सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

के उपेन्द्र यादवले मधेसमा गर्न सक्छन् अर्को आन्दोलन ?

शुक्रबार, ०६ पुस २०८०, १४ : ४१
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । ‘बाटो कठिन छ तर गुलामीबाट मुक्ति पाउनु छ भने संघर्ष गर्नैपर्छ । आपसमा एकतावद्ध हुँदा ठुल्ठुला ताकतले घुँडा टेकेको इतिहास छ,’ मधेस प्रदेशको राजधानी जनकपुरमा प्रेस मञ्चको प्रशिक्षण कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राखेको धारणा हो यो ।

उनले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘जसपा फेरि लड्ने तयारी गरिरहेको छ । गणतन्त्र र संघीयतामा कुनै आँच आए जसपाले निर्णायक लडाइँ लड्छ, त्यो मधेसमा मात्र होइन, पहाडमा पनि । सरकारमा रहेरै सरकारसँग लडाइँ लड्ने हो, त्यसका लािग तयार रहनुस् ।’

अध्यक्ष यादवले अहिले दिनहुँजसो आन्दोलनकै कुरा गर्छन् । सात वटै प्रदेशमा प्रशिक्षण दिँदा उनले अधिकार र पहिचानका लागि एकपटक पुनः संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउने गरेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गौर घटनाको पुराना फाइल खोलेपछि जसपा अध्यक्ष यादव आन्दोलनको तयारीमा जुटेका हुन् । अहिले उनी जिल्लाजिल्ला, गाउँगाउँ गएर आन्दोलनको तयारीमा जुटेका छन् । प्रदेश, जिल्ला तथा भ्रातृ संगठनको हरेक प्रशिक्षणमा उनी आफैँ मुख्य प्रशिक्षक भएर प्रशिक्षण दिइरहेका छन् ।

उनको हरेक प्रशिक्षण आन्दोलन केन्द्रित हुने गरेको छ । सामाजिक संस्थाको रुपमा गठन भएको मधेसी जनअधिकार फोरममार्फत २०६४ मा सुरु गरेकै आन्दोलनको निरन्तरताका लागि तयारी सुरु भएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भन्ने गर्छन्, ‘अब हुने आन्दोलन पहिलाको जस्तो हुने छैन, प्रशिक्षित, वैचारिक र पूरै तयारीका साथ हुन्छ ।’

upendra yadav

तर के जसपा अध्यक्ष यादवले भनेको जस्तो आन्दोलन अब सम्भव छ त ? जसपाले गर्न चाहेको आन्दोलनलाई मधेसले साथ देला त ? विगतका मधेस आन्दोलनलाई नजिकबाट नियालेका वरिष्ठ पत्रकार एवं मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरी भन्छन्, ‘जसपाका अध्यक्ष उपेन्द्रजीको मेहनत हेर्दा तयारी त्यसैको हो जस्तो लाग्छ तर आन्दोलन नै गर्नुपर्छ भनेर एग्रेसिभ तरिकाले लाग्नु भएको छैन ।’

देश अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ, जुनसुकै बेला जे पनि हुनसक्ने आकलन गरेर त्यसका लागि तयार रहन अध्यक्ष यादवले कार्यकर्तालाई सचेत तुल्याएको उनको भनाइ छ । आजैको आजै वा भोलि नै आन्दोलनमा होमिनुपर्छ भन्ने हिसाबले नभइ देश प्रतिगमनतिर गयो भने लड्नुपर्ने अवस्था आउन सक्छ भनेर तयारी गरेको हुन सक्ने उनले प्रस्ट पारे ।

‘संघीयताको कार्यान्वयन ठिक ढङ्गले भइरहेको छैन,’ अग्रहरीले भने, ‘यस अवस्थामामा उपेन्द्र यादवको सक्रियता हेर्दा संघीयताको औचित्य सिद्ध गर्न लागेको जस्तो देखिन्छ । कुनै अनिष्ट भयो भने त्यसको लागि लड्नुपर्छ भनेर तयारी गरेको हुन सक्छ ।’

सरकारको काम कारबाहीबाट जसपाका अध्यक्ष उपेन्द्र यादव सन्तुष्ट छैनन् । बालुवाटार र सिंहदरबारबाट उनी टाढिएका छन् । सत्ता गठबन्धन, समाजवादी मोर्चासँग पनि उनी प्राविधिक रुपमा मात्र जोडिएका छन् ।

जसपा अध्यक्ष यादव माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्पर्कमा थिए । निरन्तर संवाद गरेर गठबन्धन र मोर्चालाई सक्रिय बनाइरहेका हुन्थे तर अहिले दुरी बढेको छ ।

ती गठबन्धन र मोर्चाबाट टाढिएर आफ्नै आन्दोलनको तयारीमा लागेका उनी हरेक औपचारिक, अनौपचारिक मञ्चहरुमा सरकारको आलोचना गर्दै आएका छन् । जबकि उनकै पार्टीसमेत सरकारमा सहभागी छ । मधेस प्रदेशका सरकारको नेतृत्व उनकै पार्टीले गरेको छ । तै पनि उनी सरकारको काम कारबाहीबाट सन्तुष्ट छैनन् ।

एउटा प्रशिक्षणमा अध्यक्ष यादव सात–आठ घण्टासम्म भाषण दिन्छन् । हरेक विषयमा उनले प्रशिक्षण दिन्छन् र जनतालाई आन्दोलनका लागि प्रशिक्षित गर्छन् ।

जसपाका अध्यक्ष यादव प्रदेशको अधिकारप्रति सन्तुष्ट छैनन् । प्रदेश सरकारलाई सीडीओ जतिको पनि अधिकार नदिएको भन्दै उनले बारम्बार असन्तुष्टि पोख्दै आएका छन् । संविधान निर्माण भएको आठ वर्षभन्दा बढी भइसक्दा समेत गणतन्त्रलाई संस्थागत गर्न नसकिएको उनको भनाइ रहने गरेको छ ।

मधेस आन्दोलनको जानकार इन्जिनियर सत्यनारायण साह (जनकपुर)ले मधेसी जनता आन्दोलनको मुडमा नरहेको बताए । उनले भने, ‘उपेन्द्र यादव राजनीतिकर्मी हुनुहुन्छ, उहाँले केही न केही गरिरहनु पर्छ । त्यो उहाँको कर्तव्य र ड्युटी पनि हो तर आन्दोलनको लागि मधेसी जनताले साथ देलान् भन्ने मलाई विश्वास लाग्दैन ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवमात्र होइन, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले विगतमा ठुलाठुला अवसर पाए पनि केही गर्न नसकेको जिकिर गर्दै साहले भने, ‘अहिले उनीहरुसँग त्यो तागत नभएपछि आन्दोलनको धम्की दिने गरेका छन् ।’

साहका अनुसार संविधान अधुरो छ, संघीयताको मर्म अनुसार कानुन बनेको छैन र प्रदेशलाई अधिकार दिइएको छैन । यस्तो हुनुमा उपेन्द्र यादवहरु पनि दोषी रहेको उनको तर्क छ । मधेसी जनताले आन्दोलन गरेर उनीहरुलाई शक्तिशाली बनाएर पठाउँदासमेत त्यसलाई दुरुपयोग गरेका कारण आज मधेस यो अवस्थामा आइपुगेको उनको टिप्पणी छ ।

‘अहिले त्यो शक्ति हातमा छैन अनि आन्दोलनका लागि उनीहरु दौडधुप गरिरहेका छन् तर जनता पहिलाको जस्तो छैनन् । जनताले सबैकुरा सोच विचार गर्लान्,’ उनले भने, ‘जे कुरा पनि समयमा गर्दा मात्र हुन्छ, समय गइसकेपछि त्यसको लागि पश्चाताप मात्र गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप