आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गोलबजार नगरपालिकाले बुझायो किसानकाे विद्युत् महसुल

बिहीबार, १९ पुस २०८०, २० : ४४
बिहीबार, १९ पुस २०८०

सिरहा । सिरहाकाे गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब आठ लाख महसुल विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

आज एक समारोहकाबीच नगर प्रमुख श्यामकुमार श्रेष्ठले विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजारको चेक हस्तान्तरण गरे । भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

वडा नं १ लहान वितरण केन्द्रले हेर्ने भएकाले त्यसका लागि रु ५० हजार निकासा भएको कृषि शाखाका वीरेन्द्र यादवले जानकारी दिए । 

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगर प्रमुख श्रेष्ठले बताए । “नगरपालिकाले कार्यविधि पास गरिसकेको भए पनि लेखाका कर्मचारी नहुँदा धेरै काम नियमित रुपमा हुन सकिरहेको थिएन । कर्मचारीको अभावका कारण ढिलाइ भएको हो”, उनले भने । 

मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले पालिकाको सानो प्रयासबाट किसानले प्रत्यक्ष लाभ पाएका बताए । “यसवर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गरेका थिए । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानका लागि घाउमा मलहमपट्टी लगाएजस्तो भएको छ”, उनले भने । 

प्रमुख शर्माका अनुसार नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर जडान गरिएका छन् । नगर प्रमुख श्रेष्ठले आगामी दिनमा बाँकी किसानलाई पनि यस योजनामा समेट्ने योजना रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप