सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
बलिदानी दिवस

मधेसी दलले अन्तरक्रिया गरेर मनाए मधेस बलिदानी दिवस

मधेसको पहिचानका लागि संघर्ष जारी रहेको घोषणा
शुक्रबार, ०५ माघ २०८०, १९ : १२
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । तराई मधेस केन्द्रित दलहरुले अन्तरक्रिया र तथा विचार गोष्ठी आयोजना गरेर शुक्रबार १७ औँ मधेस बलिदानी दिवस मनाएका छन् ।

जनता समाजवादी पार्टी नेपालले पर्सामा मधेस बलिदानी दिवस मनाएको छ । मधेस सरकारले पनि वीरगञ्जमै कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव थिए ।

जसपाले मधेस बलिदानी दिवसका अवसरमा अन्य जिल्ला तथा केन्द्रमा पनि विभिन्न कार्यक्रम आयोजना गरेको थियो तर मुख्य कार्यक्रम पर्साको वीरगञ्जमा थियो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौँको बबरमहलस्थित पार्टी कार्यालयमा संघीयताको पूर्णता तथा संघीयताको अभ्यास विषयमा अन्तरक्रिया कार्यक्रम गरी मधेस बलिदानी दिवस मनाएको छ । सो कार्यक्रम लोकतान्त्रिक बुद्धिजीवी संघले आयोजना गरेको थियो ।

यस्तै जनमत पार्टीले सिरहाको सन्हैठामा एक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।

वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार र पहिचानका लागि अझै संघर्ष गर्न बाँकी रहेको बताए । 

मधेसमा सबैभन्दा बढी अशिक्षा, गरिबी, बेरोजगारी रहेको बताउँदै उनले मधेसी जनताले सबैभन्दा बढी अपमानित जीवन बिताइरहेको बताए । त्यही न्यायका लागि जनविद्रोह भएको बताउँदै उनले अन्तरिम संविधान संशोधन गरेर स्वायत्त मधेस प्रदेशसहित मधेस प्रदेश हुने भनिए पनि षड्यन्त्रपूर्वक आठ जिल्लामा सीमित गरेको बताए ।

मधेसीलाई कमजोर बनाउन मधेसलाई चारपाँच टुक्रामा विभाजन गरेको यादवको आरोप थियो । तत्कालका लागि आठ जिल्लालाई मधेस प्रदेश बनाउने र पछि बाँकीका लागि लड्ने नीति अनुसार आफू अघि बढेको उनको भनाइ छ ।

समावेशी, समानुपातिक, आरक्षण मधेस आन्दोलनका कारण प्राप्त भएको बताउँदै उनले संघीय प्रणालीकै कारण मधेस प्रदेश बनेको चर्चा गरे । संघीयताको महत्त्व दिन प्रतिदिन बढ्दै गएको बताउँदै उनले मधेसीमाथि भएको विभेद, सामाजिक अन्याय अझै कायम रहेको जिकिर गरे ।

यो संविधान त्रुटिपूर्ण रहेको बताउँदै अध्यक्ष यादवले यसलाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

बबरमहलमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु मधेसको पहिचान तथा अधिकारका लागि अझै क्रियाशील रहेको बताए । देशमा संघीयता आए पनि त्यो अनुसारको कानुन नबनेको भन्दै उनले कानुन नहुँदा जनताले संघीयताको अनुभूति नगरेको प्रस्ट पारे ।

संघीयता र पहिचानका लागि संघर्ष गरेका मधेसी नेताहरुलाई आजीवन कारावासको सजाय दिइएको भन्दै ठाकुरले त्यसले मधेस आन्दोलनको अपमान गरेको बताए । उनीहरुलाई तत्काल रिहा गर्नुपर्ने ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप