मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘एमाले, माओवादी, एकीकृत समाजवादीलगायत मिलेर सरकार बनाऔँ’

त्यस्तो भयो भने विद्रोह हुन्छ : झलनाथ खनाल
बिहीबार, ०४ माघ २०८०

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पछिल्लो समय सरकारप्रति असन्तुष्ट देखिएका छन् । उनले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा पोखिरहेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल गठबन्धनले क्रान्तिकारी कार्यदिशा लिन नसकेकोमा तथा गठबन्धनमा आफ्नो पार्टीमाथि गरिएको व्यवहारप्रति पनि उत्तिकै असन्तुष्ट छन् । अहिलेकै अवस्था रहे आफ्नो पार्टी सरकारबाट बाहिरिनुपर्ने मत उनको छ । बरु वामपन्थी दलहरु मिलेर सरकार गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।

यता पार्टीको नीति र कार्यदिशाप्रति पनि खनालको फरक मत छ । पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गर्ने उनले सङ्केत गरेका छन् । यसै सन्दर्भमा रातोपाटीका लागि रोहित दाहालले नेता खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

jhalanath khanal (2)

केही समयदेखि यो सरकारबाट पार्टी बाहिरिनुपर्छ भनेर तपाईंको भनाई सार्वजनिक रूपमा आइरहेको छ । त्यो सही नै हो कि बङ्ग्याएर आएको हो ? 

सही हो भनौँ, पार्टीले यसमा निर्णय गरेको छैन । होइन भनौँ, यो सरकारमा बस्नै नसकिने उकुसमुकुस छ । अहिले देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट छन् । राष्ट्रियतामाथिको सङ्कट पनि त्यतिकै छ । देश असहज ढङ्गले अगाडि बढेको छ । 

तपाईँ र प्रधानमन्त्री प्रचण्डको सम्बन्ध पहिलेदेखि नै गाढा देखिन्थ्यो । त्यसैले तपाईंको असन्तुष्टि उहाँसँग होइन होला । के तपाईंले पार्टीसँगको असन्तुष्टि प्रकट गर्नुभएको हो ? 

संविधानसभाको चुनावमा नेकपा माओवादी पहिलो र हामी तेस्रो थियौँ। त्यसबेला कांग्रेस प्रधानमन्त्री बन्ने कि माओवादी प्रधानमन्त्री बन्ने भन्ने प्रश्न आयो । त्यो बेला मैले वामपन्थीको हिसाबमा र पहिलो पार्टीको हिसाबमा माओवादीको प्रधानमन्त्री बन्नुपर्छ भनेको थिएँ । प्रगतिशील संविधान बनाउने उद्देश्यले प्रचण्डलाई प्रधानमन्त्री बनाऊँ भने । 

पछि एउटा खास अवसर आउँदा प्रचण्डले मलाई साथ दिनुभएको हो । तर त्यति मात्रले हाम्रो सम्बन्ध राम्रो थियो भनेर हुँदैन । सरकारले गर्ने  राम्रा कामलाई हामीले समर्थन गर्ने हो । नराम्रा र गलत कामलाई समर्थन गर्न सकिँदैन । 

सरकारप्रतिको तपाईंको असन्तुष्टि चाहिँ केमा हो ? 

–दोस्रो जनआन्दोलन र नयाँ संविधान जारी भएपछि मुलुकलाई जुन दिशामा अगाडि लानुपर्ने थियो, त्यो हुन सकेन । भूमिसुधार क्रान्ति गर्नुपर्ने थियो, कृषि क्रान्ति गर्नुपर्ने थियो, औद्योगिक क्रान्तिको बाटोमा लानुपर्ने थियो, त्यो भएन । देशमा रोजगारी सिर्जना गर्ने काम भएन, शिक्षामा सुधार र प्रगति भएन । तिनको अवस्था  झन् झन् तल खसिरहेको छ । स्वास्थ्य क्षेत्रमा समस्या उस्तै छ । म जस्तो प्रधानमन्त्री भइसकेको मान्छेले त विदेशमा गएर त्यसको उपचार गर्नुपर्ने अवस्था छ भने अरू के होला ? 

देशमा यस्तो अवस्थामा यो सरकार बन्यो । त्योभन्दा अगाडि देउवा र केपी जीको सरकार बन्यो । केपीको सरकारले गर्न सकेन भनेर त्यसलाई ढालेर गठबन्धनको सरकार बनाइयो । तर त्यो सरकारले अघिल्लो सरकारले जति पनि काम गरेन। 

ती सबै सरकारको दोष प्रचण्डलाई दिन मिल्छ त ? तपाईँ पनि त प्रधानमन्त्री बनिसक्नुभएको थियो नि ? 

त्यो अघिल्ला समय एकदमै सङ्क्रमणकालका हुन् । फेरि कुनै पनि सरकारमा स्थायित्व रहेन । त्यतिबेला संविधान बनाउने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेमा ध्यान केन्द्रित गर्‍यौँ । संविधान बनेपछि आम जनतामा शान्ति समृद्धि र आशाका सपना पलाए । तर त्यो सपना र मागलाई सम्बोधन हुने गरी कुनै पनि सरकार चलेनन् । 

प्रचण्डले आफ्नो सरकार एक वर्ष पुरा गरेका अवसरमा मिठो शैलीमा भाषण गर्नुभयो । त्यो जसले लेखे पनि राम्रो शैलीमा थियो । तर मिठो शैलीमा बोलेर मात्र त हुँदैनन् नि । 

प्रधानमन्त्रीको त्यो भाषणमा यो–यो गरेँ भन्ने थुप्रो फेहरिस्त त छ नि ! 

त्यसले के तात्त्विक परिवर्तन ल्यायो त ? फेहरिस्त त एउटा प्रधानमन्त्रीले बिहानदेखि बेलुकासम्म काम गरिरहेको हुन्छ । हरेक दिनको कामलाई यो गरेँ भनेर एजेन्डा बनाउन मिल्छ । 

सुशासनको मामिलामा राम्रो काम गरेँ, ठुला नेतालाई भ्रष्टाचारको काण्डमा जेल पठाएँ भन्ने उहाँको दाबी छ । व्यापारको हिसाबमा दश वर्षमा भारतलाई दश हजार मेगावाट बिजुली बेच्ने कुरा ठुलो ब्रेक थ्रू हो भन्ने उहाँको भनाई छ नि ? 

उहाँले सुरु गरेका केही केही प्रयत्न मलाई पनि बडो मनपरेका थिए । तर कनै पनि प्रयत्न टुङ्गोमा पुग्न सकेनन् । भ्रष्टाचारका सबै केस पहिचान भएका छैनन् । ती कुनै बिन्दुमा गएर जिम्लिएका छन् । 

ती गलत काम उठाउँदा कहिले तपाईंको अध्यक्षसम्म आइपुग्छ, कहिले प्रधानमन्त्रीसम्म गुनासो पुग्छ नि ? 

त्यस्तो कुरा कुनै नेताकोमा पुग्दा रोकिनु पर्ने, यो पनि कुनै भ्रष्टाचार विरोधी कदम हो र भनेको ? 

विद्युत् व्यापारको कुरा नि ? 

भारतसँग भएको विद्युत् व्यापारबारेको सम्झौताका दस्ताबेज अहिलेसम्म हाम्रो पार्टीमा आएको छैन । हामी गठबन्धनको एक घटक हौँ । तर सम्झौता हुँदा हाम्रो पार्टीलाई एक वचन सोधिएको पनि छैन । के–के सम्झौता गरियो, के–के निर्णय गरियो, हाम्रो पार्टीलाई जानकारी छैन । 

२० करोडको कुरामा पनि प्रधानमन्त्री र मन्त्रीले यो अहिले गर्ने होइन भने । तर पछि एकैचोटी मन्त्रिपरिषद्को निर्णय भनेर बाहिर आयो ।  मैले त्यसमा विज्ञप्ति निकालेर नै ५ करोड, ३ करोड र २० करोड दिने काम गलत हुन् भनेर आपत्ति जनाएको छु । 

हिजो तीन करोड र ५ करोडको निर्णय गर्दा चाहिँ उहाँहरू समर्थनमा बस्नु भयो, तर अहिले मैले २० करोडका गर्दा चाहिँ किन विरोध गर्नुभएको भनेर प्रचण्डले प्रश्न उठाउने गर्नुभएको छ नि ? 

मैले ती सबैमा विरोध गरेको हो । मैले त बिप्पाको पनि विरोध गरेको हो । त्यसबेला सङ्क्रमणकाल भएकोले ध्यान मात्र शान्ति प्रक्रिया र संविधान निर्माणमा दिएको हो। तर यसमा निरन्तरता दिएर जाने कुरा राष्ट्रिय हित प्रतिकुलका विषय हुन् । 

भारत र भारतीय सहयोगप्रति पनि तपाईं अनुदार हुनुहुन्छ भन्ने आरोप छ नि ? 

यसो भन्नेहरूले हाम्रो देशको हित के हो?  भारत नेपाल सम्बन्ध के हो ? त्यसलाई नजरअन्दाज गरिरहेका छन् । नेपाल भारत निकटस्थ सम्बन्ध भएका छिमेकीहरू हुन् । प्राचिनकालदेखि नै त्यस्तो सम्बन्ध रहँदै आएको छ । स्वतन्त्र राष्ट्रको हिसाबमा भन्दा दक्षिण एसियाको जेठो देश नेपाल हो । भारतमा रहेका जनतासँगको सम्बन्ध इतिहासदेखि नै हो । जनताका बिचमा कुनै पनि समस्या छैन । सरकारसँग पनि कतिपय विषयमा राम्रो सहयोग र सम्झौता भएका छन् । त्यसलाई मैले कहिल्यै विरोध गरेको छैन। भारतले नेपाललाई बढी उदारतापूर्ण सहयोग गर्नुपर्ने हो। भारतले गुजराल डक्ट्रिनलाई नेपालसँगको सम्बन्धमा कायम राख्नुपर्थ्यो । 

तपाईंको पार्टीका २ जना मन्त्री क्याबिनेटमा छन् । के अब उहाँहरूलाई फिर्ता बोलाउनुहुन्छ ? 

पार्टीको सचिवालयको बैठकमा उहाँहरूले त्यो प्रस्ताव मन्त्रीपरिषद्मा आउँदै आएन भनेर जानकारी दिए । अनौपचारिक कुराकानीमा प्रधानमन्त्रीले उताबाट यस्तो प्रस्ताव आएको र त्यसलाई आर्थिक समितिमा पठाउने  समझदारी भएको भन्ने जानकारी गराउनुभयो । त्यसैले निर्णय प्रक्रियामा नै गम्भीर त्रुटि देखिन्छ । यो संयुक्त सरकार हो, एउटा पार्टीको मात्र सरकार होइन । यस्तो सरकारमा साझेदार दलहरुसँग सल्लाह र समझदारी नगरी ठुला ठुला निर्णय गर्न पाइँदैन । तर  प्रधानमन्त्रीले त्यस्तो गर्दै आउनुभएको छ ।

jhalanath khanal (3)

तपाईंको हिसाबमा प्रचण्ड अहिले अलि दक्षिणतिर ढल्कनु भएको हो? 

तपाईंले भनेको कुरा ठिकै जस्तो लाग्छ । 

तपाईं सरकारबाट पार्टी बाहिरिने कुरा गर्नुहुन्छ । तर तपाईंको अध्यक्षले त सरकारबाट बाहिरिँदैमा पार्टी ठुलो भए, मोहन विक्रमसिंहको पार्टी सबैभन्दा ठुलो हुनुपर्ने भने जवाफ दिनुभएको छ नि ? 

अनि सत्तामा बस्दैमा पार्टी ठुलो हुने भए हामीले विद्रोह गरेको बेलाभन्दा व्यापक ठुलो भएर जानुपर्ने हो नि । स्थानीय चुनावमा ६ लाख मत प्राप्त गरेका थियौँ, राष्ट्रिय  चुनावमा २ लाख ९४ हजार ल्यायौँ । अनि सत्तामा बस्दैमा ठुलो हुने भए त स्थानीय चुनावमा भन्दा धेरै मत ल्याउनु पर्ने थियो नि । पार्टी के कारणले खुम्चियो ? अध्यक्षले जे उदाहरण दिनुभयो त्यो सही होइन । 

सत्तामा बस्दा या नबस्दा पार्टी ठुलो या सानो हुन्छ भन्ने कुरा मुख्य होइन । पार्टीले कस्तो कार्यदिशा लिएर अगाडि बढ्छ भन्ने कुरा मुख्य हो । क्रान्तिकारी कार्यदिशा लिने कि सम्झौतावादी कार्यदिशा लिने ? यो सरकारमा बसेर जे पाइन्छ, त्यो लिँदै जाने कार्यदिशा सम्झौतावादी कार्यदिशा हो । 

गत निर्वाचनमा इलामबाट चुनावमा हार्नुभयो । त्यसमा कांग्रेसले धोका दियो भन्नुभयो । राष्ट्रियसभाको निर्वाचन हुँदैछ त्यसमा पनि तपाईंको आशा थियो, अनि त्यो नपाएपछि पार्टीलाई नै सरकारबाट बाहिरिनुपर्छ भन्नुभएको त होइन? 

धेरैले सोधेको अन्तर्वार्तामा मैले भनेको थिएँ, मलाई राष्ट्रियसभामा कुनै मोह छैन। म इच्छुक पनि होइन र दाबी पनि छैन ।  यो कुरा कताबाट आएर तपाईंले सोध्नु भएको त्यो सरासर गलत हो । 

गत चुनावमा पार्टीले देशभरि धोका पाएको हो । कांग्रेस  र माओवादीको चेपुवामा पार्टी पर्‍यो । हामी चुनावमा एउटा मोर्चा बनाइरहेका हुन्थ्यौँ । अर्कोतिर भित्रभित्रै अर्कै मोर्चा बनिरहेको हुन्थ्यो । ठुला पार्टी भित्रभित्रै अर्को मोर्चा बनाएर, गठबन्धन बनाएर हिँड्ने । अनि हामी चाहिँ उनीहरूको वैशाखी मात्रै बन्ने भन्ने प्रश्न उठेको छ । 

त्यस्तो चेपुवामा परेर तपाईंहरुको पार्टी किन सरकारमा बसिरहेको त ? 

यस विषयमा मेरा असन्तुष्टिहरू केही बाहिर चुहिएका छन् । पार्टीभित्र यो विषयमा गम्भीर छलफल भइरहेको छ । कस्ता शक्तिसँग मिलेर सरकार बनाउने ? कस्तो अवस्थामा प्रतिपक्षमा बस्ने ? भन्ने कुरा अब प्रस्ट हुनुपर्छ । कहिल्यै विचार नमिल्नेसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा यथास्थितिवादी सोच हो । 

jhalanath khanal (1)

अहिलेको गठबन्धनमा एकदमै यथास्थितिवादी चाहिँ को हो? 

मैले सिङ्गै गठबन्धन यथास्थितिवादी देखिरहेको छु । यसले समाजमा क्रान्तिकारी परिवर्तनको कुनै नीति ल्याएको छैन । 

यसो भए यो गठबन्धन तत्काल भत्कनुपर्छ ? 

मैले त्यस्तो सत्तोसराप त गर्दिनँ । तर हाम्रो पार्टीले चाहिँ स्पष्ट निर्णय गर्नुपर्छ । बुद्धि पुग्ने हो र देशलाई गति दिने हो भने वामपन्थीहरू एक ठाउँमा आउनुपर्छ । कार्यगत एकता गरेर उनीहरूले देशमा नयाँ सरकार दिन सक्नुपर्छ । जहिलेसम्म वामपन्थीहरू तयार हुँदैनन्, त्यसबेलासम्म दक्षिणपन्थी सरकार रहिरहन्छ ।  

अहिले तपाईंको पार्टी सरकारमा छ । तर पनि यो दक्षिणपन्थी सरकार हो ? 

दक्षिणपन्थी, वामपन्थी त्यहाँ अनेक पन्थी छन् । 

त्यसो भए त तपाईंहरुको पाटीबाट गएका मन्त्रीहरू पनि त असफल भए नि ? 

हाम्रा मन्त्रीलाई असफल भन्दिनँ । पार्टीको कार्यदिशा अनुसार उहाँहरू सरकारमा जानुभएको हो । त्यसैले उहाँहरू दोषका भागी हुनुहुन्न । दोषको मुख्य भागीदार हाम्रो पार्टी हो जसले उनीहरूलाई अहिलेको अवस्थामा सरकारमा पठाएको छ । 

यी सबै कुरा सुन्दा त तपाईंहरु एमालेसँग मोर्चा वा गठबन्धन बनाएर गए हुने जस्तो लाग्छ नि ? 

संसद्मा अहिले चार–पाँच वामपन्थीहरू छन् । संसद्मा एमाले, माओवादी, एकीकृत समाजवादी,  नेमकिपा, जनमोर्चा, जसपा छन् । यी सबैका मत जोड्नुभयो भने संसद्मा १ सय ३७ मत हुन्छ । यो भनेको अहिलेको बहुमत हो । त्यसमा केही नपुगे अरू कुनै समूहलाई जोड्ने हो भने राम्रो आरामदायी बहुमत पुग्छ । 

कम्युनिस्टको दुई तिहाइको सरकार त यसअघि पनि थियो नि ? 

त्यो गइहाल्यो नि । त्यसलाई त उपयोग नै गर्न सकिएन । त्यसले आफैँले आफैँलाई जलाए जस्तो भयो। 

हिजोको  नेकपा ब्युँझाउन लाग्नुभएको हो? 

अहिले त्यो सम्भव छैन । साझा कुरा लिएर कार्यगत एकता गर्न सकिन्छ । वस्तुगत हिसाबमा वामपन्थीहरूबिच एकताको सम्भावना छ । तर आत्मगत हिसाबमा कतिपय वामपन्थीहरू दक्षिणपन्थीहरूसँग एकता गर्न बढी लालायित देखिन्छन् । 

तपाईं एमालेमा फर्कने भन्ने कुरा बाहिर आएको छ । एमालेभन्दा फरक र क्रान्तिकारी पार्टी बनाउन खोज्दा त्यो पनि भएन भन्ने गुनासो छ । अब यो पार्टीलाई किन अलग राख्नुपर्‍यो ? एमालेमा मिसाइदिए हुँदैन? 

अहिलेको अवस्थामा कम्युनिस्ट आन्दोलन र देश अधोगतिमा गइरहेको छ। यस्तो अवस्थामा हामी प्रगतितर्फ बढ्ने बाटोको खोजीमा छौँ । अहिले एउटा नारा जस्तै चलेको छ, व्यवस्था बदलियो, अवस्था बदलिएन, दलहरू सबै उस्तै हुन् । त्यस्तो हुँदा हामी अब नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ । वामपन्थीहरू साझा कार्यक्रममा एक ठाउँमा आएर कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरेर अगाडि बढ्नु पर्छ । यदि यसो गरेर अगाडि बढे २०८४ मा कर्मको फल चाख्ने छन् । 

विगतको शिक्षाबाट पाठका कुरा गर्नुभयो । तर हिजो दुई तिहाइको सरकार पनि टिकेन । अब तपाईं एक्लै कराएर यो कुरा कसले सुनिदेला ? 

हामी पहिलो चुनावमा दुई वामपन्थी पार्टीहरू कार्यगत एकता गरेर चुनाव लड्यौँ । जनताले आमूल परिवर्तनको आशा राखेर झण्डै दुई तिहाइ दिएर जिताए । जितेपछि उहाँहरू भित्रै अहमता छायो । अनावश्यक कुरामा बहस भए । ठुला र सैद्धान्तिक, वैचारिक कुराभन्दा पनि स–साना कुरामा बहस र विवाद भए, जुन बसेर छलफल गरेर मिलाउन सकिन्थ्यो । यसो नहुँदा  संसद् विघटन भयो । 

तपाईंको पार्टी अध्यक्ष समाजवादी मोर्चाको पनि संयोजक हुनुहुन्छ ? एक वर्षपछि उहाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । तपाईँ चाहिँ अब के गर्नुहुन्छ? 

यो पार्टीलाई एउटा क्रान्तिकारी पार्टी बनाउनका लागि यसलाई साथ दिने कार्यदिशा निर्माणका लागि लागिरहेको छु । नेपाली समाजको स्वरूप, नेपाली समाजमा विकास भइरहेका सामाजिक अन्तर्विरोध  र वर्गीय अन्तर्विरोधको अध्ययन गर्दै आजको मुख्य अन्तर्विरोध के हो ? कसको बिचमा यसको प्रतिद्वन्द्वी छ ? त्यसलाई कसरी  समाधान गर्ने र त्यसलाई समाजवादको दिशामा कसरी अगाडी बढाउने भन्नेमा लागिरहेको छु । यसका लागि जेठको महाधिवेशन हाम्रो पार्टीमा एउटा कोसेढुंगा साबित हुनेछ । 

jhalanath khanal

यो सबै कुरा लागु गर्न त पार्टीको नेतृत्व लिनुपर्‍यो नि ? 

त्यो त महाधिवेशनले निर्णय गर्ने कुरा हो । महाधिवेशनले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक सबै कुराको परिवर्तन गर्न सक्छ । जहाँसम्म मेरो कुरा छ, यो पार्टीलाई एउटा क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि जे–जे भूमिका निर्वाह गर्नुपर्छ त्यो सबै गर्न तयार छु । 

तपाईँ अध्यक्ष हुन इच्छुक हुनुहुन्छ । तर तपाईंहरुको तहको नेताले त अब बिदा लिए राम्रो हुन्छ भन्छन् नि ? 

अहिलेको आवश्यकता के हो, पहिले त्यसलाई हेर्नुपर्छ । देशलाई परिवर्तन गर्न सक्ने युवा आउन नेतृत्वमा भनेर म अहिले नै घोषणा गरिदिन सक्छु । तर उमेरको मात्र युवाले हुँदैन, विचारको युवा चाहिन्छ । 

तर तपाईंको पार्टी अध्यक्षले त लिने दिने कुरा होइन, भिड्न आउनुस् भनेर चुनौती दिनुभएको छ ? 

त्यो पनि एउटा तारिका हो । सामान्य कुरा हो । 

तर कतिपय सवालमा विचार एउटाको नेतृत्व अर्को पनि त आएको छ नि? 

त्यस्तो भयो भने विद्रोह हुन्छ । 

त्यसो भए नेकपा एस फेरि फुट्छ ? 

आउने महाधिवेशनमा हाम्रो पार्टी रूपान्तरित भएरै छोड्छ। 

तपाईंहरुको सरकार बनेपछि राजतन्त्र फर्काउनेहरू बढी सलबलाए । यो सबै तपाईंहरुले गर्दा भएको हो भन्ने आरोप छ नि ? 

संविधान बनेपछि तीनवटा सरकारले समाजको आर्थिक, सामाजिक, रूपान्तरणको काम गर्न सकेनन् । जनताको अवस्थामा परिवर्तन हुनुपर्छ भन्ने माग छ । तर त्यो नभएकाले जनता आक्रोशित मात्र होइन, विस्फोटको अवस्थामा छन् । दलहरू जनताबाट टाढा हुँदै गएका छन् । जनताको यो आक्रोशमा पसेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको छ । 

राष्ट्रिय सभाको निर्वाचनतर्फ जाऔँ, तपाईंहरुको पार्टीको बैठकले ५ सिट पाउने निर्णय गर्‍यो । पछि दलहरूसँगको सहमतिमा ३ सिट भयो । अन्तिममा पाउनुभयो दुई सिट । तपाईंले पहिलेदेखि नै माओवादी र कांग्रेसको चेपुवामा पार्टी पर्‍यो भन्नुभएको छ । यस्तो अवस्थामा पार्टी सरकारमा कहिलेसम्म बस्छ ? 

–सरकारको सहभागिताका विषयमा हामीले समीक्षा गर्ने बेला आएको छ । झ्याप्पै एकै चोटि ब्रेक हान्दा पनि एक्सिडेन्टको सम्भावना हुन्छ । त्यसैले हामी एक्सिडेन्ट गराउने पक्षमा छैनौँ । तर समीक्षा गरेर के ठिक के बेठिक त्यसको निर्क्योल गरेर अगाडि बढ्छौँ । समीक्षा हुँदा हाम्रो महाधिवेशन अघि नै केही निर्णय गर्न सक्छौँ । महाधिवेशनमा पनि समीक्षा गर्न सक्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया