आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्षविरुद्ध आन्दोलन गर्ने पदाधिकारीहरुको चेतावनी

आइतबार, ०८ पुस २०८०, १४ : ३०
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आफू अनुकूलका व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरेको भन्दै संघीय कार्यसमितिका पदाधिकारीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।  

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघीय कार्यसमितिका पदाधिकारीहरुले आचार्यले आफू अनुकूलका व्यक्तिहरुलाई कर्मचारी नियुक्ति गरेको र भएका कर्मचारीलाई विभिन्न लाञ्छना लगाइ कामबाट निकालेको आरोप लगाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । उनीहरुले सुदूरपश्चिम प्रदेशको बारेमा पछिल्लो निर्णय बिना सर्त फिर्ता लिन र वैधानिक र नीतिगत व्यवस्था विपरीत एकलौटी निर्णय नगर्न आग्रह गरेका छन् । उनीहरुले संस्थागत नियमभित्र रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तिको अभियानमा एकजुट हुनको लागि आफूले गरेका गल्तिहरु सुधार गरी माफी माग्न दिउँसो २ बजेसम्मको समय दिएका छन् । 

आइतबार अध्यक्ष आचार्यले सार्वजनिक माफी नमागे राजीनामा माग्दै राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यालय अनिश्चितकालिन तालाबन्दी गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघीय कार्यसमिति उपाध्यक्ष अनिता घिमिरेले तत्काल माग सम्बोधन नभए क्रमशः सबै प्रदेश कार्यालय समेत बन्द गरी संघर्ष समिति गठन गरी आन्दोलन गर्ने चेतावनी दिइन् । 

उनले आन्दोलनमा सहभागी हुन अपाङ्गता अभियानकर्मी, राजनैतिक दलका अपाङ्गता सम्बन्धी भ्रातृ संघ, संस्थाहरु, प्रदेश तथा संघीय कार्यसमिति, अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सम्पूर्ण सञ्चारकर्मी तथा नागरिक समाज, अपाङ्गता राष्ट्रिय निर्देशक समिति, मानवअधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद् लगायत यस अपाङ्गता क्षेत्रमा सरोकार राख्ने सम्पूर्ण क्षेत्र निकाय तथा व्यक्तिहरुलाई आग्रह गरिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप