शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यौन सम्पर्कका कारण महिलाको पाठेघरको क्यान्सर पुरुषमा सर्छ ?

सोमबार, २३ पुस २०८०

काठमाडौँ । नेपालमा पाठेघरको क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दो देखिन्छ । क्यान्सर रोग विशेषज्ञ डाक्टरहरूले धेरै फोरममा यसको बारेमा आवाज उठाइरहे पनि यो समस्या बढ्दो ग्राफमै देखिन्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. विनोद अर्यालका अनुसार हाल नेपाल पाठेघरको क्यान्सरमा एक नम्बरमा छ ।

क्यान्सरको व्यापकता र मृत्यु दर एकदम धेरै रहेको डा अर्यालको भनाइ छ । विश्वकै तथ्याङ्क हेर्दा पनि नेपाल यो केसमा धेरै अगाडि रहेको उनी बताउँछन् ।

उनका अनुसार पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’ नामक एउटा कीटाणुले गर्दा हुन्छ । यो कीटाणु शरीरमा बसिरहेको पनि हुन सक्छ । कुनै कारणवश यदि यो कीटाणु पाठेघरको मुखभित्र छिरेर सङ्क्रमण गरेको खण्डमा शरीरमा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिको शरीरमा क्यान्सर निम्त्याउन सक्ने डा. अर्याल बताउँछन् ।

डा. अर्यालका अनुसार यदि शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त छ भने ऊसँग रोगसँग लड्ने क्षमता प्रशस्त हुन्छ । त्यस्तो अवस्थामा शरीरले आफैँ सङ्क्रमण क्लियर गर्दै जाने उनले बताए । तर लामो समयसम्म शरीरमा त्यो भाइरस बसिराख्यो भने क्यान्सरभन्दा अघिल्लो चरणमा पुर्‍याउने र बिस्तारै क्यान्सर नै हुने उनको भनाइ छ ।

तर पाठेघरको मुखको क्यान्सरका बारेमा बेलैमै सचेत रहने हो भने उपचार पनि सम्भव रहेको डा. अर्याल बताउँछन् । उनी भन्छन्, ‘पाठेघरको मुखको क्यान्सर नै एउटा त्यस्तो क्यान्सर हो जुन हुनु भन्दा ८–१० वर्ष अगाडि नै सम्भावना छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ र यो एकमात्र त्यस्तो क्यान्सर हो, जसलाई भ्याक्सिनबाट रोकथाम गर्न पनि सकिन्छ ।’

पाठेघरको मुखको क्यान्सरको बारेमा धेरै सचेतना जगाउन जरुरी रहेको डा. अर्यालले प्रस्ट पारे । ९ देखि १४ वर्षका बालिकामा भ्याक्सिन लगाउने, ‘सेक्सिुअल्ली एक्टिभ’ महिलाले कम्तीमा ३ वर्षको अन्तरालमा पाठेघरको मुखबाट आउने पानीको नियमित जाँच गराउनुपर्ने उनी बताउँछन् । यसबाट क्यान्सर हुनुभन्दा अगाडि नै पत्ता लगाउन सकिने उनले बताए ।

पाठेघरको मुखमा क्यान्सर भएका महिलासँग यौन सम्पर्क गर्दा पुरुषमा सर्ने सम्भावना कति छ भन्ने प्रश्नमा डा. अर्याल भन्छन्, ‘पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस यौन सम्पर्कबाट पुरुषमा पनि सर्न सक्छ । र त्यही भाइरसले पुरुषमा पनि निश्चित क्यान्सर गराउन मद्दत गर्ने हुन्छ ।’

महिलाको पाठेघरको क्यान्सरबाट हुने अप्रत्यक्ष असरहरू जस्तै व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध, आर्थिक बोझजस्ता कुराले पनि पुरुषमाथि प्रत्यक्ष/अप्रत्यक्ष असर पारिरहेकै हुने उनले बताए ।

डा. अर्यालका अनुसार पाठेघरको मुखको क्यान्सर मात्र नभएर महिलाहरूले स्तनको क्यान्सरका बारेमा पनि सचेत हुन जरुरी छ । त्यसका लागि नियमित चेकजाँच गर्न उनी सुझाव दिन्छन् । समयमै त्यसका लक्षण वा समस्या पहिचान भएमा ठुलो रोग लाग्नबाट बच्न सकिने उनले बताए ।

४० वर्ष नाघिसकेपछि स्तनको विशेष जाँच ‘म्यामोग्राफी’ गराउँदा धेरै कुराहरूबाट बच्न सकिने डा. अर्याल बताउँछन् । उनका अनुसार गर्भवती हुन चाहने र गर्भवती भएका महिलाले डाक्टरको परामर्श लिइरहनु उत्तम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया