आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दशरथ चन्द र गङ्गालाल श्रेष्ठको अद्वितीय मित्रता र महाबलिदानी

सोमबार, १५ माघ २०८०, ११ : २८
सोमबार, १५ माघ २०८०

दशरथ चन्द तथा गङ्गालाल श्रेष्ठ— यी दुई महारथी अनन्य कमरेड त छँदै थिए, त्यसमाथि यी साक्खै दाजुभाइभन्दा बढी घनिष्ठ थिए । कालजयी सहिदहरूको कुनै इतिहास वर्णनमा यस्तो युगल क्रान्तिकारी दौँतरीपनको अर्का दृष्टान्त भए वा नभएको थाहा छैन यस लेखकलाई । त्यसकारण यस महाबलिदानी गाथालाई ऊ अद्वितीय, असाधारण र अतुल्य नभनीरहन सक्दैन । 

क्रूर राणाशासनबाट मातृभूमिको मुक्ति र उन्नयनका लागि यी दुईको जाज्ज्वल्य जोस, उत्सर्ग एवं निष्ठाको सार्थक वर्णन गर्न त कविको महाकाव्य तथा लेखकको महागाथा नै चाहिन्छ । तथापि सिंहदरबार कंगारु अदालतमा यातनापूर्ण केरकारका बेला र अरु बेला बन्दी जीवनका तीन महिनामा ती गुणहरूले जुन उत्सर्ग हासिल गरे, तिनको सजीव वर्णन यस लेखकले सहबन्दी रामहरि शर्मा तथा हरिकृष्ण श्रेष्ठबाट सुन्ने सौभाग्य पायो । यसबारे २०७५ चैत ३ गते परेको गङ्गालाल जन्म शताब्दी लेख विशेषमा ‘अतुल्य क्रान्तिवीर गङ्गालाल श्रेष्ठ’मा उल्लेख भएका छन्, जुन ‘डिल्लीबजारको लप्टनको होटेल निबन्ध सङ्ग्रह’मा पनि पुनः प्रकाशित भएको छ ।

राणाभरौटेहरूले भरिएको बन्द ‘अदालत’मा आफ्ना अध्यक्ष टङ्कप्रसाद आचार्यलाई केरकारका निम्ति ल्याइने सुइँको उपाध्यक्ष दशरथ चन्दले पाए । यसपछि उनले नेल हथकडीले बेरिएका अध्यक्ष टङ्कप्रसाद आचार्यको सम्मानमा सबै सहबन्दीबाट स्यालुट गर्ने जुन कार्यक्रम बनाए, त्यसअनुसार सबैले जब ‘कमरेडस्, द प्रेसिडेन्ट, स्यालुट’ भनी सलामी दिए । त्यतिबेला राणा अदालतको मुख्य न्यायाधीश र अन्य पनि आत्तिएर उठेको वर्णन साह्रै रोमाञ्चक छ । तथापि विष्णुमती नदीतटको शोभा भगवती मन्दिरबाहिर प्राङ्गणमा झुन्ड्याइएर गोली ठोकी मारिने बेलामा को पहिला हत्याराको गोली थाप्ने भन्ने बारेमा बहस भएकालाई कुन सम्मानयुक्त शब्दले वर्णन गर्ने होला ? 

गोली ठोकेर मृत्युदण्ड दिइने आखिरी रात घरका मानिसलाई अन्तिम भेट गर्न दिइयो, झ्यालखानामा । दशरथका आफ्ना कोही नभएकाले सफाइको काम गर्ने महिला कर्मचारी राममायालाई ‘मेरा लागि रोइदिने कोही छैन । तिमी रोइदेऊ है राममाया’ भने उनले । अनि भर्खरजसो सुत्केरी भएकी हसिना पतिसँग अन्तिम बिदाइमा आउन सकिनन् । भाइ पुष्पलालले पिता भक्तलाललाई लिएर आए । शोभाभगवती तट लैजाने रात दशरथ चन्दले प्रेमिका जुलियानाले कोसेली पठाएकी चिडबुट्टे खास्टा ओढेका थिए भने, ढोका टोल हुँदै लहरीमा लैजाँदा बाटैमा पर्ने घर पुग्दा गङ्गालालले ‘हसिना, हसिना’ भन्दै अन्तिम बिदाइ सन्देश दिए ।

दशरथ चन्दलाई उनी यातनापूर्ण मृत्युको तारो बनाइने भन्ने पक्का लागेकाले यो निर्मम दृश्यबाट गङ्गालाल आत्तिन पुग्लान्, तर्सेलान् र राणातन्त्र रमाउन जाला भन्ने आशङ्का । ‘म नेपाल आमाको वीर छोरा हुँ, डराउन पर्दैन, दाजु’ भन्दै आश्वासन दिने गङ्गालाल आखिर दशरथ चन्दले अनुमान गरेकै क्रूरतापूर्ण यातना सहँदै सहिदतत्त्व वरण गरे । गङ्गालाले शालीन वीरोचित ढङ्गले सहादत्त्व वरण गरे । 

राणातन्त्रले पनि आफ्नो प्रकारले एउटा विडम्बनापूर्ण किसिमको इतिहास रच्यो । धर्मभक्त माथेमालाई दुईपटक झुन्ड्याएर, अनि दशरथ चन्द, गङ्गालाललाई माघ १४ को गते सारेर माघ १५ गते मृत्यदण्ड दिएर । 

यस्ता परम यशस्वी क्रान्तिवीरद्वयमा उनका महाबलिदानी पावन दिवसमा शतशत नमन गर्दै जय नेपालको अभिवादन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप