आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न अनिवार्य हो ?

राजाहरुले सुरू गरेको चलनलाई निरन्तरता दिएका मात्रै हुन् : भीमार्जुन आचार्य
आइतबार, १५ पुस २०८०, १६ : १७
आइतबार, १५ पुस २०८०

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति, प्रधानमन्त्री र बीपी कोइरालाको फोटो हटाएर किराँत राजा यलम्बरको फोटो राखे । उनले आफूले भनेअनुसार केन्द्रले सहयोग नगरेको भन्दै आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका सम्मानित नेता विश्वेश्वर प्रसाद कोइरालाको तस्बिर हटाएका हुन् ।

साम्पाङले उक्त फोटो हटाएको विषयमा व्यापक चर्चा भयो । तर, यसअघि नै राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख राम थापाले पनि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर पृथ्वीनारायण शाहको राखेका थिए । यद्यपि धरान उपमहानगरपालिका तथा दमक नगरपालिकाको अन्य कार्यकक्षमा भने राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिएको छ ।

स्वतन्त्रबाट निर्वाचित धरानका प्रमुख साम्पाङले फोटोमात्रै हटाएका छैनन्, धरानलाई महत्व नदिएको भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उता, उपप्रमुख अइन्द्र बेघाले भने फोटो हटाइएको विषयमा प्रमुख साम्पाङप्रति असन्तुष्टि जनाएका छन् ।

‘धरान उपमहानगरपालिकाका नगरप्रमुखज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटोहरु हटाएको विषयले दुःखी बनाएको छ । जसबाट सम्माननीयमाथि पर्न गएको असरप्रति दुःख व्यक्त गर्दै क्षमासमेत माग्दछु,’ बेघाले भनेका छन्, ‘नेपालको संविधान–२०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सीमा र घेराभित्र रहेर तीनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारी सम्मानित र मर्यादित बनाउन हामी सबैको दायित्व र जिम्मेवारी हो ।’

उनले नगर प्रमुख साम्पाङलाई जिम्मेवार भएर सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह पनि गरेका छन् । उपप्रमुख बेघाले फोटो हटाउने कार्य संविधानको मर्म र भावना विपरीत भएको दाबी गरेका छन् । तर, संविधान, कानुन र अन्य कुनै पनि निर्देशिका र कार्यविधिमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने व्यवस्था देखिँदैन ।

‘फोटो राख्नैपर्छ भन्ने कुनै व्यवस्था छैन,’ नेपाल सरकारका बाहलवाला एक सहसचिवले भने, ‘राखेको हटाएर अर्कै राख्ने वा नराख्ने भन्ने विषयमा पनि कहीँ कतै लेखिएको देखिँदैन ।’

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउनेलाई कारबाही गर्नुपर्ने कतिपयले बताइरहेका छन् । तर, कारबाही गर्ने कानुनी आधार पनि नभएको ती सहसचिव बताउँछन् ।

उता, संविधान र कानुनका ज्ञाता भीमार्जुन आचार्यले पनि फोटो राख्ने प्रचलन राजा, महाराजाहरुको पालामा चलाइएको बताए । ‘अहिले कार्यालयमा फोटो राख्न कुनै पनि आवश्यकता छैन । पहिले राजा, महाराजाहरूको पालामा राख्ने गरेको थियो । तानाशाही व्यवस्थामा राख्ने परिपाटी होला । तर प्रजातान्त्रिक व्यवस्थामा शासक र शासित भन्ने शब्दवाली नै राखिँदैन । सरकारी कार्यालयमा प्रधानमन्त्री होस् कि कार्यालय सहयोगी होस्, सबै समान नागरिक हुन् । फोटो राख्ने चलनले अहँकार र वर्ग देखाउँछ । त्यो राम्रो होइन,’ उनले भने ।

०६२÷०६३ सालको जनआन्दोलनपछि सबै कार्यालयमा राख्ने गरिएको तत्कालीन राजाको तस्बिर हटाइयो ।  त्यसपछि कसैको पनि फोटो राखिएन । पहिलो राष्ट्रपति रामवरण यादवको पालामा पनि धेरै फोटो राखिएको थिएन । पछि विद्या भण्डारी राष्ट्रपति बनेपछि भने फोटो सबै कार्यालयमा राख्न थालियो । यस्तै ०७४ सालमा बाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका केपी ओलीको पालादेखि भने सबै कार्यालयमा प्रधानमन्त्रीको पनि फोटो राख्न थालिएको आचार्यको अनुभव छ । ‘यसले नागरिक र शासक छुट्टै भन्ने देखाउँछ,’ उनले भने ।

तर, प्रत्येक कार्यालयमा छुट्टाछुट्टै व्यवस्थाका साथ छुट्टाछुट्टै व्यक्ति तथा पात्रहरुको फोटो राख्ने कुराले पनि बेथिति ल्याउने कतिपयको भनाइ छ । आचार्यले भने, ‘सम्पादाको हिसाबले सबैले स्वीकार्य हुने खालका फोटोहरु राख्दा हुन्छ ।’ राजतन्त्रकालमा भने राजा र रानीको तस्बिर सरकारी कार्यालयहरूमा अनिवार्य राख्न लगाइन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप