मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले गरे जसपा सप्तरीको विवाद समाधान

आइतबार, २९ पुस २०८०, १६ : ४०
आइतबार, २९ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा देखिएको पार्टीको आन्तरिक विवाद समाधान गरेका छन् ।

पार्टीको आन्तरिक विवादका कारण सप्तरीमा केदार यादव र उमेश यादवको नेतृत्वमा छुट्टाछुट्टै कार्यसमिति बनेको थियो । उमेश यादवको नेतृत्वमा बनेको कमिटीलाई कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहले साथ दिएका थिए ।

विवाद बढ्दै अन्य जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने तयारी चलिरहेको थियो । त्यो विवाद समाधानका लागि पार्टीले पटकपटक प्रयास गरेको थियो । मधेस प्रदेशका जसपा अध्यक्ष रामबाबु यादवको नेतृत्वमा एउटा कार्यदल नै बनेको थियो ।

कार्यदल पटकपटक सप्तरी गएर त्यसलाई समाधान गर्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव आफैँ सक्रिय भएर समस्या समाधान गरेका हुन् ।

अध्यक्ष यादव सप्तरीको विवाद समाधानका लागि पटकपटक सप्तरी पुगेका थिए । दुवै पक्षलाई राखेर पटकपटक छलफल गरेका उनले अन्ततः त्यहाँको विवाद सुल्झाउँदै केदार यादवको नेतृत्वमा रहेको जिल्ला समन्वय समितिलाई कायम गरेका छन् ।

जसपाका जिल्ला नेता दयानन्द गोइतले भने, ‘पार्टीको आन्तरिक विवाद थियो, अध्यक्षज्यू आफैँ आएर त्यसलाई मिलाउनु भयो, एउटा परिवारमा बसेपछि सामान्य ठाकठुक पर्छ, फेरि मिल्छ । सप्तरीमा पनि त्यस्तै भयो । सबै विवाद मिल्यो, केन्द्रले दिएको निर्देशन अनुसार जिल्ला समिति सञ्चालित भइरहेको छ ।’

सप्तरीको केही पालिका तथा वडामा विवाद देखिएका छन् । त्यसको समाधानका लागि दुवै पक्षका पार्टी सदस्य राखेर एउटा कार्यदल बनाइएको छ । सो कार्यदलमा केदार यादवको तर्फबाट हरेराम यादव, शम्भु यादव र राजेश्वर राय छन् भने उमेश यादवको तर्फबाट दयानन्द गोइत र धिरज मुक्ति छन् ।

जिल्ला पार्टीमा देखिएको विवाद समाधानका लागि यसले कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप