मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मटिहानी आगलागी

‘एकल महिलाको भत्ता जम्मा गरेर घर बनाएकी थिएँ, ५ मिनेटमै जलेर खरानी भयो’

सोमबार, १७ वैशाख २०८१, ०६ : १५
सोमबार, १७ वैशाख २०८१

महोत्तरी । महोत्तरीको मटिहानी– ६, पछिहारी टोलकी एकल महिला सुनरमती देवी जलेर नष्ट भइसकेको घरमा शुक्रबार साँझ भेटिइन् ।

बुधबार बस्तीमा भएको आगलागीले उनको घर खरानी भएको थियो । घर जलेको ठाउँमा बसेर केही खोजिरहेकी थिइन् उनी ।

घरमा रहेका अधिकांश सामान खरानी भएका थिए । तैपनि केही भाँडासहित अन्य सामान उनी जम्मा पार्दै थिइन् । ‘सबै जल्यो, सत्यनाश भयो,’ उनले भनिन् । ६१ वर्षकी सुनरमतीले केही भाँडाबाहेक काम लाग्ने अन्य केही सामान फेला पार्न सकिनन् ।

घर जलेर खरानी भएपछि उनको अनुहारको चमक हराएको थियो । न रुन, न त हाँस्न सक्छिन् उनी ।

केही वर्ष अगाडि श्रीमान् गुमाएकी सुनरमतीलाई अर्को विपत्तिले छोपेपछि असहाय महसुस गरिरहेकी छन् ।

जलेर खरानीमा परिणत भएको घर सुनरमतीले पेट काटेर बनाएकी थिइन् । एकल महिलाको भत्तास्वरुप सरकारबाट प्राप्त हुने रकम जोगाएर उनले जसोतसो कच्ची घर बनाएकी थिइन् । घर बनाउने रकम जुटाउन उनले ३ वर्ष खर्चिइन् ।

५५ हजार रुपैयाँ खर्च गरेर बनाएको कच्ची घर जलेसँगै उनी घरविहीन भएकी हुन् । बडो दुःखका साथ बनाएको घर जलेसँगै उनलाई अब जीवन कसरी गुजार्ने भन्ने चिन्ताले छोपेको छ ।

सुनरमती भन्छिन्, ‘श्रीमान्ले जग्गा खरिद गर्नुभएको थियो, उहाँको मृत्यु भयो । अनि त्यो जग्गामा घर बनाउने पैसा भएन । त्यसपछि सरकारले दिने एकल महिलाको भत्तालाई जोगाउन थालेँ, पेट काटेर भए पनि पैसा जम्मा गरेँ । जसबाट घर बन्यो ।’

उनका अनुसार घर बनेपछि सबै दुःख हटेको थियो । तर फेरि दुःख निम्तिएको उनले सुनाइन् । पाँच मिनेटको आगलागीले ३ वर्षको अथक प्रयासपछि बनेको घर नष्ट गरेको उनले बताइन् ।

सुनरमतीको यो दुःखमा अहिलेसम्म कसैले पनि ढाडस दिएका छैनन् । मुलुकमा तीन तहको सरकार रहे पनि उनको दुःखलाई कुनै पनि सरकारले सान्त्वना लायक पनि सम्झिएका छैनन् ।

घरमा आगलागी हुँदा उनी छिमेकीको घरमा थिइन् । आगलागी भयो भनेर जोडजोडले आवाज आएपछि उनी आफ्नो घरतिर पुगिन् । उनले भनिन्, ‘घरमा आउन नपाउँदै मेरो घरको छेउमा आगोको झिल्को आएको देखेँ । हेर्दाहेर्दै आगो सल्केर घर खरानी भयो ।’

घरमा भएको २० हजार नगद, ३ वटा बेडसहित नागरिकता पनि जलेर खरानी भएको उनले बताइन् ।

उनले आफ्नो उपचारका लागि भन्दै २० हजार रुपैयाँ जम्मा गरेर राखेकी थिइन् । त्यो रकम पनि एकल महिलाबापत दिइएको सामाजिक सुरक्षा भत्ताकै रकम रहेको उनको भनाइ छ ।

उनका २ छोरा छन् । तर कुनै पनि छोराले आफूलाई सहयोग नगर्ने उनको भनाइ छ ।

सुनरमतीको यो दुःखमा अहिलेसम्म कसैले पनि ढाडस दिएका छैनन् । मुलुकमा तीन तहको सरकार रहे पनि उनको दुःखलाई कुनै पनि सरकारले सान्त्वना लायक पनि सम्झिएका छैनन् । उनी भन्छिन्, ‘खोइ को–को आउँछन् ! एउटा बिस्कुट दिन्छन्, चामल दिन्छन् । तर त्यो चामल दिँदा यो विचार गर्दैनन् कि त्यो पकाउने कहाँ ?’

प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव आए पनि कुनै ठोस राहत प्याकेज घोषणा गर्न नसकेकोमा उनी दुःखी छिन् । उनका अनुसार मधेस सरकारले आफ्नो जनताको लागि केही गर्ला कि भन्ने आशा थियो, तर त्यो पनि पूरा भएन ।

आगलागी भएको चौथो दिन प्रदेश सरकारका मुख्यमन्त्री यादवले मटिहानी अवलोकन गरेका थिए । अवलोकनका क्रममा सबै विवरण सङ्कलन भइरहेकाले चाँडै राहत प्याकेज ल्याउने मुख्यमन्त्री यादवको प्रतिबद्धता छ ।

मटिहानीमा भएको आगलागीबाट १०३ घर जलेर नष्ट भएको छ । करिब ५०० परिवार आगलागीबाट बिचल्लीमा परेका छन् । महोत्तरी प्रहरीका अनुसार १ करोड ६० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप