शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

बालुवाटारको बाटोमा दिउँसै बलात्कारको आरोप, विश्वसनीय नभएको भन्दै धरौटीमा छाड्ने अदालतको आदेश

बिहीबार, १२ पुस २०८०, ११ : ४०
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । पुस २ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले एउटा आदेश गरे । नाबालिग बलात्कारको कसुरमा मुद्दा चलाइएका हिमाल शाहीलाई उनले ३ लाख धरौटीमा छाड्ने आदेश दिए । नाबालिग बलात्कारजस्तो गम्भीर कसुरमा सुरु अदालतले नै धरौटीमा छाड्ने उनको आदेश यतिबेला चर्चामा छ । किनकि उनकै इजलासमा यतिबेला क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘हेर्दाहेर्दै’मा छ ।

न्यायाधीश शिशिरराज ढकालले प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गर्दा वारदात अर्थात् घटना भएको भनिएको स्थान सार्वजनिक बाटो रहेको, सार्वजनिक बिदाको दिन विद्यालय गएर फर्कँदै गर्दा घटना भएको भनिएको र स्वास्थ्य परीक्षण गर्दा लेखाएको विवरणमा समेत एकरूपता नरहेकाले घटना विश्वसनीय नरहेको भन्दै ३ लाख धरौटी लिएर छाड्ने आदेश गरेका छन् । उनले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम नै हुने भएकाले हाल पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश दिएका थिए ।

तर न्यायाधीश ढकालको उक्त आदेशका सम्बन्धमा सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार भएको पुष्टि भएको, घटनाका लगत्तै जाहेरी दिएर अनुसन्धान भएको घटनामा पनि न्यायाधीशले बदनियत राखी आदेश दिएको लगायतको आरोप लगाइएको छ । 

के थियो घटना ?

२०८० साल मङ्सिर १० गते प्रहरी वृत्त महाराजगञ्जमा एउटा जाहेरी पर्‍यो । जाहेरीमा प्रधानमन्त्री निवासको ठिक पछाडिबाट विद्यालयतर्फ जाने गल्लीमा १४ वर्षीय किशोरीमाथि जबरजस्ती करणी भएको भएको उल्लेख थियो । चिनजानकै ४५ वर्षीय पुरुषले विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ।

परिवर्तित नाम महाराजगञ्ज ३४ को जाहेरीमा भनिएको छ,

‘प्रतिवादी हिमाल शाहीले म जाहेरवालाको नाबालक छोरी वर्ष १४ की परिवर्तित नाम महाराजगन्ज ३४ (क) (०८०।०८१) ... विद्यालयमा जाने आउने क्रममा प्रतिवादी हिमाल शाहीले यो बाटो कहाँ पुगिन्छ जस्ता कुराहरू सोधनी गर्ने गरेको र सोही क्रममा प्रतिवादीले बाटो ढुकी पीडित विद्यालयबाट सोही एकान्त गल्लीको बाटो हुँदै घरमा फर्किने क्रममा मिति २०८०।०६।२८ गते दिनको अन्दाजी १६ ः३० बजेको समयमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर ३ .... विद्यालयनजिक साँघुरो एकान्त गल्ली बाटोमा प्रतिवादी हिमाल शाहीले पीडित परिवर्तित नाम महाराजगन्ज ३४ (क) (०८०।०८१) लाई मुख थुनी बोल्न नदिइ बाटोमा लडाई पीडित छोरीले शरीरमा लगाएको कपडा उतारी दिइ .... जबरजस्ती करणी गरेको र त्यस पश्चात् उक्त कुरा कोही कसैलाई बताएमा खुकुरीले टुक्राटुक्रा घाँटी छिनाइदिने धाकधम्की दिँदै धम्काउँदै पटक–पटक ४–५ चोटी निज छोरीलाई जबरजस्ती करणी गरेको र रुपैयाँ पैसासमेत खोस्ने गरेकोमा हाल आइ छोरी धेरै नबोल्ने घरी–घरी काप्ने डराउने गर्न थालेपछि छोरीलाई के भयो भनी सोधनी गर्दा उल्लेखित घटनाक्रम र घटनाको बारेमा निज छोरीले बताएको हुँदा प्रतिवादी हिमाल शाहीले म जाहेरवालाको नाबालक छोरी परिवर्तित नाम महाराजगन्ज ३४ (क) (०८०।०८१) लाई विभिन्न किसिमको धाकधम्की दिइ जबरजस्ती करणी गरेको हुँदा प्रतिवादी हिमाल शाहीलाई कानुन बमोजिम हदैसम्मको कारबाही र सजाय गरी पाउँ ।’

सोही जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले अनुसन्धान सुरु गर्‍यो । जाहेरी लगत्तै प्रतिवादी हिमाल शाहीलाई पक्राउ गरी प्रहरी वृत्तमा ल्यायो । प्रहरीले पीडितको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया सुरु गर्दै अनुसन्धान अगाडि बढायो ।

अनुसन्धानकै क्रममा पीडित महाराजगन्ज ३४ ले आफ्ना लामो घटना विवरण कागज सुनाइन् । उनको घटना विवरण कागजमा आफूमाथि चारदेखि ५ पटक जबरजस्ती करणी भएको उल्लेख छ ।

आफूलाई बाटो छेकेर कुरेर विद्यालय जाने र आउने बाटोमै बलात्कार गरेको बताएकी छन् । प्रतिवादीलाई आफूले चिनेको, प्रतिवादी खाजा पसल चलाएर बस्ने व्यक्ति रहेको, आफूमाथि बलात्कार गरेपछि कसैलाई भनेमा हत्या गरिदिनेसम्मको धम्की दिएको, जबरजस्ती करणीपछि आफूसँग पैसा माग गरेको र पैसासमेत लगेको, पहिलोपटक असोज २८ गते घटस्थापनाको दिन विद्यालयबाट घर फर्कँदै गर्दा करणी भएको लगायतको विषय जाहेरीमा उल्लेख छ ।

यता प्रहरी र अदालतसमक्ष बयान गर्ने क्रममा भने प्रतिवादी हिमाल शाहीले इन्कारी बयान दिएका छन् ।

आफ्नो इन्कारी बयानमा शाहीले आफूले पीडित बालिका तथा जाहेरवालालाई चिनेको, पीडितकै फुपूबाट आफूले पसल किनेको र पछि पसलकै विषयमा विवाद भएकाले रिसिइबी रहेको, पीडितले घटना भयो भनेको दिन दसैँको घटस्थापना रहेको र उक्त दिन विद्यालय बन्द हुने हुँदा विद्यालयबाट फर्किए भन्ने कुरा नै झुटो रहेको, मानिसहरू आवतजावत गरिरहने बाटो भएकाले बाटोमै बलात्कार भयो भन्ने कुरा नै झुटो रहेकाले आफूमाथिको रिसिइबी साँध्न आफूमाथि झूटो आरोप लगाएको बयान दिए ।

घटनास्थल मुचुल्का, पीडितको बयान तथा प्रतिवादीको बयान, स्वास्थ्य परीक्षणका क्रममा भनेको कुराको सिलसिला नमिलेको अर्थात् एकरूपता नरहेको, सार्वजनिक बाटोमा बलात्कार भयो भन्ने लगायतको कुरा विश्वसनीय नरहेको भन्दै तत्काल थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै प्रतिवादीसँग ३ लाख रुपैयाँ धरौटी लिई तारेखमा राख्ने आदेश भयो । यद्यपि पछि मुद्दाको फैसलाका बखत तथ्य र प्रमाणका आधारमा निर्णय हुने भएकाले तत्काल प्राप्त प्रमाणपत्र थुनामा राख्नुपर्ने सम्मको अवस्था नरहेको आदेशमा उल्लेख छ ।

उक्त बलात्कार प्रकरणमा मुख्यतः पाँच विषय विचारणीय देखिएको छ ।

  • पहिलो, मानिसहरू हिँडडुल गरिरहने बाटोमा दिउँसै बलात्कार सम्भव छ कि छैन ?
  • दोस्रो, घटस्थापनाको दिन विद्यालय खुलेको हो कि होइन वा उक्त दिन विद्यालय खुलेको थियो कि थिएन ?
  • तेस्रो, खाजा पसल बन्द गरेर बलात्कार गर्न गए कि गएनन् र बलात्कारीले पैसा मागेर पैसा दिए बलात्कार नगर्ने भनेको हो कि होइन ?
  • चौथो, स्वास्थ्य परीक्षण प्रतिवेदन, त्यसमा उल्लेख भएको ब्यहोरा र घटना विवरण तथा जाहेरीमा भनेको कुरामा किन एकरूपता भएन ?
  • र, पाँचौँ, प्रतिवादीले उक्त दिन रमाइलो गरी बसेको कुरा प्रतिवादीले भनेको व्यक्तिले किन होइन भने ?

मुख्यतः यही पाँच विषयमा केन्द्रित रहेर न्यायाधीशले आफ्नो आदेश गरेका छन् ।

यी पाँच विषय मसिनोसँग केलाउँदा तथ्य यस्तो छ ।

१. बालुवाटारको बाटोमै बलात्कार कति सम्भव ?

पहिलो विषय भनेको बालुवाटार क्षेत्रको बाटोमै बलात्कार भयो भन्ने आरोप छ । बलात्कार भयो भनिएको स्थान प्रधानमन्त्री निवास बालुवाटारबाट उत्तरतर्फ जाने सानो गल्ली छ । प्रधानमन्त्री निवास बालुवाटारबाट उत्तरतर्फ जाँदा सानो पक्की गल्लीको बिचमा वारदात भएको दाबी गरिएको छ । उक्त स्थानको उत्तर पूर्वतर्फ ठुलो पर्खाल छ भने त्यहाँबाट वारदात स्थल देख्न सकिने अवस्था छैन । वारदात स्थल भनिएको स्थानबाट दक्षिणपश्चिममा एउटा घर छ । उक्त घरको तल्लो फ्ल्याट भाडामा छ भने माथिल्लो फ्ल्याटमा घरधनी आफैँ बस्छन् ।

सानो गल्लीको बाटो भएकाले उक्त स्थानमा गाडी गुड्न सक्दैन । तर केही मुस्किलले लैजाने हो भने त्यहाँबाट मोटरसाइकल गुड्न सक्छ भने मानिसहरू हिँडडुल गर्न र साइकल लैजान सकिन्छ । उक्त स्थान नजिकै एउटा ठुलो विद्यालय रहेकाले बिहान ९ देखि १० बजेसम्मको समय र दिउँसो ३ देखि ५ बजेसम्मको समयमा विद्यार्थीहरूको बाक्लै आवतजावत हुन्छ ।

त्यसबाहेक मानिसहरूको पनि हिँडडुल भइरहने स्थान हो त्यो गल्ली । तर जाहेरी र अभियोजनमा उक्त स्थानलाई नै वारदात स्थल भनी किटान गरिएको छ । वारदत स्थल भनिएको स्थानमा पुगेर हेर्दा उक्त स्थानमा मानिसहरूको आवतजावत भइरहेको देखिन्छ । ढिलोमा पनि प्रत्येक २–३ मिनेटमा उक्त बाटो हुँदै मानिसहरू हिँडिरहेको देखिन्छ । वारदातको समय अपराह्न ४ः३० बजे भनिएको छ, त्यतिबेला पनि मानिसहरूको आवतजावत भइरहने समय हो ।

हेर्नुहोस्, घटनास्थल भनिएको स्थान

baluwatar-rape-case

सीसी क्यामेराको विषयमा कुनै अनुसन्धान नै भएन

घटनास्थल भनिएको स्थानको आउने र जाने दुवैतर्फ सीसी क्यामेरासमेत जडान गरिएको छ । घटनास्थल नै भनिएको स्थानमा सीसी क्यामेराको कभरेज नभए पनि वारदात भएको भनिएको स्थानमा जाने र आउने स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । वारदात भयो भनिएको समयमा ती प्रतिवादी र पीडित उक्त स्थान वरपर देखिएको हो कि होइन भन्ने कुरा सीसी क्यामेराबाट समेत पत्ता लगाउन सकिने भए पनि अभियोजकले सीसी क्यामेराको विषयमा कुनै अनुसन्धान नै गरेको छैन ।

baluwatar-rape-case-2

२. असोज २८ गते विद्यालय खुलेको हो कि होइन ?

नाबालिग बलात्कार प्रकरणको जाहेरी र अभियोजनमा पटकपटक बलात्कार भएको र पहिलो घटना २०८० असोज २८ गते अपराह्न ४ ः३० बजे भएको दाबी गरिएको छ । स्मरणीय के छ भने उक्त दिन दसैँको घटस्थापनाको दिन हो र उक्त दिन पीडित पढ्ने विद्यालय बन्द रहेको थियो । उक्त विद्यालयमा घटस्थापनाको अघिल्लो दिन नै कार्यक्रम गरी त्यसपछि विद्यालयमा दसैँ बिदा गरिएको थियो ।

तर पीडित पक्षले जाहेरी दिने समयमा पहिलो घटना असोज २८ गते विद्यालयबाट घर फर्कँदै गर्दा भएको दाबी गरेका छन् । जाहेरी दिने समयमा असोज २८ गते भनी उल्लेख गरिएको भए पनि उक्त दिन घटस्थापनाको बिदा परेको कारण पछि वारदात भएको भनिएको मिति सच्याउन खोजिएको प्रतिवादीले अदालतमा गरेको बयानमा उल्लेख छ । तर सरकारी वकिल कार्यालयमा उक्त कुरा जाहेर गरेपछि वारदातको मिति सच्याउन नदिइएको प्रतिवादीको बयानमा उल्लेख छ ।

पीडित किशोरी पढ्ने बालुवाटारस्थित एक स्कुलका प्रिन्सिपलले असोज २८ गते विद्यालय बन्द रहेको बताएका छन् । ती प्रिन्सिपलले भने, ‘हामीले शुक्रबार (असोज २६) नै कार्यक्रम गरेर त्यसपछि विद्यालय बन्द गरेका हौँ । घटस्थापनाको दिन विद्यालय खुलेको थिएन । उक्त दिन विद्यालय बन्द नै थियो ।’

३. खाजा पसल बन्द गरेर बलात्कार गर्न गए कि गएनन् ?

घटना विवरण कागज र जाहेरीमा प्रतिवादी खाजा पसल सञ्चालन गर्ने व्यक्ति भएको र चिनजानकै व्यक्ति रहेको उल्लेख छ । पीडितमाथि बलात्कार गर्न जाने समयमा प्रतिवादीले आफ्नो खाजा पसल बन्द गरेर जाने गरेको र बाटो ढुकेर बलात्कार गरी फर्कने गरेको उल्लेख छ ।

त्यस्तै पीडित परिवारले दिएको जाहेरी र पीडितको घटना विवरण कागजमा अभियुक्तले आफूसँग पैसा मागेको र पैसा दिएमा बलात्कार नगर्ने भन्दै पैसा लगेको उल्लेख छ । पीडितको घटना विवरण कागजमा प्रतिवादीले आफ्नो पैसा समेत लुटेको उल्लेख छ ।

पीडितको घटना विवरण कागजको एक अंशमा यस्तो भनिएको छ,

‘... प्रतिवादीले मलाई सो मितिदेखि पटक–पटक म अध्ययन गर्ने विद्यालयको पछाडिको एकान्त स्थानमा लगी मलाई विभिन्न धाकधम्की दिँदै जबरजस्ती करणी गर्दा मलाई पीडा हुन्छ, सो कार्य नगर्नु भनी पटक–पटक आग्रह गर्दा प्रतिवादीले मलाई रकम माग समेत गरी माग गरे बमोजिमको रकम दिएमा सो कार्य गर्दिन भनेपछि मैले कति रुपैयाँ दिने हो भन्दा रु. २,००० दिनु भनी बताएपछि म सँग तपाईले माग गरे जति रकम छैन, मैले कराते खेल खेले बापत बुझाउनको लागि बुवाबाट रु १,५०० पैसा ल्याएकी छु, सोही रकम लिनु भनी मैले निज प्रतिवादीलाई दिँदा प्रतिवादीले रु. ५०० राखी रु १,००० रुपैयाँ मलाई नै फिर्ता दिँदै सो कुरा कोही कसैलाई भनेमा घाँटी काटी मारिदिन्छु भन्दै हातले मेरो घाँटीमा समातेपछि मैले सो कार्य कसैलाई भन्दिन भनेपछि मात्र प्रतिवादीले मलाई छोडेका थिए ।’

यसरी पीडित नाबालिगले आफूमाथि बलात्कार गर्ने व्यक्तिले आफूसँग रकम माग गरी रकम दिएमा बलात्कार नगर्ने भनेकाले आफूले रकमसमेत दिएको उल्लेख गरेकी छिन् ।

सामान्यतया नाबालिगमाथि बलात्कार भएको अवस्थामा बरु प्रतिवादीले रकम दिएर थामथुम पार्ने कोसिस भएका घटनाहरू भए पनि बलात्कार पीडितसँग नै रकम माग गरेको र रकम दिएमा बलात्कार नगर्ने भनी बताएको भन्ने कागज र दाबीमा समेत अदालतले आशंका देखाएको छ । अदालतले उक्त घटना विवरण कागज र दाबीलाई पनि विश्वसनीय मानेको छैन ।

४. घटना विवरण कागज र स्वास्थ्य परीक्षण प्रतिवेदनमा वारदातको मितिमा फेरबदल

जाहेरी दरखास्त र पीडितको घटना विवरण कागजमा अन्तिम पटक वारदात भएको मिति २०८० मङ्सिर ८ गते भनिएको छ । तर स्वास्थ्य परीक्षण गर्ने समयमा पीडितले वारदात भएको अन्तिम मिति २०८० मङ्सिर ९ गते रहेको उल्लेख गरेकी छन् । त्यस्तै अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्ने क्रममा पीडितले आफ्नो शारीरिक तथा मानसिक अवस्था ठिक रहेको बताएकामा स्वास्थ्य परीक्षण गर्ने समयमा भने उनी त्रस्त रहेको भनिएको छ । स्वास्थ्य परीक्षणमा Hymen tear 6 o'clock position भनिएको छ भने योनीभित्र झिल्लीजस्तै केही वस्तु रहेको उल्लेख गरिएको छ । त्यसबाहेक योनीको वरिपरि रातो अर्थात् Redness रहेको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र जाहेरीमा बलात्कारको अन्तिम मिति २०८० मङ्सिर ८ हो कि ९ गते भन्नेमा नै द्विविधा देखिएको छ ।

तर अन्य कुरा पुष्टि नभएमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनले यौन सम्पर्क वा बलात्कार भएको पुष्टि गर्ने एक चिकित्सकले बताए ।  

५. प्रतिवादीले वारदात भएको भनिएको पहिलो दिन साथीसँग थिएँ भनेर किन ढाँटे ?

प्रतिवादी हिमाल शाहीले घटना विवरण कागज गर्ने समयमा वारदात भएको भनिएको पहिलो दिन अर्थात् २०८० असोज २८ गते घटस्थापनाको दिन आफ्ना साथी विनोद कार्कीको कोठामा गएर रमाइलो गरेको उल्लेख गरेका छन् । आफू उक्त दिन साथीहरूसँग बसी रमाइलो गरेर बसेको कारण आफूमाथि लागेको अभियोग झुटो रहेको बताएका छन् ।

तर जुन साथीको कोठामा गएर खानपिन गरेको दाबी प्रतिवादी हिमाल शाहीले गरेका छन्, उनको दाबीलाई खण्डित हुने गरी उनका साथी भनिएका विनोद कार्कीले घटना विवरण कागज गरेका छन् । विनोद कार्कीले घटना विवरण कागज गर्दा वारदात भएको भनिएको दिन आफू काममा रहेको र आफ्नो कोठामा कुनै खानपान नभएको बताएका छन् ।

विनोद कार्कीले घटना विवरण कागजमा यस्तो लेखाएका छन् ।

‘मिति २०८०।६।२८ गते वारदातको समयमा म काम गर्ने जापनिज एम्बेसीनजिक रहेको एनएलजी ईन्स्योरेन्स प्रालिमा सुरक्षागार्डको काम गरी बसेको थिएँ । प्रतिवादी हिमाल शाहीले अधिकार प्राप्त अधिकारीसमक्ष बयान पोलमा खुलाइ दिए बमोजिम मिति २०८०।६।२८ गते दिनको अन्दाजी १६ः३० बजेको समयमा प्रतिवादी हिमाल शाही मेरो कोठामा आएको थिएनन् । के कसरी वारदातको समयमा मेरो कोठामा आइ म समेत भइ प्रतिवादीसँगै मेरो कोठामा बसी रमाइलो गरी बसेका थियौँ भनी खुलाइदिएका हुन् मलाई थाहा छैन । निजले खुलाइदिएको ब्यहोरा झुट्टा हो ।’

प्रतिवादी हिमाल शाहीले विनोद कार्कीको कोठामा रमाइलो गरी बसेका थियौँ भने पनि उक्त दिन विनोद कार्कीको कोठामा जमघट नभएको भन्ने कुरा स्वयं विनोद कार्कीले बयानमा खुलाइदिएका छन् । प्रतिवादीले उक्त कुरा किन ढाँटेका हुन्, त्यो विचारणीय विषय रहेको छ ।

मुख्यतः यही पाँच विषयमा केन्द्रित रहेर काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले पुस २ गते प्रतिवादी हिमाल शाहीसँग ३ लाख धरौटी लिइ थुनामुक्त गर्ने आदेश गरेका हुन् । अदालतको आदेशमा तत्काल थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्ने आदेश दिइएको थियो ।

अदालतको आदेशमा भनिएको छ,

‘प्रस्तुत मुद्दामा जाहेरवालाले घटना घटेको भनेको दिन घटस्थापनाको बिदाको दिन देखिएको, घटनास्थल भनिएको ठाउँ सार्वजनिक गल्ली बाटो देखिएको, घटना भएको भनिएको समय दिउसोको ४ ः३० बजेको भन्ने उल्लेख भएको तथा जाहेरी बेहोरा र पीडितले स्वास्थ्य परीक्षण गराउँदा लेखाएको विवरणमा एकरूपता नदेखिएको र प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बयान गर्दा करणी गरेको कुरामा इन्कार रही बयान गरेको अवस्था देखिन्छ । प्रतिवादीले बयान गर्दा इन्कार रही बयान गरे तापनि निज उपर किटानी जाहेरी परेको समेतका अवस्था देखिएको तथा अन्य प्रमाणबाट अहिले नै थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी हिमाल शाहीबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ तथा ७२ नं. बमोजिम रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) धरौटी वा जेथा जमानी वा बैंक ग्यारेन्टी दिए लिइ तारेखमा राख्नु, दिन नसके नियमानुसारको सिधा खान पाउने गरी पुर्पक्षको लागि थुनामा राख्न काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलमा पठाई दिनू ।’

हेर्नुहोस्, आदेश :

Aadesh SishirRaj Dhakal

फौजदारी न्यायमा ‘शंकाको सुविधा’ भन्ने दुई शब्दको वाक्य खुबै चर्चित छ । अभियोग दाबीको पुष्टि गर्नुपर्ने दायित्व वादीमा रहन्छ । तत्काल प्राप्त प्रमाणबाट कसुरदार हुन् भन्ने इजलासलाई नलागेमा पछि प्रमाण र ठहरे बमोजिम हुने गरी अदालतले प्रतिवादीलाई शंकाको सुविधा दिएर थुनामुक्त गर्न सक्ने कानुनी व्यवस्था छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले अभियुक्तलाई सोही सुविधा अर्थात् शंकाको सुविधा दिएर धरौटीमा छाड्ने आदेश दिएका थिए । यद्यपि उक्त आदेशमा विचार गर्नुपर्ने दुईवटा कुरा भने छुटेका छन् ।

पहिलो बलात्कार भएको हो कि होइन ? र, दोस्रो, प्रतिवादीले सँगै थिएँ भनेका व्यक्तिले हामी सँगै थिएनौँ भनेर किन भने ?

काठमाडौँ जिल्ला अदालतको आदेशमा यी दुई कुरा भने छुटेका छन् ।

न्यायाधीश ढकालले गरेको यही आदेशका सम्बन्धमा सामाजिक सञ्जालमा यतिबेला चर्चा र आलोचना भइरहेको छ । जिल्ला अदालतको आदेश बेरितको रहेको हुँदा प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सरकारी वकिल भने ७३ नम्बरको निवेदन लिएर उच्च अदालत पाटनमा जाने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप