सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिविमा सेवा लिन आउने विद्यार्थीलाई सास्ती

समस्या एकातिर, दोष अर्कोतर्फ
सोमबार, ०९ पुस २०८०, २३ : ३५
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । मुगुका रमेश शाही केही दिन अगाडि काठमाडौँ आए । उनको स्नातक तहको शैक्षिक प्रमाणपत्रमा नाम फरक परेको थियो । त्यही सच्याउन उनी काठमाडौँ आए ।

काठमाडौँ आएर एक हप्तासम्म दिनदिनै उनी बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा जान्थे । उनको नाममा एउटा अक्षर मात्र मिस्टेक थियो । त्यो पनि पहिलो वर्षमा एउटा, दोस्रो वर्षमा अर्को र तेस्रो वर्षमा फरक थियो । तीनै वर्षको प्रमाणपत्रमा एउटै नाम बनाउनुपर्ने थियो । परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरू फाइल हेर्ने र सिधै मिल्दैन भनेर उनलाई फर्काइदिन्थे ।

त्यसपछि उनले काठमाडौँमा चिनेकै एक जनालाई फोन गरेर आफ्नो समस्याबारे बताए । ती चिनेका दाइले त्रिविका एक विद्यार्थी संगठनका अध्यक्षलाई फोन गरेर काम गरिदिन अनुरोध गरे । विद्यार्थी संगठनका ती अध्यक्षले उनको काम एक घण्टामै गराइदिए ।

एउटा प्रमाणपत्रमा सानो कुरा सच्याउन खेपेको सास्ती उनको जीवनका लागि अविस्मरणीय बन्न पुग्यो । ‘यहाँ त चिनेको मान्छे नभएपछि स्वास फेर्न पनि नसकिने रहेछ । भनसुनको आधारमा हुन्छ भन्ने थाहा पाएको भए आएकै दिन गरिहाल्थेँ । म त राम्रो तरिकाले काम बन्न भन्ने सोचेर आएको, निकै दुःख पाइयो,’ उनले भने ।

गत असारमा आस्था दाहालले समकक्षता प्रमाणपत्र माग्दा खेपेको सास्तीबारे सामाजिक सञ्जालबाटै पोष्ट गरिन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट अपराध शास्त्रमा एमफिल, पीएचडी गरेकी आस्थाले समकक्षताका लागि त्रिविमा निवेदन दिएकी थिइन् । उनले समक्षकता पाउन सकिनन् ।

२०७८ सालमा नेपाल आएकी उनले समकक्षता पाउन निकै दुःख गर्नुपर्यो । यतिसम्म कि उनको विषयपछि त्रिवि कार्यकारी परिषद्ले समकक्षता सम्बन्धी नियम नै संशोधन गर्नुपरेको थियो ।

त्यस्तै महोत्तरीका लालबाबु कुमार यादवले भारतबाट अप्रेसन थिएटर टेक्नोलोजीमा बीएससी पास गरे । हरियाणाको महाऋषि मार्कन्डेश्वर विश्वविद्यालयबाट उनले बीएससी गरे पनि त्रिविबाट समकक्षता पाउन सकेनन् । २०७६ सालमा उनले निवेदन दिएका थिए । त्यसपछि उनलाई ४५ दिनमा आउन भनिएको थियो । ४५ दिनमा जाँदा अध्ययन छोटो अवधि भएको भन्दै चार वर्षे स्नातक तह पढेको कागजात ल्याउन अथवा ६ महिना इन्टर्न गरेको प्रमाण ल्याउन भने ।

कोर्ष नै साढे तीन वर्षको हो, कसरी थप कागजात ल्याउने भन्दा ‘त्यो त कसरी ल्याउने, तिम्रो समस्या हो’ भन्दै कर्मचारी पन्छिए । त्यसपछि उनले समकक्षता पाउन निकै दुःख भोग्नुपर्यो । यतिसम्म कि उनलाई १० हजार रूपैयाँ दिएमा समकक्षता दिलाइदिने भन्दै भित्रकै कर्मचारीहरू बिचौलिया बनेर आए ।

रत्न राज्यलक्ष्मी (आरआर) कलेजका स्नातक तहका धेरैजसो विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नतिजा नै गायब पारियो । मार्कसिटमा विषय शिक्षकले दिएको नम्बरभन्दा फरक आयो । स्नातक तह दोस्रो वर्ष अंग्रेजी विषयका विद्यार्थीको नतिजामा यस्तो गम्भीर खालको त्रुटि भेटिएको हो ।

यो समस्या अहिलेमात्र नभई स्नातक तह प्रथम वर्षका विद्यार्थीको हकमा समेत देखिएको थियो । दुवै समस्या सल्टिन सकेको छैन । २०७९ सालमा लिइएको वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएपछि ५०० भन्दा बढी विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नतिजामा त्रुटि भेटिएको हो ।

कक्षाकोठामा नियमित हाजिर हुने, पढ्नमा राम्रा विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा कम नम्बर देखिएको छ भने कहिल्यै कक्षाकोठामा नआउने विद्यार्थीको भने बढी अङ्क दिइएको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी संगम राईले बताए ।

‘कक्षामा नियमित आउने, पढाइमा राम्रो भएका र विषयगततर्फ राम्रो अङ्क आएका विद्यार्थीको प्रयोगात्मकतर्फ भने कम अङ्क दिइएको छ । विषय शिक्षकले त्यो बेला प्रयोगात्मक परीक्षा हुँदा दिएको अङ्क भने बढी छ,’ उनले भने ।

गत वर्ष विद्यार्थीहरूले आन्तरिक मूल्याङ्कनको परीक्षाको नतिजामा धेरै विद्यार्थी अनुपस्थित देखाएको थियो । विद्यार्थीहरूले यो विषयमा छानबिन गरेर त्रुटि सच्याउन र लापरबाही गर्नेलाई कारबाही गर्न माग गरेका थिए । तर, क्याम्पस प्रशासनले अटेरी गरेपछि विद्यार्थीहरूले क्याम्पस प्रमुख जीवनधर ज्ञवालीलाई फूलमाला दिएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै धन्यवाद दिएका थिए ।

बैतडीका भुवन कठायत कीर्तिपुरमा डेरा गरी बस्छन् । नजिकै रहेको त्रिवि सेन्ट्रल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । डेरा भाडा, पढाइको खर्च समेत सबै घरबाटै ल्याउँछन् उनी । पढाइका कारण उनलाई काम गर्न समय मिल्दैन, जसले गर्दा घरबाट पठाइदिएको पैसाले पढिरहेका छन् ।

‘म काम गर्न सक्छु । तर, बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कलेज हुन्छ । अनि कति खेर काम गर्नु ? कमसे कम मास्टर पढ्ने विद्यार्थीका लागि बिहान कलेज लगाएर दिउँसो काम गर्ने वातावरण बनाइदिए हुन्थ्यो । त्यतातर्फ कसैको ध्यान गएको छैन,’ कठायतले भने ।

आस्था, लालबाबुले समकक्षता लिने, रमेशले प्रमाणपत्र सच्याउने, भुवनले दिउँसोको समयमा पढ्नुपरेको र आरआरका विद्यार्थीले भोगेको सास्ती त एउटा उदाहरण मात्रै हुन् । यस्ता दुःख पाउने, काम बन्दैन भन्दै फर्काउने घटना त त्रिविमा सामान्य जस्तै भइसकेको छ ।

tribhuwan-university (2)

पुस २ गते धेरै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराएर त्रिविले रेकर्ड कायम राखेको विषय चर्चामा छ । त्यसरी विद्यार्थीहरूलाई दीक्षित गराउँदा थप बेरोजगार उत्पादन गरिएको भन्दै चर्चा परिचर्चा चलिरहेको छ । तर, त्रिविले विश्वबजारको माग अनुसार गुणस्तर सुधारमा अघि बढ्न सकेको देखिन्छ । एकातिर विद्यार्थी दिन प्रतिदिन घटिरहेका छन् भने अर्कोतिर त्रिविबाट पाउन सेवा लिन फलामको ढुङ्गा चपाउनुसरह छ ।

यस्तो सास्ती सबैभन्दा बढी परीक्षा नियन्त्रण कार्यालय बल्खुमा पाइन्छ । जहाँ शैक्षिक प्रमाणपत्र लिनेदेखि परीक्षा आवेदन फाराम भर्दासम्म सहज छैन ।

अखिल क्रान्तिकारी त्रिवि जिल्ला कमिटी अध्यक्ष प्रदिप भट्टले त्रिविबाट प्रदान गरिने सेवा सुविधाका कारण समेत विद्यार्थीहरूको कम आकर्षण देखिएको बताए ।

एक वर्ष अगाडि एकै दिनमा सर्टिफिकेट दिने घोषणा गरेको त्रिविले एकै दिनमा नभए पनि लगभग तीन दिनमा सर्टिफिकेट प्रिन्ट हुने अवस्था बनायो । तर, परीक्षा नियन्त्रण कार्यालयले कर्मचारी अभावको कारण देखाउँदै एकै दिनमा ट्रान्सक्रिप्ट दिने योजना तुहाइदियो ।

अहिले कुनै पनि संकायको ट्रान्सक्रिप्ट झिक्न न्यूनतम तीन हप्ता समय लाग्छ । त्यसमाथि बीबीएसको सबैभन्दा बढी समय लाग्छ ।

‘देशभरको विद्यार्थीबाट शुल्क लिने, सरकारको सेवा सुविधा तलब खाने अनि कर्मचारी छैनन् भनेर पन्छिन मिल्दैन । कर्मचारीतन्त्रको सिण्डिकेट छ । अनि विचौलियाहरूको बिगबिगी छ । उनीहरूले कर्मचारीलाई प्रलोभनमा पारेर पैसा लिएर काम गराउने प्रवृत्ति छ,’ अध्यक्ष भट्टले भने ।

मुलुक संघीयतामा गएको लामो समय भइसकेको छ । राज्य संरचना नै विकेन्द्रीकरण भइरहेको छ । तर, त्रिवि भने अझै पनि केन्द्रीकृत शासन प्रणालीमै छ । पनिकाका सातै प्रदेशमा प्रदेश (क्षेत्रीय) कार्यालय छन् । ती कार्यालयहरूबाट परीक्षा फाराम भर्ने र भरेको फाराम केन्द्रमा पठाउने बाहेक केही हुँदैन । जसले गर्दा विद्यार्थीहरू अधिकांश सेवा दिन काठमाडौँ नै आउनुपर्छ । काठमाडौँ केन्द्रित हुँदा एकातिर सेवाग्राहीको चाप निकै बढी हुन्छ भने अर्कोतिर सेवा लिन समेत ढिलासुस्ती हुन्छ ।

परीक्षा संयन्त्र नसुध्रिएसम्म विश्वविद्यालयमा सुधार नहुने अध्यक्ष भट्टको भनाइ छ । ‘विद्यार्थीले सेमिस्टर प्रणालीमा समेत परीक्षा भएको तीन महिनाभित्र रिजल्ट पाउनुपर्ने हो । तर, १८ महिना, २ वर्ष समय लगाउँछ,’ उनले भने ।

प्रत्येक वर्ष विद्यार्थी घट्दो अवस्थामा छन् । कतिपय विभाग बन्द हुने अवस्थामा पुगेका छन् । मर्जर गरेर त्रिविले विभागहरूलाई जीवित राख्न खोजिरहेको छ । भूगोल, इतिहास लगायतका विभागहरू बन्द हुने अवस्थामा छन् ।

त्रिवि धराशायी बन्नको अर्को कारण राजनीतिक भागबण्डा रहेको उनको भनाइ छ । विभागीय प्रमुख, डीन लगायतका पदाधिकारीहरू समेत नियुक्त गर्दा राजनीतिक भागबण्डाको आधारमा हुने र उनीहरूले राजनीतिक स्वार्थका लागि मात्रै काम गर्ने प्रवृत्तिले समस्या भइरहेको अध्यक्ष भट्टले बताए ।

त्रिविमा चार वटा रिसर्च सेन्टर छन् । ‘पढ्दै, कमाउँदै’ नारासहित रिसर्च सेन्टर स्थापना गरिएको थियो । तर, रिसर्च सेन्टर थला परेर बसेका छन् ।

त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले २०७५ सालमा २४ घण्टामै प्रमाणपत्र उपलब्ध गराउने योजना हाल स्थगित गरिएको बताए । प्राविधिक कर्मचारीको अभावमा उक्त योजना अघि बढ्न नसकेको उनको भनाइ छ । ‘सफ्टवेयर डेभलप गरेर विकेन्द्रिकृत गर्न खोजेर हरेक क्षेत्रबाट वितरण गर्ने भन्ने थियो । तर, अहिले त्यो सफ्टवेयरले काम नगरिरहेको अवस्था हो । यो बन्ने प्रक्रियामा छ । सबैलाई लिङ्क गरेर अगाडि बढ्ने भन्ने हो, त्यो सबै प्रक्रियामै छ,’ उनले भने ।

त्रिविले मूल प्रमाणपत्र र ट्रान्सक्रिप्ट गरी दुई प्रकारले प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । ट्रान्सक्रिप्ट सामान्यतया ७ दिनभित्रमा दिनुपर्छ भन्ने त्रिविको मान्यता छ । सोही आधारमा अपवाद बाहेक सात दिनभित्रमा ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

तर, मूल प्रमाणपत्रको हकमा कुन समयको हो भन्ने प्रमुख हुने उनको भनाइ छ ।  ‘तत्कालैको हो भने बहालवाला भिसीले हस्ताक्षर गर्ने र तत्कालै दिइन्छ । तर, पुरानो हो भने त्यो बेलाको भिसीको को थियो ? त्यसको हस्ताक्षर हुनुपर्छ । जसले गर्दा समय लाग्छ,’ सूचना अधिकारी दाहालले भने ।

यदि त्यो बेलाको भिसीको मृत्यु भएको अवस्था हो भने बहालबाला भिसीको हस्ताक्षरसहित प्रमाणपत्र उपलब्ध गराइन्छ । त्यस्तो अवस्थामा सामान्यतया १५ दिनको समय लाग्ने सूचना अधिकारी दाहालको भनाइ छ ।

त्रिविका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमाले राजनीतिक भागबण्डाको जालमा फसेको त्रिवि सुधार गर्न कठिन रहेको बताए । उनले त्रिविलाई भागबण्डा मुक्त गर्नको लागि ‘बोर्ड अफ ट्रष्टीज’ को माग राख्दै आएका छन् । राजनीतिक भागबण्डाको आधारमा हुने नियुक्तिलाई अन्त्य गर्दै बोर्ड अफ ट्रष्टीजमार्फत अघि बढेको खण्डमा मात्र त्रिविलाई बचाउन सकिने उनको भनाइ छ ।

त्रिवि स्ववियु सभापति श्यामराज ओझाले त्रिविको बारेमा धेरै नै नकारात्मक कुराहरूमात्र आइरहने गरेको बताए । जसले गर्दा विद्यार्थी तथा आम अभिभावकमा समेत नकारात्मक प्रभावमा मात्र परिरहेको उनको भनाइ छ । त्रिविले मापन गर्ने गुणस्तरको कुरामा कुनै कमी नआएको भन्दै केही व्यवस्थापनको समस्या रहेको उनले बताए । ती समस्या समाधानका लागि एक जनाले मात्रै सम्भव नहुने भन्दै उनले सबैले आ आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप