शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध टस जितको नेपालले पहिले ब्याटिङ गर्दै

बुधबार, १० माघ २०८०, १३ : ४७
बुधबार, १० माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । 

जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा रहेको छ ।

उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । उक्त समूहमा हालसम्म दुई खेल खेलेको न्युजिल्यान्ड चार अंकसहित तालिकाको पहिलो स्थानमा छ ।

एक खेल खेलेको पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा आसिन छ । एक खेल खेलेको नेपालले अंक जोड्न सकेको छैन । नेपाल तालिकाको तेस्रो स्थानमा छ । दुई खेलमा पराजित भएको अफगानिस्तान तालिकाको चौथो स्थानमा आसिन छ ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपरि सिक्स’ चरणमा प्रवेश गर्नेछन् । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ ।

सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।

यसपटक यू–१९ विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा छन् ।

नेपाली टोलीमा उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो ।

यू–१९ विश्वकपमा नेपालको सबैभन्दा ठूलो उपलब्धि प्लेट च्याम्पियनसिपको उपाधि हो । सन् २००६ को यू–१९ विश्वकप श्रीलंकामा आयोजना भएको थियो । त्यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो । त्यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप