आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कहाँ छन् १२ हजार ९३९ अपराधी ?

२ वर्ष पाँच महिनामा पक्राउ परे ३ हजार ७६० अपराधी, बाँकी १२ हजार ९३९ जना खोज्दै प्रहरी
आइतबार, २२ पुस २०८०, ०७ : २७
आइतबार, २२ पुस २०८०

विराटनगर, । चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले ४, सङ्खुवासभाले ५, उदयपुरले ८३, खोटाङले १३, ओखलढुङ्गाले ३ र सोलुखुम्बुले १५ जना पक्राउ गरेको हो । 

चालु आर्थिक वर्षमा प्रदेशमा ६५६ जना फरार अपराधी पक्राउ गर्दा ४ सय ९ वर्ष ८ दिन कैद सजाय भुक्तान गराएको छ भने ७१ करोड ९३ लाख ७ हजार ५४१ रुपैयाँ जरिमाना असुल गरेको छ । तर, कोशी प्रदेशमा अझै १२ हजार ९३९ जना अपराधी भने फरार छन् । फरार हुने हरूमा सबैभन्दा बढी मोरङमा छन् । मोरङमा ३ हजार ८५७, सुनसरी ३ हजार ५१०, झापामा २ हजार ७३३, इलाम ३८८, पाँचथर १९६, ताप्लेजुङ ३३१, धनकुटा २१४, तेह्रथुम १४४, सङ्खुवासभा १४६, भोजपुर १६८, उदयपुर ७१३, खोटाङ २११, ओखलढुङ्गा १३१ र सोलुखुम्बुमा १८९ जना फरार प्रतिवादी रहेका छन् ।

उनीहरुले विभिन्न अपराध गरेर फरार रहेका र अदालतबाट दोषी प्रमाणित भएकाहरू हुन् । उनीहरूको खोजी कार्य तीव्र बनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान प्रदेशमा सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार अपराधी पक्राउ अभियान सुरु गरिएको हो,’ उनले भने । अभियानका माध्यमबाट अपराध गरेर जति दिन लुकीछिपी बसे पनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट्न सक्दैनन् भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ,’ डिआइजी बास्तोलाले भने ।

प्रदेशको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानुनप्रतिको आड भरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ,’ डिआइजी बास्तोलाले भने ।

यस्तै दुई वर्ष ५ महिनामा कोशी प्रदेशको १४ जिल्लाबाट प्रहरीले ३ हजार ७ सय ६० जना फरार प्रतिवादी पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७-०७८ मा १ हजार ७३८ जना पक्राउ परेका छन् । यसै गरी आर्थिक वर्ष २०७८-०७९ मा १ हजार ४ सय ६६ जना पक्राउ परेका छन् भने चालू आर्थिक वर्ष २०८०-०८१ को मङ्सिर सम्म ६५६ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।

बुढेसकालमा सजाय भोग्दै

मोरङ मिक्लाजुङका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरे । मिक्लाजुङ गाउँपालिका–१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवीप्रसाद राईले कर्तव्य ज्यान मुद्दामा जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि आएर बुढेसकालमा कैद भुक्तान गरे ।

प्रहरीको अनुसार उनीहरूले २०६४ जेठ २० गते राति मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं. १ बस्ने जाहेरवाला सुकजित राईको दाजु वर्ष ३५ का सन्तोष राईलाई प्रतिवादीहरू धनकुमार राई समेतले कुटपिट गरी हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरुले जङ्गलमा लगी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धान पछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई  पाँच वर्ष कैद सजाय ठहर गरेको थियो । उनीहरुले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसादको  ५४ वर्ष उमेर रहेको थियो ।

उनीहरुले अपराध गरेको १६ वर्षपछि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि मोरङ अदालत बुझाएर कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ । 

यसअघि पनि प्रहरीले खुन डाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका ७ का  ८७ वर्षीय विश्वास चौधरी थारु ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ परेको थियो । ०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए ।

२०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेको थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् । उल्लेखित घटनाले ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउँछन् भन्ने देखाएको प्रहरी अधिकारीहरू दाबी गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप