सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियामा भएको आक्रमणको बदला लिने इरानको घोषणा

आइतबार, ०७ माघ २०८०, १४ : ५०
आइतबार, ०७ माघ २०८०

तेहारान । सिरियाको राजधानीमा भएको हवाई आक्रमणमा इरानी सुरक्षा बलका पाँच वरिष्ठ सदस्य मारिएपछि इरानका राष्ट्रपतिले यसको जवाफ दिइने बताएका छन् । इब्राहिम रायसीले यस हमलाको लागि इजरायललाई जिम्मेवार ठहर गरेका छन्। यस हमलामा सिरियाली सुरक्षा बलका धेरै सदस्य पनि मारिएका छन् ।

इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । धेरै वर्षदेखि उसले सिरियामा इरानसँग सम्बन्धित ठाउँहरूलाई निशाना बनाउँदै आएको छ।अक्टोबर ७ मा हमासले इजरायलमा गरेको हमलापछि सुरु भएको इजरायल–गाजा युद्धका क्रममा यस्ता आक्रमणहरू बढेका छन् ।

इरानी राष्ट्रपतिको आधिकारिक वेबसाइटमा आफ्नो विज्ञप्तिमा, रायसीले मारिएका अधिकारीहरूको परिवारप्रति समवेदना व्यक्त गरे। उनले उनीहरूको मृत्युको बदला लिने वाचा गर्दै भनेका छन्, 'यो इरानका सम्मानित उच्च पाँच सल्लाहकारको कायरतापूर्ण हत्या हो।' रायसीले मारिएकाहरूलाई 'शहीदहरू' भनेका छन्।

विज्ञप्तिमा यी हवाई हमलाहरूलाई 'आतङ्कवादी र आपराधिक' भनिएको छ। विज्ञप्तिमा भनिएको छ, 'यसले इजरायलको ठुलो निराशा र प्रतिरोधी लडाकुहरू विरुद्धको कमजोरी देखाउँछ। यसमा हामी चुप लागेर बस्दैनौँ ।’

इरानको विदेश मन्त्रालयले आक्रमणलाई इजरायलको 'आक्रामक र उत्तेजक' कार्यको रूपमा वर्णन गरेको छ र अन्तर्राष्ट्रिय समुदायलाई यसको निन्दा गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप