शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पक्राउ परेका वडाध्यक्षलाई छुटाउन सिरहामा मेयरद्वारा चक्का जाम, स्थिति तनावपूर्ण

शनिबार, १४ पुस २०८०, १७ : ०४
शनिबार, १४ पुस २०८०
  • रामभरोस यादव

सिरहा । सिरहा कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र पोखरेलाई थुनामुक्त गर्नु पर्ने माग सहित सिरहाको बन्दीपुरमा चक्का जाम गरिएको छ । कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको हो । 

राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरू सयौँको सङ्ख्यामा लामबद्ध भएर रोकिएका छन् । हजारौँ यात्रुहरूले असुविधाको सामना गर्नु परेको छ । मेयर पोखरेलले नेतृत्व गरेको समूहले कर्जन्हा नगरपालिका–१ स्थित इलाका वन कार्यालय बन्दीपुर घेराउ गरी कार्यालय खाली गर्न र कर्मचारीहरूलाई बाहिर निस्किन दबाब दिइरहेका छन् । 

वन कार्यालयका कर्मचारी र त्यहाँ रहेको हतियार समेत असुरक्षित भएपछि वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहासँग सुरक्षा माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले वन कार्यालयको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले केही बेरमै सहमतिमा सडक नखुले बल प्रयोग गरेर भए पनि राजमार्ग सञ्चालनमा ल्याइने बताएका छन् । लिम्बुले तनाव बढाउन खोज्नेलाई नियन्त्रण गरिने बताए ।

यस सम्बन्धमा डिभिजनल वन कार्यालय लहानका प्रमुख सुजित कुमार झासँग सम्पर्क गर्दा उनले भने कानुन बमोजिम अनुसन्धान तथा तहकिकातका लागि थुनामा रहेका वडाध्यक्षलाई थुनामुक्त गर्न मेयरले उत्तेजना बढाउने गलत बाटो अख्तियार गरेको बताए । ‘दबाब दिएर गैर कानुनी रूपमा वन कार्यालयलाई निस्तेज पार्ने प्रयास भइरहेको छ,’ झाले भने, ‘बन्दीपुर स्थित इलाका वन कार्यालयमा तोडफोड गर्ने सरकारी कार्यालय खाली गराउने तथा कर्मचारीहरूलाई असुरक्षित बनाउने कार्य भइरहेको छ ।’

यता सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने, ‘डीएफओले अधिकार क्षेत्र नाघेर वडाध्यक्षलाई थुनेकोले स्थिति बिग्रेको हो । वनलाई वन क्षेत्रको मुद्दा हेर्ने अधिकार मात्र छ । निजी जग्गाको मुद्दा नगरपालिका आफैले हेर्छ । शान्ति सुरक्षाको व्यवस्था मिलाएका छौँ । वन कार्यालयले वडाध्यक्ष पोखरेललाई तुरुन्त रिहा गर्नुपर्छ ।’

यसबारे कर्जन्हा नगरपालिकाका मेयर पोखरेलसँग बुझ्न खोज्दा उनले डिभिजन वन कार्यालय लहानमा हिजो मेरो सरकारी गाडी कम्पाउन्डबाट बाहिर निकाल्न लगाइएको बताए । ‘मेयरको अपमान गरियो । हाम्रो वडाध्यक्षलाई गैर कानुनी थुनामा राखेको छ । त्यसकारण हाम्रो नगरपालिकाको जग्गामा हामी वनको कार्यालय राख्न दिन्नौँ,’ उनले भने, ‘हामीलाई वन कार्यालय लहानको कम्पाउन्डबाट निकालेकोले हामीले पनि आफ्नो पालिकामा बस्न नदिने भनेका छौँ ।’ 

सडक जाम गराउनु अराजकता भयो नि भन्ने प्रश्नमा मेयर पोखरेलले वडाध्यक्ष पोखरेल थुनामुक्त नभएसम्म राजमार्ग जाम रहने बताए । यसैबिच स्थानीय अभियन्ता भरत साहले भने अवैध उत्खननको आय खान पल्केका मेयरसहितका समूहहरूले वितण्डा मच्चाएर वन कार्यालयको अभियान असफल बनाउन खोजेको आरोप । चुरे तथा वन क्षेत्रको अवैध दोहन रोक्ने डिभिजन वन कार्यालय लहानको समर्थनमा जनताले छिट्टै सडक अवरुद्ध बनाउने उनले चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप