शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ : झलनाथ खनाल

मङ्गलबार, ०२ माघ २०८०, १४ : २८
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन् । गठबन्धनको संस्कृति बमोजिम कंग्रेस र माओवादी अगाडि नबढेको उनले आरोप लगाए ।

‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, असन्तुष्टि पोख्दै खनालले भने ।

आफूहरूको मतले कांग्रेस र माओवादी मोटाएको भन्दै ठूला पार्टीका गलत नीतिका कारण राष्ट्रिय सभामा उचित सिट नपाएको आरोप लगाए ।

‘हाम्रो मतले कांग्रेस र माओवादी मोटाए आफ्नो स्टे«न्थ देखाएर खै तिनिहरूको स्ट्रेन्थ भनेर हामीलाई सिट नदिने गलत नीति लिए । हाम्रो पार्टीमाथि प्रभुत्व जमाउने, अरुको टाउकामाथि टेकेर आफूलाई अग्लो बनाउने यो गलत नीति हो’, कांग्रेस–माओवादीको नीतिप्रति असहमति राख्दै उनले भने, ‘यस्ता नीतिहरूको पक्षमा हामी छैन । सरकारको बारेमा हामी गम्भीर समीक्षा गर्छौँ । सरकारमा सहभागी भएर हामीले केही पनि प्राप्त गरेजस्तो लाग्दैन । सरकारको नीति, कार्यक्रम र बजेटमा सबै एकलौटीकरण छ ।’

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको काम, विधान मस्यौदा लगायत विषयमा छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप