मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

ऋण तिर्न ऋणै निकालेर यूएई पुगेका युवा जब प्रहरी हिरासतमा पुगे

बिहीबार, १९ पुस २०८०, ०९ : ३४
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । हरि बस्नेत (परिवर्तित नाम) ले ऋण निकालेर काठमाडौँको मुलपानीमा घर बनाए । हेभी सवारी चालकको रूपमा काम गर्दै त्यहीँबाट जोहो गरेको पैसा र बैंकबाट २५ लाख रुपैयाँ ऋण निकालेर जसोतसो घर  ठड्याए । 

तर, घर बनाउँदा लागेको ऋण तिर्न र घर परिवारको जीविकोपार्जन गर्न उनको आम्दानीले नपुग्ने भयो । त्यसपछि ऋण पनि तिर्ने र घर परिवारलाई समेत राम्रोसँग राख्ने भन्दै बिदेसिने योजना बनाए । वर्षौँदेखि हातमा एउटा सीप थियो,– ड्राइभिङको । त्यसबाट विदेशमा राम्रो कमाइ गर्न सकिने कुरा उनले साथीभाइबाट सुनेका थिए । त्यसपछि उनी वैदेशिक रोजगारीमा पठाउने मेनपावरको खोजीमा लागे । 

मेनपावरको खोजी गर्दा गर्दै उनी सामाखुसीमा रहेको फिस्टेल ओभरसिजमा पुगे । फिस्टेलका सञ्चालक रेशमराज लामिछानेले यूएईमा हेभी ट्रक ड्राइभरको माग आएको र त्यहाँ जान राम्रो हुने सुझाए । साथै हेभी ट्रक ड्राइभर र लाइट ट्रक ड्राइभरका लागि ३१ जनाको माग भएको बताए । मासिक ३०००प्लस १००० गरी ४ हजार एईडी तलब (१ लाख ४६ हजार नेरू) पाउने भनियो । त्यसका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने भनियो । 

आम्दानी राम्रै हुने भनेपछि उनी ६ लाख रुपैयाँ तिर्न तयार भए । मेनपावरले पनि ४५ दिनभित्रमा यूएई पठाइदिने बतायो । सोही आधारमा उनले ३ लाख रुपैयाँ अग्रिम रूपमा दिए । ३ लाख रुपैयाँ भिसा आएर उड्ने बेला दिने भने । 

तर ६ महिना बितिसक्दा पनि उनी यूएई उड्न पाएनन् । त्यसपछि उनले वैदेशिक रोजगार विभागमा उजुरी दिए । विभागसँगको छलफलपछि १५ दिनमा उडाउने सहमति भयो । त्यसअनुसार उनी गत असोज ६ गते नेपालबाट यूएईका लागि उडे । 

नेपालबाट वैदेशिक रोजगारीमा जान उनले जति दुःख पाएका थिए,  त्योभन्दा बढी दुःख र पीडा यूएइको भूमि टेकेपछि पाए । एयरपोर्टबाट उनलाई कम्पनीको मान्छे भन्दै एक जना व्यक्ति लिन आए । दुई महिनासम्म एउटा कोठामा राखे । आज भोलि भन्दाभन्दै दुई महिनासम्म न भिसा थपिदियो, न त काम नै दियो । यता अढाई महिनासम्म भाडा समेत नतिरेपछि घरबेटीले कोठाबाट निकालिदियो । त्यसपछि उनी लगायतका साथीहरू यूएईस्थित नेपाली राजदूतावासमा पुगे । 

‘उता कम्पनीको मान्छेलाई काममा लगाइदेऊ भनिरह्यौँ । आज भोलि भन्दै झुलाइरह्यो । भिसाको म्याद पनि थपिदिएन । पछि त भाडा नतिरेपछि घरबेटीले नै निकालिदियो,’ रातोपाटीको सम्पर्कमा आएका बस्नेतले भने । 

त्यसपछि दूतावासले फिस्टेलका सञ्चालक लामिछानेलाई तत्काल समस्या समाधान गर्न भन्दै पत्र काट्यो । पत्र काटेपछि उनी यूएई नै पुगे । यूएई पुगेर पनि उनी दूतावासको सम्पर्कमा आएनन् । सम्पर्कमा नआएपछि दूतावासले नेपालस्थित वैदेशिक रोजगार विभागलाई पत्राचार गरेर कारबाही गर्न सिफारिस गर्‍यो । 

यता बस्नेतसहितका साथीहरू घर फर्काइदिन अनुरोध गर्दै आएका थिए । तर बस्नेतसहित तीन जनाको भिसाको म्याद सकिएको थियो । उनीहरू ‘ओभरस्टे’ मा परिसकेका थिए । त्यसपछि दूतावासले उनीहरूलाई युएईको अध्यागमनमा गएर कागजात बनाएर ल्याउन पठायो । 

‘दूतावासले पठाएपछि हामी तीन जना साथीहरू अध्यागमनतिर लाग्यौँ । अन्य साथीहरू एयरपोर्टतिर लागे । बेलुकासँगै जाने भन्ने कुरा भएको थियो । तर, अध्यागमनमा पुगेपछि हामी तीनै साथीहरूलाई हतकडी लगाएर हिरासतभित्र हुलिदियो,’ उनले भने । 

नेपालमा हुँदा प्रहरीको नजिकसमेत पर्न नपरेका बस्नेत यूएईमा पुगेर भने हतकडीसहित हिरासत पुगे । ‘नेपालमा कसैको केही नबिगारेर आफ्नो काम गरेर खाइरहेको थिएँ । तर, अर्काको देशमा भने ठुलै अपराध गरेझैँ गरी जीवनमा पहिलो पटक हातमा हतकडी लाग्यो,’ त्यो बेला उनलाई लाग्यो, ‘अर्काको देशमा आएर अपराधी बन्नुपर्‍यो ।’

बेलुकासँगै एयरपोर्टमा भेट्ने बाचा गरेका साथीहरू भने राति नै नेपाल आइपुगे । उनीहरूले भने अध्यागमनको हिरासतमा पुगे । 

अध्यागमन जानुअघि उनले घरमा आफ्नो श्रीमतीसँग सानो कागजात बनाएर आउने र अनि बेलुका विमान चढ्ने र राति नेपाल आइपुग्ने बताएका थिए । त्यही आधारमा उनकी छोरी र भाइ उनलाई लिन विमानस्थलमा पुगे । तर, उनीसँगैका अन्य साथीहरू आए । उनी भने आउन सकेनन् । ओभरस्टेका कारण प्रहरीले पक्राउ गरेर हिरासतमा राखेकोबारे जानकारीसमेत तिनै साथीहरूबाट घर परिवारले पाए । 

‘हिरासतमा रहँदा मनमा अनेकन् कुराहरू खेलाइरहन्थ्यो । यदि कुनै गल्ती गरेर जेल परेको भए चित्त बुझाउन सकिन्थ्यो । तर, कुनै गल्ती नै नगरेर जेल पर्दा त आत्मग्लानि भयो,’ बस्नेतले त्यो पीडादायी क्षण स्मरण गर्दै भने । 

उनी ९ दिन यूएई अध्यागमनको हिरासत बसे । त्यसपछि उनलाई आवश्यक कागजात गरेर नेपाल पठाइयो । र पुस ५ गते नेपाल आइपुगे । 

अध्यागमनको हिरासतमा बस्दा एउटै कोठामा १०० जना भन्दा बढी थिए । ती मध्ये तीन जना मात्रै नेपाली थिए । अरू विभिन्न देशका । सबै जना भिसाको म्यादभन्दा बढी समय युएईको बसेका (ओभरस्टे) कारण हिरासतमा राखिएको थियो । उनको भिसाको म्याद सकिएको २० दिनभन्दा बढी भइसकेको थियो ।

हिरासतमा राख्दा खानामा भने कुनै समस्या थिएन । तर, घरको ऋण तिर्न तथा छोराछोरीको सुखद भविष्यका लागि बिदेसिएको छोरा जेल बस्नु परेको भन्दै साह्रै पीडाबोध हुन्थ्यो । 

नेपाल आएपछिको तनाव 

जसोतसो आफ्नै खर्चमा टिकट काटेर ओभरस्टे जरिवाना तिरेर उनी नेपाल त आए । तर, अहिले एकातिर त्यो ऋण कसरी तिर्ने भन्ने तनाव छ भने अर्कोतिर मेनपावरलाई बुझाएको ६ लाख रुपैयाँ कसरी असुल्ने भन्ने अर्को टेन्सन छ । 

उनले वैदेशिक रोजगार विभागमा उजुरी दिएको एक महिना पुग्नै लागेको छ । दिनहुँ विभाग धाउँछन् । तर, मेनपावरको कोही पनि मानिसहरू उक्त पैसा तिर्न तयार हुँदैनन् । 

उनीहरूको समस्या समाधान गर्न भन्दै यूएई पुगेका सञ्चालक लामिछाने यतिबेला उतै छन् । उनी अहिलेसम्म न नेपाल आएका छन्, न त विभागको सम्पर्कमा । 

मेनपावर व्यवसायी लामिछाने सम्पर्कमा नआएपछि अध्यागमन विभागले कानुनी प्रक्रिया अगाडि बढाएको छ । विभागको उद्धार तथा राहत समन्वय शाखाका निर्देशक लोकनाथ भुसालले उनीहरूलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया अघि बढेको बताए । यूएई गएको केही महिनामै स्वदेश फर्किएको भन्दै उजुरी परेको र आवश्यक अनुसन्धान सकिएको बताए । 

‘मेलमिलापमार्फत उनीहरूको पैसा फिर्ताका लागि छलफलमा बोलाएका थियौँ । तर, मिल्ने जस्तो नदेखिएपछि कानुनी प्रक्रिया अघि बढाएर त्यही आधारमा क्षतिपूर्ति दिलाउने गरी काम भइरहेको छ,’ भुसालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप