बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय
संस्कृति

नुन लिन जाँदा जन्मेको तामाङ संस्कृति ‘तपुस्यप’, जसले नेपाल–तिब्बत युद्धको कथा भन्छ

शनिबार, ०६ माघ २०८०, १७ : ४४
शनिबार, ०६ माघ २०८०

तामाङ शब्द ‘तपुस्यप’को नेपाली अनुवाद ‘घोडचढी नाच’ हुन्छ । तामाङ भाषामा ‘त’ले घोडा, ‘पु’ अर्थात् ‘पुम्पल’ले चढेको र ‘स्यप’ले नाचको अर्थ दिन्छ । अर्थात् तपुस्यप भनेको घोडचढी जस्तो बनेर नाचिने युद्धनृत्य हो । यो नाच रसुवा, नुवाकोट र धादिङ उत्तरी क्षेत्र अर्थात् ल्हाप्साङकर्पो क्षेत्रमा बढी प्रचलित पाइन्छ ।

यो नृत्यले नेपाल र तिब्बतबिच भएको युद्धको कथा भन्छ । इतिहासमा नेपाल र तिब्बतबिच तीनपटक ( सन् १७८८—१७८९, सन् १७९१—१७९२ र सन् १८५५—१८५६) भएको मुद्रा तथा व्यापारसम्बन्धी युद्ध र वार्ताहरूको घटनाक्रम यस नृत्यमा गीति संवादसहित आउँछन्, त्यसैले यो नृत्य मात्रै नभएर लोक नाटक पनि हो । 

414003342_889184552886036_9005258155104896030_n

नुनको कथा 

सन् १८५० भन्दा अघिदेखि तिब्बतबाट नुन आयात गरिन्थ्यो । नेपालीहरू तिब्बतको सिमानासम्म गएर खाद्यान्नसँग नुन साटेर ल्याउँथे । कैयौँ दिनसम्म हिँडेर, भीर–कन्दरामा बास बसेर सिमाना क्षेत्र पुगी नेपालीले चामल, मुगा, तोरी, मकै आदिसँग नुन साटेर ल्याउँथे । खनियाबास गाउँपालिका– ३ ब्युर्चेत निवासी बुद्धिबहादुर तामाङका अनुसार, सिमाना क्षेत्रका मानिसहरू पञ्चायत कालसम्म वर्षको दुईपटक भोटसम्म नुन लगायत सामान लिन जान्थे । चैतमा चामल, तोरी र असोजमा मकै लिएर जान्थे । गोर्खा, मनकामना, आरुघाटदेखिका मानिसहरू गुम्दी, खनियाबास, पाचेत, स्हंगम, फ्युुकुरी हुँदै रसुवा निस्कन्थे । अर्को बाटो म्हन्दङ, ज्यम्बल, सिन्तुङ हुँदै पनि थियो । पहिलो बाटोमा गाउँहरू पर्दथे भने दोस्रो बाटोमा जंगल । घरबाट निस्किएको ३० देखि ४५ दिनमा नुन लिएर फर्कन्थे । यो जंगलको मार्ग अहिले पनि भेडीगोठको खर्क सार्न प्रयोग गर्छन् । 

नुन बोक्न पटकपटक जाँदा बाटोमा पर्ने गाउँहरूमा बास बस्नुपर्दथ्यो । यसरी पटकपटक बास बस्दा सिमानाका स्थानीयहरूसँग चिनजान गरी साइनो लाउँथे । मितेरी साइनो गाँसेपछि कोसेली आदानप्रदान हुनुका साथै सुरक्षा पनि मिल्थ्यो । 

चीनद्वारा तिब्बतमाथि आक्रमण, खम्पा विद्रोह र नेपालमा पञ्चायती शासनका कारण सीमा क्षेत्रमा कडाइ हुन थाल्यो, नुन लिन आउजाउ पनि बन्द भयो । धर्म–संस्कृति, परम्परा, वेशभूषा समेतको समानता रहेका हिमालीहरूसँगको मितेरी सम्बन्ध टुट्न गयो । तैपनि ती सम्बन्धहरूको दसीस्वरूप केही गीत, संगीत र लोक नाटकहरू यद्यपि प्रचलनमा छन् । त्यसमध्येको एक हो, तपुस्यप । 

414201483_877796867463311_3270839081078779379_n

नेपाल र तिब्बतबिच युद्ध हुँदा तामाङहरूको पनि सहभागिता थियो । त्यतिबेला शहादतप्राप्त साथीहरूको सम्झना र सम्मानका साथै परिवारजनलाई सान्त्वना दिन ‘तपुस्यप’ नृत्य सुरु गरिएको जनविश्वास पाइन्छ । 

त्यसबेलाको युद्धमा सहभागी कतिपय हताहत भएका थिए । लडाइँबाट नफर्केका कतिपय आफन्त मरेको वा बाँचेको थाहा भएन । सोधीखोजी गर्दा सिमाना क्षेत्रका नेपालीले म¥यो भन्न सकेनन्, लगातार सोधीखोजी गर्दा बताउन बाध्य भए । मौखिक रूपमा मरणको सन्देश दिन अप्ठेरो भएकाले आफूहरूले युद्धबाट जितेर ल्याएको रगत लतपतिएको ढाल र तरबार प्रदर्शन गर्दै कथा सुनाए । हामी यसरी लडेका थियौँ, अन्य साथीहरूले यसरी शहादत प्राप्त गरे भन्ने कथा अभिनय र नृत्यमार्फत भने । अर्थात् गीति संवादसहितको अभिनय र नृत्य प्रस्तुत गरे । वीरगति प्राप्त गरेका सहयोद्धाहरूको स्मृतिमा प्रत्यक वर्ष माघ महिनाको दशमीदेखि पूर्णिमासम्म विशेष उत्सव ‘छेची÷छेज्यू÷छेजी’ आयोजना गरी यसलाई थप व्यवस्थित बनाएका थिए । 

सन् १८३३ (वि.सं १८८९)सम्म तत्कालीन पश्चिम १ नम्बर (हालको धादिङ, खनियाबास– ३) को ब्युर्चेत गाउँमा बर्सेनि नाचिने यो नाच १९औँ शताब्दीदेखि एक वर्ष बिराएर मनाएको पाइन्छ, (तामाङ संस्कृति अनुसन्धान विभागको प्रतिवेदन—२०६४) । त्यसपछि मात्र तामाङ बाहुल्य रहेका ल्हाप्साङकर्पो क्षेत्रभरि बेलाबखतमा घोडचढी नाच नाच्ने प्रचलन रहेको पाइन्छ । १० वर्षे जनयुद्धको उत्कर्षकाल २०५७ सालदेखि ब्युर्चेतमा यो परम्परा बन्द भएको थियो, पछि २०६९ सालदेखि पुनः सुरुवात गरियो । यो नाच धादिङको तिप्लिङ, सेर्तुङ, झार्लाङ, कुरी, ब्युर्चेत, माहुर, रि र सेमजोङ, नुवाकोट जिल्लाको सङ्गम, बल्छी, किम्ताङ र रसुवाको गलङ, गोल्जोङ आदि स्थानमा अहिलेसम्म प्रदर्शन गरेको पाइन्छ । 

413418271_1114963829417808_7821273526959904138_n

गोर्खइग्यल्बो र ल्हसइदेव

यो नाचमा दुई समूह हुन्छन्—  गोर्खइगयल्बो (सेतो घोडचढी) र ल्हसइदेव (रातो घोडचढी) ।  

यो नाच नाच्नका लागि मानिसको कम्मरमा दुईतर्फ काठहरू बाँधिन्छ । अगाडिपट्टि सानो डोकोलाई काठमा बाँधी त्यसलाई नाक, मुख र कानसहितको टाउको बनाइन्छ । पछाडिपट्टि पनि सानो डोकोमा पुच्छर बनाई गोइ (लामाले लगाउने पहिरन)ले छोपेपछि ल्हसइदेव (रातो घोडचढी) तयार हुन्छ । यही प्रक्रियाबाट जामाले छोपेपछि गोर्खइग्यल्बो (सेतो घोडचढी) बन्दछ । यस नामकरणले गोर्खइग्यल्बोले गोर्खाली र ल्हसइदेवले ल्हासालीलाई संकेत गर्छ । 

यस नाचमा सहभागी प्रत्येक घोडचढीले दायाँ हातमा तरबार र बायाँ हातमा ढाल बोकेका हुन्छन् । यस्तै टाउकोमा क्र्याकी र अनुहारमा रातो रङ पोतिन्छ । अन्य सहायक सैनिकहरू आ–आफ्नै समूह मुताबिकको क्र्याकी काँधदेखि कम्मरसम्म बाँधी हातमा भाला वा धनुष लिन्छन् । संख्याको निर्धारण नाच प्रस्तुत गर्ने स्थानमा आधारित हुन्छ, तर कम्तीमा एक–एक मुख्य घोडचढी र एक–एक सहायक सैनिक हुनु अनिवार्य छ । साथै दुवैतर्फको संख्या बराबर हुनुपर्छ । ल्हसइदेवहरू डसङको उत्तरतर्फ र गोर्खइग्यल्बोहरू दक्षिणतर्फ तयारी गरिनुपर्ने मान्यता छ । 

नृत्य मार्गदर्शनका लागि प्रत्येक समूहसँग दुईजना लामाहरू हुनुपर्छ । झ्याम्टा लिने प्रमुख र ढ्याङ्ग्रो लिने सहायक हुन्छन् । दुवैतर्फका लामाले जितका लागि मन्त्र पाठ गरेर सहभागी सबैलाई टीका लगाइदिएर नाचको सुरुवात गर्दछन् । लामाको पछिपछि घोडचढी, सहायक र समर्थकसहित दुवै टोली होहल्ला, युद्ध, काटमार र लखेटालखेटको अभिनयका साथ डसङ प्रवेश गर्नुपर्छ ।

ल्हसइदेवको टोलीभन्दा गोर्खइग्यल्पोको टोली कम भए पनि अगाडि डसङमा प्रवेश गर्नुपर्ने मान्यता रहेको छ । केही समयको लखेटालखेट तथा युद्धको अभिनयपश्चात् मध्यस्तकर्ताको सहयोगमा युद्धविराम भई वार्ता हुन्छ । वार्ता वा संवाद गीति भाकामा गरिन्छ :

गोर्खइग्यल्बो : खेनी ल्हसइदेव ङिनि गोर्खइग्यल्बो चि दोन्ले फेब नाङची ? अर्थात् तिमी ल्हासाको हामी गोर्खाको कुन कारणले यहाँ आयौ ?

ल्हसइदेव : खेनी गोर्खइग्यल्बो ङिनि ल्हसअी देव छनी यबो खुर्न गोर्खइ य्हुल्सा दिङना ।  अर्थात् तिमी गोर्खाली हामी ल्हासाको नुन बेच्न गोर्खा आको ।

414048011_261943156915062_2311344465709049161_n

यसपछि नुन र चामलको महत्त्व दुवैतर्फका दूतहरूले प्रस्तुत गर्छन् । एक–अर्कासँग सहमत नभई पुनः युद्धमा होमिन्छन् । बल्झिएको युद्ध झन् खतरनाक हुन्छ । फेरि वार्ता हुन्छ, फेरि कुरा मिल्दैन र तेस्रोपटक युद्ध हुन्छ । युद्ध मारकाटबाट आजित भई बराबरीमा नुन र चामल साटफेर गर्छन् । कसैले नहारेकाले दुवै टोली मित्रवत व्यवहार गर्दै डसङमा लस्करै बसी विजय उत्सव मनाएर नाचको अन्त्य गरिन्छ ।

तपुस्यपप्रति चासो र चर्चा

तामाङ संस्कृति अनुसन्धान विभागमार्फत आधा दशकको निरन्तर अनुसन्धान र अभियानपश्चात् २०६५ को केन्द्रीय ल्होछारमा घोडचढी नाच (तपुस्यप) झाँकीको रूपमा पाँच मिनेट देखाइयो । नेपाल तामाङ घेदुङ धादिङको समन्वयमा टुँडिखेलको विशाल मैदानमा बनाइएको मञ्चमा यस नृत्यलाई सयभन्दा बढी कलाकारले प्रस्तुत गरेका थिए । मञ्चमा निश्चित कलाकारले निश्चित समयमा यसलाई प्रस्तुत गरे पनि त्यस वरपर दुई घन्टाजति यो नाच देखाइएको थियो । 

स्थानीय रूपमा मात्र नाचिने यो नृत्यलाई यसअघि ‘प्रथम धादिङ महोत्सव– २०६४’ मा प्रदर्शन गरिएको थियो ।  २०६५ मा काठमाडौँको टँुडिखेलमा प्रदर्शन गरेपश्चात् यसप्रति धेरैले चासो दिन र चर्चा गर्न थाले । यस नाचलाई यसरी चर्चा योग्य बनाउन स्थानीय तामाङ तान्वा, गान्वा, लामा, व्हाईपोम्पो, रोडा समूह, नेपाल तामाङ घेदुङ, विभिन्न महोत्सव आयोजक समितिहरू, सरकारी निकाय, तत्कालीन जिविस धादिङ र रसुवा, टीआरपीएपी कार्यक्रम, स्थानीय संघसंस्थाहरू, स्रष्टा अभियान धादिङ, सञ्चार तथा छापा माध्यमहरू, तामाङ संघ संगठन, पत्रकार, विद्वान् र अनुसन्धानदाताले समेत पर्याप्त सहयोग गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल फ्युबा तामाङ
गोपाल फ्युबा तामाङ
लेखकबाट थप