सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किन मनाउँदैन काँग्रेसले स्थापना दिवस ?

मङ्गलबार, २७ चैत २०७४, १४ : ०८
मङ्गलबार, २७ चैत २०७४

काठमाडौं– प्रमुख दलहरुमध्ये सबैभन्दा जेठो दल नेपाली काँग्रेसले आफ्नो स्थापना दिवस औपचारिक रुपमा मनाउने गरेको छैन । काँग्रेस चैत्र २७ गते २००६ मा स्थापना भएको थियो । 
नेपाली राजनीतिको ‘मियो दल’ का रुपमा काँग्रेसले आफूलाई परिभाषित गरेपनि स्थापना दिवस हालसम्म नमनाएको नेताहरु बताउँछन् ।  

स्थापना दिवसका उपलक्ष्यमा काँग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालबाट स्थापना दिवसको शुभकामना दिने वाहेक अन्य कार्यक्रम आयोजना गरिएको छैन । काँग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशीले स्थापना दिवस मनाएको आफूलाई अहिलेसम्म थाहा नभएको बताए । 

‘स्थापना दिवस मनाउनुपर्ने हो तर मनाउने गरिएको छैन,’ उनले भने । अर्का नेता मीन विश्वकर्माले दुई काँग्रेस एक भएको एकता दिनको रुपमा लिइएको बताउँदै काँग्रेसको क्यालेण्डरमा उल्लेख नै नगरिएको वताए । स्थापना दिवस मनाउनका लागि पछिल्लो समयमा सोंच मात्रै बनेको बताए ।

काँग्रेस निकट वुद्धिजिवी तथा स्तम्भकार पुरञ्जन आचार्यले काँग्रेसमा व्यक्तिवादी प्रवृत्ति हावी भएकोले स्थापना दिवस नमनाएको धारणा राखे । ‘दिवंगत नेताहरुको स्मृति दिवस गरिन्छ तर पार्टीको स्थापना दिवस काँग्रेसले ख्याल गरेको छैन’, आचार्यले भने ।

 आचार्यले व्यक्तिवादी प्रवृत्तिका कारण दिवंगत नेताहरुको स्मृति मनाउन होडवाजी हुने गरेको तर पार्टीको स्थापना दिवस नसम्झेको बताए । तरुण दल, नेविसंघ लगायतका भातृ संगठनले आफ्नो स्थापना दिवस सम्झने गरेको तर मुल दलले स्थापना दिवसलाई वेवास्ता गरेकोमा दुखेसो गरे ।
पुननिर्माण प्राधिकरणका पुर्व कार्यकारी प्रमुख गोविन्द पोखरेलले काँग्रेसको सिद्धान्तको नक्कल गर्नेहरु बढिरहेको बताउदै भने, ‘आफ्नो सिद्धान्त जनतामाझ स्पष्ट रुपमा ल्याउन पनि स्थापना दिवसमा कार्यक्रम गर्नुपर्छ ।’
 राजनीति शास्त्रका प्राध्यापक देवराज चालिसेले कार्यकर्ता र नेताहरुले स्थापना दिवस जानकारी नराख्ने  वताउँदै सम्झना नगर्ने परम्परालाई काँग्रेसको  विडम्वना भएको बताए ।
स्थापना दिवसलाई विशेष दिवसका रुपमा मनाउनुपर्ने वताउँदै चालिसेले स्थापना दिवसको गरिमा र महत्व काँग्रेसले नबुझेको बताए । 

‘दल स्थापना भइसकेपछि नै फागुन ७ आएको हो । मेलमिलाप दिवस आएको हो । काँग्रेस नै नभएको भए ति दिवस नै आउने थिएनन् । जन्मेपछि नै अन्य कुरा हुने हुन्’, उनले भने, ‘स्थापना दिवसलाई ख्याल नगर्नु ,पार्टीको दोष होइन । पार्टी चलाउनेको दोष हो ।’ कार्यकर्तालाई उत्प्रेरित गर्न, सक्रिय बनाइराख्न र जागरुक बनाउन स्थापना दिवस मनाउनुपर्ने उनले बताए । 

काँग्रेसमा आस्था भन्दा शक्तिको पुजा गरिने प्रवृत्तिले महत्वपूर्ण दिवसलाई वेवास्ता गरिएको उनले बताए ।

तत्कालिन समयमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप