बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

कर्णालीमा गठबन्धनको विजयी, यस्तो छ राजनीति पृष्ठभूमि

बिहीबार, ११ माघ २०८०, १८ : १५
बिहीबार, ११ माघ २०८०

सुर्खेत । राष्ट्रियसभा अन्तर्गत कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेकपा एमालेका उम्मेदवारहरु पराजित भए भने गठबन्धनका तीनै जना उम्मेदवारहरु विजयी भए ।  

कर्णालीमा दलित, महिला र अन्य कोटामा निर्वाचन भएको थियो । जसमा अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प रहेका छन् । 

मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् भने विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । यस्तै रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् । 

एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्ली प्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए । 

को उम्मेदवार कस्तो ?  

अन्यतर्फ निर्वाचित रुकुम पश्चिममा रोकाय नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्ष हुन् । अहिले प्रदेश महामन्त्री रहेका उनीको राजनीतिक यात्रा बहुदल स्थापना भएपछि सुरु भएको हो । 

दुई कार्यकाल नेविसंघ रुकुमको अध्यक्ष भएका रोकाय ०५३ सालदेखि ०५७ सम्म कांग्रेसको जिल्ला कार्य समिति सदस्य हुँदै दसौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बनेका थिए । 

माओवादीको आधार इलाका मानिने रुकुममा उनले दुई वटा संसदीय चुनावमा पनि भाग लिए । ०७० को संविधान सभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडेका थिए भने ०७४ मा रुकुम पश्चिम प्रदेश सभा (क) बाट चुनाव लडेका थिए । तर, दुबैमा उनी पराजित भए । प्रतिनिधि सभामा कांग्रेसको प्रतिनिधित्व हुन नसकेका बेला आफूलाई पार्टीले राष्ट्रिय सभामा पुर्‍याएको प्रति उनी खुसी छन् । 

राजनीतिक आन्दोलनकै क्रममा एक हप्ता जेल समेत परेका थिए उनी । ०६२–६३ मा  दोस्रो जनआन्दोलनको बेला सक्रिय भएर लाग्दा हिरासतमा पुगेका थिए ।

महिला कोटाबाट निर्वाचित मल्ल दैलेख निवासी हुन् । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ मल्ल ०७४ सालमा नारायण नगरपालिका दैलेखको उपप्रमुख भएर एक कार्यकाल चलाइसकेकी छिन् । त्यो बेला एमालेबाट निर्वाचित भएकी उनी नेकपा विभाजनसँगै एकीकृत समाजवादीमा लागेकी थिइन् । 

०४३ सालमा नेमकिपाबाट नै राजनीति यात्रा सुरु गरेकी मल्ल ०५४ सालमा सालमा जिविसको सदस्य बनेकी थिइन् । उनी विद्रोही नेतृ पनि हुन । ०६२–०६३ सालदेखि जनआन्दोलनका क्रममा उनी गिरफ्तार भएकी थिइन् । उनी केही समय अघिसम्म समाजवादीबाट एमालेमा फर्कने कुरा चलिरहेको थियो । तर, समाजवादीले राष्ट्रिय सभाको टिकट दिई पार्टीमा सुरक्षित गरेको छ ।

निर्वाचित अर्का माओवादी केन्द्रका विष्णु विक ‘विकल्प’ कुनै बेला शिक्षण पेसामा संलग्न नेता हुन् । ०४६ मा शिक्षकबाट राजीनामा दिई राजनीतिमा होमिए । 

नेमकिपाबाट राजनीति सुरु गरेका विक ०४९ सालको स्थानीय निकायको चुनावमा साबिक मालकोट गाविसको अध्यक्ष समेत भए । माओवादी जनयुद्ध सुरु हुनुभन्दा केही समयअघि माओवादीमा प्रवेश गरेका उनी ०५४ सालदेखि पूर्णकालीन रुपमा भूमिगत बने । 

उनले माओवादीमा रहँदा विभिन्न मोर्चाको नेतृत्व समेत गरे । नेपाल दलित मुक्ति मोर्चाका संस्थापक जिल्ला अध्यक्ष हुँदै भेरी कर्णाली अध्यक्ष, केन्द्रीय सदस्य समेत बने । ०६१ सालमा उनी उक्त मोर्चाको केन्द्रीय सचिव बनेका थिए । हाल माओवादीको केन्द्रीय सदस्य समेत रहेका उनी कालिकोटका पुराना नेता हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप