सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

रोहितको अर्धशतक बाबजुद दोस्रो खेलमा नेपाल पराजित

आइतबार, १६ वैशाख २०८१, १५ : ४०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार घरेलु टोली नेपाल पराजित भएको छ । वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई १० रनले हराएको हो । वेस्ट इन्डिजको जितसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । शनिबार खेलिएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । चौथो नम्बरमा क्रिज समाल्न आएका रोहितले अविजित ७१ रन बनाए । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए ।

यसअघि शनिबार खेलिएको पहिलो खेलमा पनि रोहितले शतक प्रहार गरेका थिए । आइतबारको खेलमा कप्तान रोहितलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिएनन् । गुलसन झाले २६ रन बनाउँदै कप्तान रोहितलाई केही हदसम्म साथ दिने प्रयास गरेका थिए ।

438164884_855551749934540_4928827433777368459_n

तर, गुलसन आउट भएपछि अन्य ब्याट्सम्यान पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किए । आरिफ शेखले १२ रन बनाए । ओपनर ब्याट्सम्यान लोकेश बमले १७ रन बटुले । अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । क्यारेबियन टोलीका बलर ओबेड म्याकेय र गुडाकेश मोटीले दुई–दुई विकेट लिए । ओसेन थोमस र रोस्टन चेजले पनि एक–एक विकेट हात पारे । नेपालका तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले ४३ रनको योगदान गरेका थिए । उनले केवल ३६ बलको सामना गरी तीन छक्का पनि हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान गुडाकेश मोटीले पनि अविजित ३३ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका गुडाकेशले केवल आठ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए । कप्तान रोस्टन चेजले पनि टोलीको खातामा २३ रन थपेका थिए । म्याथ्यू फोर्ड ११ रनमा अविजित रहे ।

ओपनर जोन्सन चार्लिसले ११ र केसी कार्टीले १० रन बटुले । वेस्ट इन्डिजले अतिरिक्त रुपमा केवल ६ रन पाएको थियो । नेपाली टोलीका बलर सागर ढकाल र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले पनि एक–एक विकेट हात पारेका थिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई दुई रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई वेस्ट इन्डिजका बलर आबेड म्याकोयले जोन्सन चार्लिसद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले २० रन बनाएको थियो ।

438086676_855546813268367_7043188747944952987_n

नेपालले दोस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको थियो । उनलाई एक रनको ब्यक्तिगत स्कोरमा क्यारेबियन बलर ओसेन थोमसले आन्द्रे फ्लेचरद्वारा क्याच गराएका थिए । ४.४ ओभरमा अनिल आउट हुँदा नेपालले २३ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा लोकेश बमलाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान लोकेशलाई क्यारेबियन बलर गुडाकेश मोटीले बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि लोकेशले १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाएका थिए । ५.५ ओभरमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको थियो । त्यसअघि उनी ‘रिटायर्ड हर्ट’ भई केही समयका लागि क्रिजबाट बाहिरिएका थिए ।

त्यसलगत्तै नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनी रन आउट भई पेभेलियन फर्किएका थिए । खाता खोल्नुअघि नै उनी आउट भएका थिए । छैटौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । आउट हुनुअघि उनले ११ बलको सामना गरी दुई छक्का र तीन चौकाको मद्दतले २६ रन बनाएका थिए । उनलाई क्यारेबियन बलर रोस्टन चेजले बोल्ड गरेका थिए । ८.२ ओभरमा गुलसन आउट हुँदा नेपालले ६१ रन बनाएको थियो ।

439832220_855551706601211_8165826794101769524_n

छैटौँ विकेटका रुप्मा नेपालले आरिफ शेखलाई गुमाएको थियो । उनी १६ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर गुडाकेश मोटीले अथान्जद्वारा क्याच गराएका थिए । १४.१ ओभरमा आरिफ आउट हुँदा नेपालले एक सय चार रन बनाएको थियो । त्यतिबेला नेपाललाई जितका लागि ३५ बलमा ५७ रन आवश्यक थियो ।

नेपालले सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी पाँच बलमा तीन रन बनाउँदै आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर ओबेडले रोस्टन चेजद्वारा क्याच गराएका थिए । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय नौ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी रन आउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले पाँच बलमा तीन रन बनाएका थिए । १७.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २९ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा आकाश चन्दलाई सात रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनले पाँच बलमा एक चौका हिर्काएका थिए । उनी रन आउट हुँदै पेभेलियन फर्किएका थिए । १९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४९ रन बनाएको थियो । नेपालका अन्तिम नम्बरका ब्याट्सम्यान सागर ढकाल शून्य रनमा अविजित रहे ।

439832243_855540996602282_8416852137840444749_n

त्यसअघि पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीको पहिलो विकेट सागर ढकालले लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । २.२ ओभरमा २५ वर्षीय अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको थियो ।

एलिक अथान्ज वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले वेस्ट इन्डिजका लागि चार टेस्ट खेल्दै कुल एक सय ६८ रन र १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल कुल दुई सय ८८ रन बनाएका छन् ।

वेस्ट इन्डिजको दोस्रो विकेट पनि सागर ढकालले नै लिएका थिए । उनले वेस्ट इन्डिजका अर्का ओपनर जोन्सन चार्लिसलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सागरले लिएको यो दोस्रो विकेट थियो । २.५ ओभरमा ३५ वर्षीय जोन्सन आउट हुँदा वेस्ट इन्डिजले १८ रन बनाएको थियो ।

जोन्सन चार्लिस वेस्ट इन्डिजको सिनियर टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले सिनियर टोलीबाट ५८ एकदिवसीय खेल्दै एक हजार पाँच सय ३७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा भने उनले ४८ खेल खेल्दै एक हजार ८५ रन बनाएका छन् ।

वेस्ट इन्डिजको तेस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले क्यारेबियन टोलीका कप्तान रोस्टन चेजलाई बोल्ड गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका रोस्टनले पेभेलियन फर्किनुअघि २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन बनाएका थिए ।

१०औँ ओभरमा अन्तिम बलमा रोस्टन आउट हुँदा वेस्ट इन्डिजले ६४ रन बनाएको थियो । ३२ वर्षीय रोस्टनले वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले ४९ टेस्टमा कुल दुई हजार दुई सय ६५ रन, ४५ एकदिवसीयमा कुल सात सय ८३ रन र ११ टी–२० अन्तर्राष्ट्रियमा एक सय ११ रन बनाएका छन् ।

वेस्ट इन्डिजको चौथो विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले क्यारेबियन टोलीका पाँचौँ नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई १० रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट थियो । १३.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले ७९ रन बनाएको थियो । २७ वर्षीय केसी कार्टीले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट २२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल पाँच सय ७८ रन बनाएका छन् ।

439901023_855516673271381_6030114617713001808_n

वेस्ट इन्डिजको पाँचौँ विकेट सोमपाल कामीले लिएका थिए् । उनले वेस्ट इन्डिजका छैटौँ नम्बरका ब्याट्सम्यान किमो पललाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १६.१ ओभरमा किमो पल आउट हुँदा क्यारेबियन टोलीले एक सय चार रन बनाएको थियो ।

२६ वर्षीय किमो पलले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले तीनवटा टेस्ट खेल्दै कुल ९६ रन, ३० वटा एकदिवसीय खेल्दै कुल तीन सय २० रन र २३ वटा टी–२० खेल्दै एक सय ८७ रन बनाएका छन् ।

वेस्ट इन्डिजले छैटौँ विकेटका रुपमा ह्याडेन वाल्सलाई गुमाएको थियो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले नौ रन बनाएका थिए । १७.२ ओभरमा उनी आउट हूँदा वेस्ट इन्डिजले एक सय १३ रन बनाएको थियो ।

३२ वर्षीय ह्याडेनले पनि वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले २३ एकदिवसीय खेल्दै कुल एक सय ७५ रन बनाएका छन् भने २८ विकेट पनि लिएका छन् । ३८ टी–२० मा उनले एक सय ५० रन बनाएका छन् भने ३१ विकेट लिएका छन् ।

वेस्ट इन्डिजको सातौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई लोकेश बमद्वारा क्याच गराएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका फ्लेचरले पेभेलियन फर्किनुअघि ४३ रन बनाएका थिए । उनले ३६ बलको सामना गरी तीन छक्का पनि हिर्काए । १७.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय १५ रन बनाएको थियो ।

३६ वर्षीय आन्द्रे फ्लेचरले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले २५ एकदिवसीयमा कुल तीन सय ५४ रन र ५४ टी–२० मा कुल नौ सय ५० रन बनाएका छन् ।

वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपालसँग पाँचवटा टी–२० खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । शृंखलाको तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र तेस्रो खेल मे ४ तारिखमा खेलिने छ । नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको ‘ए’ टोलीमा रहेका अधिकांश खेलाडीले सिनियर टोलीबाट विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।

सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप