सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा एकै दिन ३ करोड सम्पत्ति कर सङ्कलन

जगदम्बा स्टिलले मात्रै बुझायो १ करोड सम्पत्ति कर
बुधबार, ०३ माघ २०८०, ०९ : २६
बुधबार, ०३ माघ २०८०

बारा । जीतपुर सिमरा उपमहानगरले एकै दिनमा ३ करोड सम्पत्ति कर असुली गरेको छ । उपमहानगरले पौष मसान्तको दिन ३ करोड ९ हजार सम्पत्ति कर असुली गरेको हो । जसमा जगदम्बा स्टिलले मात्रै १ करोड ८२ लाख ७२ हजार सम्पत्ति कर बुझाएको छ । जगदम्बा स्टिलले पहिलो पटक सम्पत्ति कर बुझाएको हो ।

उपमहानगरले आफू मातहतमा पर्ने औद्योगिक कोरिडोरका उद्योगहरूलाई पौष मसान्तसम्म सम्पत्ति कर बुझाए जरिवाना छुटसहितको योजना अघि सारेपछि राजस्व सङ्कलन बढेको हो । 

तत्कालीन नगरप्रमुख स्व. कृष्ण पौडेलको पालामा सुरु भएको सम्पत्ति करलाई हालका नगरप्रमुख राजन पौडेलले कडाइका साथ लागु गरेपछि उद्योगहरू करको दायरामा आएका हुन् । नगरप्रमुख पौडेलले भवन नक्सा पास र सम्पत्ति कर नबुझाउने उद्योगहरूलाई स्थानीय तहबाट दिइने कुनै पनि सिफारिस नदिन निर्देशन दिएका छन् । 

‘उद्योगहरूलाई करको दायरामा ल्याउन पटक उद्योगी, व्यवसायीसँगको  छलफल भएपछि उहाँहरू सम्पत्ति कर तिर्न तयार हुनुभएको हो, यसले हाम्रो आन्तरिक आयस्रोत २५ करोड नाघ्ने देखेको मैले छु’ नगरप्रमुख पौडेलले भने । 

जगदम्बा स्टिलसँगै अन्य उद्योगहरू पनि कर तिर्ने प्रक्रियामा आएको उपमहानगरले जनाएको छ । शालिमार ग्रुप, अशोक वैद्यको समूहले सम्पत्ति करको बुझाउन लिखित निवेदन दिएका छन् । 

उपमहानगरले चालु आवको ५ महिनामा १० करोड ७८ लाख ५६ हजार ६१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जसमध्ये ४ करोड भन्दा बढी सम्पत्ति कर  मात्रै सङ्कलन भएको छ । 

त्यसै गरी मसान्तसम्मको तथ्याङ्कमा उपमहानगरमा करिब ६८ लाख भूमि तथा मालपोत कर सङ्कलन भएको छ भने नक्सा पास दस्तुर २६ लाख भन्दा बढी सङ्कलन गरेको छ ।
यता नगरको स्वामित्वमा रहेको व्यवसायीक सटरमा उठ्न बाँकी रहेको बहाल करमा समेत उल्लेख्य वृद्धि भएको छ । मसान्तसम्म जग्गा तथा घर बहाल करमा ४२ लाख ७० हजार राजश्व सङ्कलन भएको छ । उपमहानगरमा नदीजन्य वस्तु बिक्रीको कर भने उठ्न बाँकी छ ।

चालु आर्थिक वर्षमा करिब १५ करोडको आन्तरिक आयको लक्ष्य राखेको उपमहानगरले चालु आवको अन्तसम्म २५ करोड राजस्व उठाउने नगरप्रमुख पौडेलले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप