सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीका आन्तरिक विवाद मिलाउन उपेन्द्र यादवको दौडधुप

आइतबार, १५ पुस २०८०, १४ : ५१
आइतबार, १५ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केही जिल्लामा रहेको पार्टीको विवाद मिलाउन दौडधुप थालेका छन् । 

सप्तरी र पर्सामा पार्टीका असन्तुष्ट पक्षले समानान्तर कमिटी बनाए पछि अध्यक्ष यादवको दौडधुप बढेको हो । उनी सो विवाद मिलाउनका लागि कहिले सप्तरी त कहिले पर्सा पुगे पनि हालसम्म समाधान हुन सकेको छैन । 

पुस ७ गते अध्यक्ष यादव त्यहाँको विवाद मिलाउनका लागि सप्तरी पुगेका थिए । त्यो दिन उनले दुवै पक्षको कुरा सुनेका थिए । दुवै पक्ष आ–आफ्नै अडानमा रहे पछि उनी त्यसै काठमाडौँ फर्केका थिए । 

उनी आज फेरि त्यही विवाद समाधानका लागि सप्तरी जाँदै छन् । सप्तरीका एक नेताले भने, ‘अस्ति अध्यक्षजी आएर दुवै पक्षको कुरा सुनेर जानु भएको थियो आज फेरि आउँदै हुनुहुन्छ, आज–भोलीसम्ममा विवाद मिलाउनु हुन्छ कि हामीले विश्वास लिएका छौँ ।’

केदार यादव अध्यक्ष रहेको जिल्ला कमिटीको विरुद्धमा उमेश यादवको अध्यक्षतामा अर्को कमिटी गठन भएको थियो । त्यो समानान्तर कमिटी बनाउनमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको पनि सहयोग थियो । 

अध्यक्ष यादवले पुस ३ गते नेता शैलेन्द्र साहलाई जनकपुर बोलाएर सप्तरीको विवादबारे छलफल गरेका थिए । प्रेस मञ्चको प्रशिक्षण कार्यक्रम चलिरहेको बेला अध्यक्ष यादवले नेता साहसँग छलफल गरेर मात्र पुस ७ गते सप्तरी पुगेका थिए । 

धरानमा हिजोदेखि जारी लिम्बुवान राष्ट्रिय समितिको प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष यादव आजै सप्तरी पुग्दै छन् । आज साँझ दुवै पक्षलाई बोलाएर छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने बताइएको छ । 

सप्तरीमा केही नेताहरूले पार्टी एकलौटी ढंगबाट चलाएको, एक दुई जना नेताको मात्र हालीमुहाली रहेको, चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने विषयमा पूर्वाग्रही गरेको जस्ता आरोप लगाउँदै त्यहाँका नेताहरू असन्तुष्टि जनाएर समानान्तर कमिटी गठन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप