आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग

आइतबार, १६ वैशाख २०८१, १५ : ५९
आइतबार, १६ वैशाख २०८१

सुर्खेत । आफ्नो पहिचानसहित नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले माग गरेका छन् । निलहिरा समाजले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनीहरुले यस्तो माग गरेका हुन् । 

संविधानले स्पष्ट व्यवस्था गरे पनि राज्यले आफूहरुको पहिचान खुल्नेगरी नागरिकता दिन नसकेको भन्दै उनीहरुले नागरिकताका सवालमा आफुहरु विभेद्मा परेको बताएका हुन् ।

 कार्यक्रममा आफ्नो भनाइ राख्दै निलहिरा समाजका अधिकृत भक्ति शाहीले आफ्नो पहिचान खुल्नेगरी नागरिकता लिन आफुहरुले धेरै प्रक्रिया पुरा गर्नुपरेको बताए । 

    आफुहरुलाई पहिचानसहित जिउन सक्नेगरी वातावरण तयार गर्न माग गर्दै तीन तहकै सरकारले यसमा पहल गर्नुपर्नेमा अधिकृत शाहीले जोड दिए । नेपालको कानुनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए पनि त्यस्तो विवाह अस्थायी दर्ता हुने गरेको भन्दै यसमा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । यता, वीरेन्द्रनगरका जनप्रतिनिधिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सन्दर्भमा अहिले पनि बुझाइ कमजोर रहेको भन्दै यसले विभेदलाई प्रश्रय दिएको बताएका छन् । 

विभेद् कम गर्न र उनीहरुको पहिचानसहित खुल्ला रुपमा हिँडडुल गर्न पाउने वातावरण निर्माणका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याएका छन् । वीरेन्द्रनगर– १ का वडाध्यक्ष दीनेश खत्रीले संविधान र ऐन कानुनमा भएका जटिलतालाई हटाएर सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै आगामी वर्षदेखि वडाको बजेटमा उनीहरुलाई समेट्ने प्रतिबद्धता जनाए । 

उनले आफ्नो वडामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु रहेको बताउँदै उनीहरुलाई समेट्न केही कार्यक्रम यो वर्ष पनि राखिएको बताए । आगामी वर्षदेखि यो समुदायको अधिकारका लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिने उनको प्रतिबद्धता छ । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप