शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

डिकुरोको पुजारी

शनिबार, १४ पुस २०८०, १३ : ४५
शनिबार, १४ पुस २०८०

 

पूर्णप्रसादले संन्यास लिनुभयो भन्ने हल्लाले सम्पूर्ण भेक नै ढाक्यो । “जागिरबाट अवकाश लिएको त पाँच वर्ष भयो केबाट संन्यास लिनुभएछ ?” भर्खरै स्नातक उत्तीर्ण भएर आयोगको तयारी गर्दै गरेको नरेशले सोध्यो । 

“बुढाले त हरिद्वारमा गएर टुप्पी काटेछन् नि ।” भोलानाथ काकाले भन्नुभयो । 

“कहिले आउनुभएको रहेछ ?” नरेशले सोध्यो । 

“हल्ला आएको छ तर पूर्णप्रसाद दाइ आउनुभएको छैन ।” भोलानाथ काकाले भने । 

“सुन्दरले पनि थाहा पयो ?” नरेशले भन्यो । 

“गाउँ पाखा नै हल्ला भएपछि उसले पनि पायो नि थाहा । घरबाट सल्लाह गरेर नै तीर्थ जान्छु भनेर हिँडेका बुढा, गएका साथीहरूसँग ‘घरमा म नभएर केही बित्दो छैन, छ आठ महिना यतै बस्छु र यौटा पुस्तक लेख्छु’ भन्ने खबर पठाएछन् ।” काकाले भन्नुभयो । 

“खर्च के गरेर धानेछन् ?” नरेशले भन्यो । 

“एक पटक खातामा छोराले पैसा राखिदिएको रहेछ ‘चिन्ता नगर मैले साथी भेटेको छु ।’ भन्ने खवर पठाए रे ।” भोलानाथ काकाले भन्नु भयो ।

करिब दुई महिनापछि पूर्णप्रसाद गाउँमा फर्कनुभयो गेरुवस्त्र धारी भएर पुण्यानन्द गिरी भन्ने नयाँ नामका साथ । गाउँको पुछारमा बनाएको मन्दिरमा उहाँले नै एउटा कोठा बनाउनुभएको थियो आफ्नै खर्चले । “गाउँमा सन्त महन्त आएको बेला राख्नहुन्छ ।” भन्नु हुन्थ्यो । आएर त्यहीँ बस्नु भयो । कसैको आँखामा राखे पनि नबिझाउने, सबैलाई परेको बेलामा सहयोग र सल्लाह दिने, इमान्दार पूर्णप्रसादजीलाई सबै भेट्न गए । एउटा आदर्श परिवार बनाउन सफल हुनु भएको उहाँले परिवार त्याग्दा छोराबुहारीलाई असाध्यै पिर प¥यो । 

“आमाले टुहुरो बनाएको दुई वर्ष भएको छैन । बुबा हजुरले के गर्नु भएको यस्तो ?” बुहारीले घरबाट ल्याएको दूध रुँदै गिलासमा खन्याएर दिइन्  । 

“तिमीहरूको मायाले त मलाई गाउँमा ल्यायो,” पुण्यप्रसादले भन्नुभयो ।

ज्यादै मायाले गर्दा बुढा श्रीमती बितेपछि जोगी बने भन्ने गाउँमा हल्ला हुन थाल्यो । मायाप्रेम त अति थियो तर किन टुप्पी काटे थाहा भएन । अनुमान अनेक लगाउन थाले । नजिकबाट नदेखेका र नबुझेकाले  त छोराबुहारीमा पनि दोष देख्न थाले । हिजोसम्म आदर्श परिवार भन्नेको मनमा पनि शङ्खा उठ्न थाल्यो । सहयोग सबैलाई गर्दथे । गाउँले दाजुभाइहरूमा उनको सहयोग नपाएको कोही पनि थिएन । उहाँको भाइ पनि पर्ने र नजिकको साथी नन्दलालले मुखै फोरेर भने “दाइ किन यस्तो निर्णय गर्नुभयो ?” पुण्यप्रसादले लामो स्वास फेर्नुभयो, हल्का खिस्स हाँस्नु मात्र भयो । रहस्य अझ बढ्न गयो ।

उच्च शिक्षाका क्रममा विनोद, विमला, उर्मिला, डिल्लीप्रसाद, हरिचन्द्र, कृष्णमणि र उमानाथसँग धेरै नजिकको सम्बन्ध भएका थियोे पुण्यप्रसादको । उनीहरूको अध्ययनको परिधि अलि व्यापक थियो । अरू साथीहरूले उनीहरूको समूहलाई लोसे किरा भनेर नामकरण गरेका थिए, उनीहरूले थाहा नपाउने गरेर । लोकसेवाको तयारीमा लाग्नेहरूलाई यस्तै भनिन्थ्यो । माथिका साथीहरूमध्ये विनोद र विमला अझ नजिक थिए पुण्यप्रसादसँग । आफूलाई भन्दा विनोदलाई बढी महत्त्व दिए जस्तै लाग्थ्यो उहाँलाई  ।

करिब साठी वर्षअगाडि एसएलसी उत्तीण गरेपछि उच्च अध्ययन गर्नको लागि पुण्यप्रसादको अगाडि सर्त राखिएको थियो परिवारबाट, जुन सर्त सामान्य थियो त्यस समय नेपालको ग्रामीण क्षेत्रमा । पढ्न घर छोड्नेले एउटा श्रम शक्ति जोडेर जानुपर्थ्यो घरमा अर्थात् बिहे गर्नुपर्ने बाध्यता हुन्थ्यो पढ्छु भन्ने केटाहरूको । उहाँले पनि सर्त पूरा गरेर हिँड्नुभएको थियो काठमाडौँ । तर दुई तीन वर्षपछि घरमा आउनेजाने गर्दा आमाको घुर्कीपूर्ण कचकच सुरु हुन थालेको थियो । सम्झाउने पाराले उहाँ भन्नुहुन्थ्यो, हाम्रा हातपाखुरा बलिया हुँदै खेलाउन पाए हुर्काइदिन्थ्यौँ नातिनातिना । 

पढाइ सकिएको छैन, जागिरको टुङ्गो छैन भन्ने पुण्यप्रसादको जवाफ हुन्थ्यो । युगल भएर बालाजु, गोदावरी घुम्न कसलाई रहर हँुदैनथ्यो र त्यसैले उहाँ पनि मौका मिले कोठाको साझेदार मित्रलाई अर्को साथीको कोठामा पठाएर हप्ता दिन जति कान्तिपुर घुमाउनु हुन्थ्यो आफ्नो श्रीमतीलाई हिउँद लागेको बखत । केही न केही निहुँ पारेर गाउँ जान खोज्नु हुन्थ्यो । पाँच छ वर्षपछि त उहाँलाई पनि हल्का रहर लागेको थियो कि सन्तानको ।

“के छ मित्र आज भोलि निकै घर गइन्छ नि ।” डिल्लीप्रसादले जिस्क्याउने पाराले भनेका थिए । 

“कहाँ हुनु ।” उहाँले लजाएर भन्नु भएको थियो । 

“सुर सार छ कि कसो हो ?” डिल्लीले आँखा झिम्क्याउँदै सोधेका थिए । “छैन, छैन ।” उहाँले मुख रातो पार्दै भन्नुभएको थियो । 

“पुण्यप्रसादजी समयमा नै ख्याल गर्नुपर्छ है । एकचोटि शारीरिक परीक्षण गर्नुपर्ने हो कि ।” डिल्ली प्रसादले जिस्क्याउने ढङ्गले भनेको कुराले उहाँको मनमा भने खलबली मच्चाएको थियो ।

खरदारमा नाम निस्केपछि बुबा आमाको आशीर्वाद लिन गाउँ जानु भएको पुण्यप्रसाद आँगनमा टेक्नु मात्र भएको थियो । आमाले “आफ्नै छोरी जस्तै पालेका थियौँ के गर्ने उसलाई पचेन ।” भन्नु भएको थियो । “के भयो र आमा ?” उहाँले सोध्नु भएको थियो । “के हुनु हिँडी तिम्री महारानी ।” आमाको आक्रोश सकिएको थिएन । “कतै दलालले फसायो कि कहाँ गइछ्न् ?” माया बाँकी नै थियो पुण्यप्रसादजीको । “के हुनु पल्ला गाउँमा बिर्खेसँग गइ नि । चैत्रको खडेरीमा मकै गोडदै थिए रे अस्ति । बरु सात डाडा काटेर अन्तै मुन्टिएकी भए देख्नु त पर्ने थिएन ।” आमाको रिस मरेको थिएन । “आमा झगडा परेको थियो कि ?” पुण्यप्रसादजीले सोध्नु भएको थियो । “टाढा गएकी छैन, उसैसँग गएर सोध ?” छोराको प्रश्नले  आमालाई अझ रिस उठेको थियो ।

“ठिकै त गरेकी होली ।” पुण्यप्रसादको मुखबाट अनायास शब्द आएको थियो । आमाले बुझ्नुभएन । काठमाडौँ फर्केपछि अर्को नराम्रो घट्ना सुन्नुप¥यो पुण्यप्रसादले  । उनीहरू सबैको अति मिल्ने साथी विनोद सडक दुर्घटनामा परेर बितेछ । डिल्लीप्रसाद, उर्मिला, हरिचन्द्र, कृष्णमणि, उमानाथ, विमलालागायत सबैलाई पीडा दिएको थियो उक्त घटनाले । “के हुन आँट्यो मेरो जीवनमा । प्रियजनले छोड्न आँटे ।” पुण्यप्रसादको मनमा कुरा खेलेको थियो । रातभरि आँखा टाठै बसेका थिए । कतै निद्रा पसि पो हाल्छ कि चोर पसे झैँ भनेर । अरू साथीहरूको पनि उस्तै हालत भएको थियो होला । विस्तारै दिन बितेर जाँदै थियो ।

करिब १५ दिनपछि विमला पुण्यप्रसादको कोठामा आइन् । उनका आँखा अझ पनि पाकेका गोलभेँडा जस्तै भएका थिए । “पिर कसलाई परेको छैन र ? सधैँ सम्झेर मात्र हुन्छ । जीवन चक्रमा कति साथी भेटिन्छ्न् र छुट्टिन्छन् । हामीले आफ्नो मन बुझाउनुपर्दछ । विनोदको परिवारलाई कस्तो भयो होला ?” पुण्यप्रसादले सम्झाउने गरेर भन्नुभएको थियो । चिया बनाउँदै गरेको पुण्यप्रसादलाई एकोहोरो हेर्दै विमलाले सोधेकी थिइन्, “मलाई एउटा हेल्प गर है ?” उम्लिएको पानीमा चिनी राख्दा राख्दै अडिएर पुण्यप्रसादले प्रश्नवाचक आँखाले विमलालाई हेर्नुभएको थियो । “भोलि परिवार स्वास्थ्य क्लिनिक जाऊँ न । कसैलाई त लिएर जानुपर्ने रहेछ ।” विमलाले मन भारी बनाउँदै भनेकी थिइन् । विनोदसँगको  सम्बन्ध त्यतिसम्म पुगेको अनुमान लगाउनुभएको थिएन पुण्यप्रसादले ।

रातभरि पुण्यप्रसादलाई निद्रा लागेको थिएन । “के गरौँ ? भोलि भित्र पसेर मेरी श्रीमती हुन् भनेर सही गरौँ ? दोष त भित्रकाको पनि होइन, बाहिरकाको पनि हैन तर भित्रकोलाई मात्र सजाय किन ? अझ मृत्यु दण्डको सजाए ! म अझ साक्षी किनारमा बसेर सही गर्ने ?” उनको मनमा कुरा खेल्न थालेको थियो । “मिल्ने साथी हुन्, साथीलाई सहयोग गर्नै प¥यो तर विनोद पनि मिल्ने साथी थियो नि ।” उहाँलाई रातभरी उकुसमुकुस भएको थियो । मनमा विचारहरू आउने र जाने क्रममा आएको एउटा विचारले उहाँलाई हल्का बनायो ।

भोलिपल्ट बिहानै विमला आएकी थिइन् । “अब जे भयो भयो यो पाप काम नगरौँ ।” पुण्यप्रसादले भन्नुभएको थियो । पुण्यप्रसादबाट यस्तो जवाफ आउँछ भन्ने उनले सोचेकी थिइनन् । 

“तिमीले आफूलाई मेरो ठाउँमा उभ्याएर हेर त ?” विमलाको आँखाबाट आँसुको भल बग्न थालेको थियो । 

“यसको विकल्प पनि खोजौँ ।” पुण्यप्रसादले भन्नुभएको थियो । विमलाको स्वर चर्को भयो, “के विकल्प ? कस्तो विकल्प ? कसले गर्छ यस्तो अवस्थामा मसँग विवाह ? तिमी गर्छांै ?” विमलाको बोलीमा आक्रोश मिसिएको थियो । 

पुण्यप्रसादले लामो श्वास फेरेर भन्नुभएको थियो, “म विनोद र तिमीलाई कसैलाई अन्याय हुन दिन्न । तिम्रा बुबा आमाले मान्नुहुन्छ भने म तयार छु ।” एक पटक दुवैको आँखा हेराहेर भएको थियो । पुण्यप्रसादको चरण छुन मन लाग्यो विमलालाई  र झुक्न खोज्दै थिइन् पुण्यप्रसादले अँगाले मारे । प्रेमको सुरुवात यहीँबाट भएको थियो उनीहरूको । सरकारी जागिर भए जेजस्तो भए पनि दिने मनस्थितिमा पुग्नुभएको थियो विमलाका बुवाआमा पनि । सामाजिक सुधार ऐनमा भर्खरै लालमोहर लागेको बेला एउटा निहुँ बनेको थियो खर्च जोगाउने विमलाका बुबालाई । मन्दिरमा सामान्य विवाह भएको थियो । विवाह पछि नयाँ श्रीमती लिएर गाउँ जानु भएको थियो पुण्यप्रसाद । छोराले आफूलाई नसोधी विवाह गरेकोमा गुनासो थिएन बुबा आमालाई । आमा त खुसीले नाच्न थालेकी थिइन् आँगनमा । भित्र्याउने  सम्पूर्ण रीत पूरा गरिएको थियो । बेलुका खानाखाने समयमा आमालाई खसखस लागेछ, “कतै श्रीमती पोइला गएको झोकमा छोराले पनि त्यस्तै पो ग¥यो कि ?” आमाको मनमा कुरा खेल्न थालेको थियो । छोरासित सोध्नुभएको थियो, “बाबु बुहारी कसमा हुन् ?” पुण्यप्रसाद मुसुक्क हाँस्दै भन्नु भएको थियो । “आजको जमानामा पनि यस्तो कुरा गर्नुहुन्छ ? मुलुकी ऐनले समात्छ । तर हजुर ढुक्क हुनुहोस् कन्या केटी हुन् । हतारमा हजुरहरूलाई बोलाउन नपाएको हो तर पण्डित राखेर विवाह भएको हो । उनी भान्सामै हुन् ।” आमा ढुक्क हुनुभयो, “ल तँ पनि आइज भान्छा तयार भयो ।” भन्दै आमा जानु भएको थियो ।  

विवाहपछि पुण्यप्रसादप्रति विमलाको सम्मान बढेर गएको थियो । पुण्यप्रसादजीको नायव सुब्बामा नाम निस्कियो । “नयाँ बुहारी आएपछि छोराको जागिरमा मान पनि बढ्यो ।” पुण्यप्रसादको बुबाले भन्नुभएको थियो । “उसैले रोकेकी रहिछ नि हाम्रो छोराको प्रगति त ।” पोइला गएकी बुहारीसँगको रिस अझै मरेको थिएन आमाको । पुण्यप्रसादजीले गाउँबाट आमालाई ल्याउनुभयो । 

“आमा म जागिरमा व्यस्त हुनुपर्छ, बुहारीलाई हेर्नुपर्ने भयो ।” छोराको भनाइले आमाको खुसीको सीमा नाघेको थियो । बुहारीको हेरचाह गर्न आमाले गाउँमा बुढालाई एक्लै छाड्नु भएको थियो । नाति जन्मिएको खवर पाएपछि बुबा पनि सहर नै झर्नु भएको थियो । सीमित तलब भए पनि सहरको जीवनको दैनिकी सन्तुलित ढङ्गले चलेको थियो । विमलाले पनि बुबा आमालाई निकै राम्रो व्यवहार गरेकी थिइन् । गाउँको खेतीको चाँजो साथी नन्दलालले मिलाइदिएका थिए । 

सहरमा बसेर गाउँको चिसो पानी लाग्ने चामलको भात खान पुगेको थियो । विमलाको पनि शिक्षक सेवा आयोगतर्फ नाम निस्केपछि उनीहरूको जीवन सरल बन्दै गएको थियो । पारिवारिक वातावरण रमाइलो हुँदै गएको थियो । “सुन्दर हुर्केपछि हामी कति बस्नु, गाउँँ जान्छौ अब । हामी गाउँ गए तिमीहरू पनि आउला पछि । हैन भने गाउँ सधैँका लागि बिरानो हुन्छ ।” बुबाले भन्नुभएको थियो । 

बुबाआमा गएपछि केही असहज भए पनि बानी पर्दै गएको थियो । पुण्यप्रसादजीको पनि जागिरमा बढुवा हुँदै गयो । विभिन्न जिल्लामा सरुवा हुन थालेपछि कहिले होस्टल कहिले घरमा राखेर सुन्दरको पढाइ अगाडि बढाए । जागिरको सिलसिलामा दुई वर्ष कोरियामा श्रम सहचारी भएपछि उनीहरूको आर्थिक स्तरमा सहज भएको थियो । उनीहरूको सहयोगी मनलाई ढाडस पनि मिलेको थियो । सड्क सञ्जालले जोडेपछि गाउँको बसाइ पनि सरल हुने देखेर सहरमा सम्पत्ति जोड्ने रहर गरेनन् । त्यसैले उनीहरूलाई सधैँ खुसी राखेको थियो । आवश्यक परेको बेलामा सबैलाई सहयोग गर्दथे । अरूका खुसीमा आफू पनि रमाउनु हुन्थ्यो पुण्यप्रसाद । अरू के कुरा गर्ने, बिर्खेको छोरोले बीए पास गरेको खबर सुन्दा पनि खुसी देखिनुभएको थियो । छोडेकी श्रीमतीको माया पो हो कि ! विमला पनि पुण्यप्रसादलाई भगवानभन्दा बढी पूजा गर्दथिन् ।

विस्तारै समय आफ्नो गतिमा अगाडि बढिरहेको थियो । बुबा आमालाई पनि रोगले समाउन थाल्यो । उनीहरूले छोरा बुहारीको कर्तव्य पूरा गर्दै गएका थिए । उनीहरूले पनि अरूले जस्तै आभिभावक गुमाए एक दिन । पुण्यप्रसाद आफैँ घरको मुली बन्नुपरेको थियो अब ।

छोराको पढाइ पूरा भयो । जागिरे जीवन सुरु भयो । आफ्नो जागिरे जीवन सकियो । सुन्दरले रोजेको केटीसँग विवाह भयो । एकअर्काको सम्मान र सहयोगमा परिवार चलेको थियो । जीवन सरल रेखामा मात्र चल्दो रहेनछ । कहिले बक्र बन्दो रहेछ । अकस्मात विमला बिरामी भइन् । रोग र यसको स्तर पत्ता लाग्ने बेलासम्म समय धेरै घर्केछ । बिरामी भएको छ महिनामा पुण्यप्रसादलाई बज्रपात प¥यो ।

बाहिर हेर्दा सामन्य देखिए पनि भित्र कमजोर हुन थाल्नुभएको थियो पुण्यप्रसाद । छोरा बुहारीलाई भरोसा त दिनुहुन्थ्यो तर उहाँभित्र आँधीतुफान चल्दथ्यो । श्रीमती बितेको एक वर्षपछि उहाँ धेरै तीर्थ जान थाल्नुभएको थियो । साथमा गीताको पुस्तक छुट्दैन्थ्यो ।

ठट्टै ठट्टैमा डिल्लीप्रसादले भनेको कुरामा उहाँलाई छोएको थियो । साथीहरूले पत्ता नपाउने गरेर एक पटक आफ्नो शारीरिक परिक्षण गराउनु भएको थियो त्यतिबेला नै । परिणाम आएपछि निरास हुनुभएको उहाँलाई गाउँमा श्रीमती पोइला जाँदा पनि कुनै गुनासो रहेको थिएन । उहाँको मनमा ज्यादै कुरा खेल्न थाल्यो । मनमनै “सुन्दरलाई आफ्नो डिकुरोको पुजारी बनाउने अधिकार त मलाइछैन । भन्दै तल गाउँको पुछारमा मन्दिर बनाउँदा अतिरिक्त कोठा बनाउन आफ्नै खर्च गर्न अगाडि बढ्नुभएको थियो ।

पोखरा–७ मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप