शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

भारतीय विदेश मन्त्री जयशंकरको भ्रमण जलविद्युत् र कनेक्टिभिटीमा केन्द्रित

मङ्गलबार, १७ पुस २०८०, १७ : ०१
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउन लागेका छन् । नेपाल भारतको संयुक्त आयोगको बैठकमा सहभागी हुन् आइरहेका उनको यो भ्रमण जलविद्युत् तथा कनेक्टिभिटीमा केन्द्रित रहने बताइएको छ । 

नेपालको तर्फबाट उनको भ्रमणका लागि लगभग तयारी पुरा भएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँ दुई देशबिच मन्त्रीस्तरीय हुने नियमित बैठकमा आउन लाग्नुभएको छ । त्यो बैठकमा प्रस्तुत हुने एजेन्डाबारे हाम्रो तयारी लगभग पुरा भएको छ ।’

आयोगको बैठकमा प्रस्तुत हुने एजेन्डाबारे परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिसकेका छन् । त्यसैगरी मन्त्री साउदले पूर्वपरराष्ट्र मन्त्री, भारतका लागि पूर्वराजदूत र पूर्वसचिवहरुसँग पनि छलफल गरिसकेका छन् । 

आजको छलफलमा पनि भारतीय विदेश मन्त्री जयशंकरको भ्रमणको क्रममा कस्ता–कस्ता विषयमा छलफल हुने बारेमा परराष्ट्र मन्त्री साउदले राय मागेका थिए । जलविद्युत् व्यापार, क्रस बोर्डर कनेक्टिभिटी, रोकिएका कामलाई सुचारु गर्ने लगायतका विषयमा सरोकारवालाहरूले सुझाव दिएका छन् ।  

प्रधानमन्त्री प्रचण्डले जेठ १७ गते गरेको भारत भ्रमणको क्रममा दुई देशबिच भएको सहमति कार्यान्वयनको बारेमा विशेष रूपमा छलफल हुन्छ । त्यसमा मुख्य जलविद्युत् आयोजनाहरू तथा हवाई उडानको विषयमा छलफल हुने बताइएको छ । त्यसमा १० वर्षमा १० हजार मेगावाट बिजुली खरिददेखि लिएर अन्य जल विद्युत् आयोजनाको बारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले विदेश मन्त्री जयशंकरको यो नियमित भ्रमण भएको र उनी नेपाल–भारतको बिचमा रहेको संयुक्त आयोगको बैठकमा सहभागी हुन आइरहेको बताए । सो बैठकमा नेपाल–भारतको बहुआयामिक सम्बन्ध, विकास परियोजना लगायतका विषयमा छलफल हुने बताउँदै विद्युत् व्यापारमा विशेष सम्झौता हुने सम्भावना रहेको उनको भनाई छ । 

भारतको सबभन्दा बढी चासोमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजना र पञ्चेश्वर जलविद्युत् आयोजनामा विशेष छलफल हुने स्रोतको दाबी छ । परराष्ट्र मन्त्रालयका ती स्रोतले भन्यो, ‘ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर त्यसको बारेमा गृहकार्य गरिरहेको छ, आयोगको बैठकमा पञ्चेश्वर लगायतको विषयमा छलफल हुन्छ ।’

‘१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने कुरामा हस्ताक्षर हुने लगभग निश्चित नै भइसकेको छ,’ ती अधिकारीले भने, ‘यो भ्रमणको सबभन्दा ठुलो उपलब्धि यसलाई नै मानिनेछ ।’

त्यस्तै, भैरहवाबाट सिधै भारत उडानको विषयमा पनि नेपालले छलफल गर्ने तयारी गरेको छ । काठमाडौँबाहेक अन्य एयरपोर्टबाट पनि भारतका लागि जहाज उडाउने विषयमा पहिलादेखि नै छलफल हुँदै आएको हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएको बेला यस विषयमा पनि छलफल भएको थियो ।

भैरहवाबाट भारतका लागि सिधा उडान गर्ने विषयमा भारत पनि सकारात्मक रहेको बुझिएको छ । ५७ वर्षअघि भारतको सहयोगमा निर्माण भएको सो विमानस्थल अहिले अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिणत भएको छ । सो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गरेको हो ।  

भारतीय सीमा नजिक रहेको कारण सो विमानस्थलप्रति भारतको पनि विशेष चासो रहेको छ । भैरहवा विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई सञ्चालनका लागि दिने भनी चर्चा चलिरहेको बेला भारतले पनि त्यसमा चासो देखाएको छ । 

त्यसका लागि नेपालले अनौपचारिक रूपमा प्रस्ताव पनि गरेको छ । तर भारतले हालसम्म यस विषयमा कुनै जानकारी गराएको छैन । स्रोतले भन्यो, ‘सायद यो विषयमा पनि छलफल हुनसक्छ ।’

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बारे भारतले तयार पारेको डीपीआरमा हालसम्म सहमति बनेको छैन । परियोजनाको डीपीआर भारतीय कम्पनी वाफकोषले २०७३ को माघमा तयार गरी नेपाललाई बुझाएको थियो । तर नेपालले अझै त्यसमा आफ्नो राय दिएको छैन । सात वर्षदेखि डीपीआरमै अल्झिरहेको छ । 

सन् १९५६ मा भारतको केन्द्रीय पानी आयोगले महाकाली नदीमा पञ्चेश्वर आयोजनाको पहिचान गरेको थियो । सन् १९७८ मा नेपाल–भारत दुवै पक्षका विशेषज्ञहरू राखेर संयुक्त समूह गठन गरेको थियो । नेपाल सरकार र भारत सरकारबिच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र आयोजना द्विराष्ट्रिय लगानीमा संयुक्त रूपमा सञ्चालन गर्ने आधार तयार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप