गरे । हाल चितवन बसोबास गर्दै आएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो ।

शिलान्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै काम पूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकलाई निर्देशन दिए । स्थानीय जनप्रतिनिधि र सरोकारवालालाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न उनले अनुरोध गरे । 

प्रदेश प्रमुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला–बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताए । मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको तुलनामा म्याग्दीबाट बुर्तिवाङ जान कम समय लाग्छ । 

अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडकअन्तर्गत पर्छ । यो पुलबाट मालिका गाउँपालिकाको –२, ३, ४ नम्बर वडाका साथै बागलुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । 

पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर) सँग गत असोज अन्तिम साता रु चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए । 

पुल निर्माणका लागि रु पाँच करोड चार लाख ३७ हजार लागत अनुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् । 

यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गत जेठमा बजेटको स्रोत सुनिश्चित, क्रमागत र बहुवर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रिया अघि बढेको बताए । 

मन्त्री जुग्जालीका अनुसार प्रदेश सरकारको लगानीमा अदिभारादेखि औला–डाँडागाउँ–किटिनी–सोलेडाँडा–तमानखोला सडक स्तरोन्नतिको तयारी भएको छ । चालु आवमा रु दुई करोड बजेट विनियोजन भएको सो सडकका लागि रु दश करोड बजेट बराबरको बहुवर्षीय ठेक्का लगाउन छनोट भएको मन्त्री जुग्जालीले बताए ।  

अदिभारकाको पुलको लागि आव २०७८/७९ र चालु आव २०७९/८० मा रु ५०/५० लाख विनियोजन भएको थियो । चालु आव २०८०/०८१ मा रु एक करोड ५० लाख विनियोजन भएको छ । 

अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप