सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

समृद्धिका लागि हिंसा कि अहिंसा ?

आइतबार, २१ माघ २०८०, १३ : ०५
आइतबार, २१ माघ २०८०

द्वन्द्व, हिंसा र युद्धभन्दा अहिंसाको शक्ति व्यापक छ । अहिंसाकै प्रचुरताले विश्व व्यवस्था र मुलुकका आन्तरिक मामिला टिकेका छन् । सुखी हुनु र खुसी हुनु फरक मान्यता हो । सुखको कुनै सीमा हुँदैन, स–साना प्राप्तिमा पनि मानिस खुसी हुन सक्छ । यसैले आजकाल खुसी समाज र राष्ट्रको परिकल्पना गरिन्छ । 

समृद्धि बहुआयामिक हुन्छ । यो मानवीय, वित्तीय, भौतिक तथा समग्र जीवनशैलीको समतामूलक उन्नति र खुसीसँग सम्बन्धित छ । सन् १९२३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले खुसीको सन्दर्भमा ‘समृद्धि’बारे तयार गरेको सूचकले आर्थिक वृद्धि, समतामूलक वितरण र मानव विकासका आयामलाई प्राथमिकतामा राखेको छ । सशस्त्र द्वन्द्वबाट परिवर्तन हुन सक्ला तर त्यसपछि शान्ति निर्माणमा विलम्ब हुन्छ भन्नेतर्फ सचेत हुन आवश्यक छ । 

शान्तिविना समृद्धिको परिकल्पना गर्न सकिँदैन । परिवर्तनको सन्दर्भमा सम्भावित क्षति वा जोखिमको न्यूनीकरणका लागि अहिंसा उत्तम विकल्प हुनुपर्छ । यस मान्यतालाई सञ्जालीकरण गरिन आवश्यक देखिन्छ । 

  • दुई छिमेकी, विश्व परिदृश्य र नेपाल 

माओत्सेतुङको नेतृत्वमा चिनियाँ जनक्रान्ति हुँदा ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’ भन्ने मान्यता स्थापित थियो । सो जनक्रान्तिले हजारौँ मानिसको ज्यान लियो । ब्रिटिस उपनिवेशबाट मुक्तिका लागि भारतमा केही चरम पन्थीबाट शक्ति सङ्घर्ष आन्दोलन समेत छेडिएको थियो । खासगरी महात्मा गान्धीको नेतृत्वमा भएको अहिंसात्मक आन्दोलनले अन्ततः १५ अगस्त १९४७ मा भारत स्वतन्त्र हुन पुग्यो । भारत स्वतन्त्र हुँदा भारत र पाकिस्तान सँगसँगै विभाजित पनि भए, सो तत्कालीन जातीय बाहुल्य तथा भूराजनीतिको प्रतिफल थियो । सोही दुष्चक्रबाट अहिंसा आन्दोलनका प्रवर्तक महात्मा गान्धीको ३० जनवरी १९४८ का दिन गोली प्रहार गरियो । गान्धीको हत्या भए पनि उनको दर्शन र सिद्धान्त जीवन्त छ । 

विश्व व्यवस्थामा असंलग्न आन्दोलन र ‘कलम ठुलो कि तरबार’ भन्ने विपरीत मान्यता पनि छ । नेपालको भौगोलिक एकीकरणदेखि हालसम्मको शक्ति सङ्घर्षको विकास क्रमले समृद्धिका लागि हिंसा कि अहिंसा भन्ने प्रश्न खडा गर्छ । जहाँ द्वन्द्व हुन्छ, त्यहीँबाट यसको रूपान्तरण पनि हुन्छ । हिंसापछि सङ्क्रमण लम्बिनु स्वाभाविक रहन्छ, किनकि त्यहाँ द्वन्द्वरत पक्षहरूको घाउको आलो हट्न र आपसी भाइचारा पूर्ववत् अवस्थामा फर्कन समय लाग्छ । उता अहिंसा आन्दोलन लम्बिन सक्छ, यद्यपि यसले कम्पन ल्याइदिन्छ तर क्षति कम हुन्छ । यस प्रवृत्तिको आन्दोलनपश्चात् द्वन्द्व रूपान्तरण सहज हुन्छ । 

  • द्वन्द्व र शान्ति 

एउटा प्रचलित मान्यता छ– द्वन्द्व अवश्यम्भावी हुन्छ तर शान्ति पुनर्स्थापित गरिन्छ । फरक दृष्टिले हेर्ने हो भने यहाँ किन शान्तिलाई अवश्यम्भावी मानिँदैन ? निश्चित हदसम्मको सकारात्मक द्वन्द्वले संगठनात्मक उपलब्धि हासिल गर्न मद्दत पुग्छ, तर बढ्दै जाने द्वन्द्वले हिंसा र सशस्त्र द्वन्द्व निम्त्याउन सक्छ । अन्ततः द्वन्द्व रूपान्तरणलाई नै केन्द्रबिन्दुमा राखिनुपर्छ । 

मानव सभ्यता र राज्य व्यवस्थाको विकासक्रमसँगै खासगरी २०औँ शताब्दीको मध्यकालीन समयदेखि जोहान गल्टुङ र २०औँ शताब्दीको अन्त्यताकादेखि जोन पाउल लेडरेकसम्मका विचारकको दृष्टिकोण शान्ति पुनर्निर्माण तथा शान्ति पुनर्स्थापनातर्फ नै केन्द्रित पाइन्छ । यस सन्दर्भमा सुरुवाती चरणमा वार्ता हुने क्रममा मूल्य दाबी गर्नेभन्दा पनि मूल्य सिर्जना गर्न द्वन्द्वरत पक्ष संवेदनशील हुन आवश्यक छ । जोन पाउल लेडरेकले सन् १९९२ मा अघि सारेको अवधारणाले भन्छ— द्वन्द्व समाधानका लागि केन्द्रीय, मध्यम एवं स्थानीय स्तरमा विभिन्न चरणमा सरोकारवालाहरूबिच सघन वार्ता हुनुपर्छ । यसका लागि सरकार र सरोकारवाला समेत संलग्न हुनुपर्छ । सरकारबाहेकका अन्य निकाय वा माध्यमबाट हुने विभिन्न तहका कूटनीतिले द्वन्द्व रूपान्तरणमा सार्थक सहयोग पुग्छ । 

यस्तै, अहिंसा आन्दोलनका क्रममा पनि द्वन्द्व रूपान्तरण र शान्ति पुनर्स्थापनाका चरण एवं माध्यम अवलम्बन गरिन्छ । यी सबै मान्यता द्वन्द्व रूपान्तरण र शान्ति पुनर्स्थापनातर्फका विकसित मान्यता हुन्, जसलाई परिस्थिति अनुकूल प्रयोग गरिनुपर्छ । 

  • अहिंसासम्बन्धी मान्यता 

मानव सभ्यताको सुरुवातदेखि नै हिंसा र अहिंसा सँगसँगै अघि बढेको पाइन्छ । अहिंसाका पक्षधरहरू शान्तिपूर्ण आन्दोलनबाट पनि परिवर्तन अवश्यम्भावी हुने विश्वास राख्छन् । शान्त रहनु मात्र अहिंसा होइन, अहिंसा भनेको शान्तिपूर्वक प्रतिरोध गर्न सक्ने क्षमता हो । अहिंसालाई सकारात्मक शान्तिको रूपमा लिइन्छ र शान्ति निर्माणमा यसको महत्त्वपूर्ण स्थान रहन्छ । 

शान्ति निर्माणका सन्दर्भमा अहिंसा सम्बद्ध केही सिद्धान्त छन् । सकारात्मक शान्ति, सहभागितामूलक दृष्टिकोण, रूपान्तरित न्याय र दिगो शान्तिसम्बन्धी मान्यताका आधारमा शान्ति निर्माण गर्न सकिन्छ । 

जटिल द्वन्द्वको परिस्थितिमा अहिंसाका सिद्धान्तहरू कार्यान्वयनमा लैजान चुनौतीपूर्ण हुन्छ । यसका लागि अनुकूलन एवं रणनीतिक योजना आवश्यक हुने भनी एकरम्यान लगायतका विचारकको समालोचनात्मक धारणा पाइन्छ । शान्तिको संस्कृति जगेर्ना गर्न समय लाग्छ । यसका लागि दिगो योगदान र सामुदायिक लगनशीलता आवश्यक पर्नेमा लेडरेकले जोड दिएका छन् । अहिंसाबाट सकारात्मक परिवर्तन हुनेतर्फ चेनोवेथ र स्टेफेनले औँल्याएका छन् । 

महात्मा गान्धीले अघि सारेको अहिंसात्मक आन्दोलन राजनीतिक दर्शनका रूपमा स्थापित भएको छ । गान्धीले अहिंसालाई सत्याग्रहको रूपमा लिएका छन् । सत्याग्रह भनेको सत्यको खोजी गर्ने शान्तिपूर्ण माध्यम हो । महात्मा गान्धीको अहिंसा आन्दोलनलाई राजनीतिक दर्शन, अभियान र आन्दोलनको मुटुको रूपमा लिइन्छ । सत्य, अहिंसा, स्वराज अर्थात् स्वशासन, स्वयं आत्मनिर्भरता र निडरता गान्धीका अहिंसासम्बन्धी मार्गदर्शक सिद्धान्त हुन् । यसका लागि गान्धीले सत्याग्रह आन्दोलन, आफैँले दुःख पाउनेजस्तो अहिंसा, सामाजिक र आर्थिक विकासका लागि चर्खा विकास तथा अन्य सामुदायिक विकास कार्यक्रमको अवलम्बन, असहयोग अभियानजस्ता माध्यम अवलम्बन गरेका थिए । 

मार्टिन लुथर किङ द्वितीय समेत गान्धी विचारधाराबाट प्रभावित भएका थिए । घटना र परिदृश्य फरक रहने भए पनि देश, काल, परिस्थितिअनुरूप अहिंसा आन्दोलन शान्तिपूर्ण परिवर्तनका लागि कोसेढुंगाका रूपमा छ । 

नेपालको सन्दर्भमा समृद्धिका लागि अहिंसा 

नेपालको राजनीतिक इतिहासमा अहिंसालाई बेलाबखत प्रयोग गर्ने गरिएका दृष्टान्त छन् । उदाहरणका रूपमा नेपाली कांग्रेसद्वारा २०४२ मा आयोजित सत्याग्रह, जनमत पार्टीका अध्यक्ष सीके राउतको अहिंसा आन्दोलन, आ–आफ्ना माग पूरा गराउन वा सरोकारवालाहरूको ध्यानाकर्षण गर्न विभिन्न समूह वा निकायले बेलाबखत गर्ने धर्ना, भोक हडताल, र्‍याली इत्यादिलाई लिन सकिन्छ । 

१९०३ सालको कोतपर्व, २००७ सालको राणाविरोधी आन्दोलन, २०२८ सालताकाको झापाकेन्द्रित कम्युनिस्ट आन्दोलन, तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोह, भूमिगत समूहहरूका गतिविधि लगायत घटनालाई हिंसायुक्त आन्दोलनका रूपमा लिइन्छ । हिंसापूर्ण आन्दोलनले ठुलो मात्रामा क्षति पुग्छ । यस्तै परिवर्तनको संघारमा सङ्क्रमण रहने र शान्तिप्रक्रिया लम्बिने, हरेक परिवर्तनका लागि सशस्त्र विद्रोह वा क्रान्तिलाई नै विकल्प बनाउँदा सधैँ अस्थिरता भइरहने हुन्छ । त्यसैले सुशासनका माध्यमबाट जनभावनाको सम्बोधन गर्ने प्रवृत्तिलाई निरन्तरता दिए मात्र समृद्धि हासिल गर्न सकिन्छ । 

अन्तर्राष्ट्रिय शक्ति सङ्घर्ष र आन्तरिक द्वन्द्वमा देखिने हिंसा अन्त्य गर्न अनि समृद्ध समाज तथा राष्ट्र निर्माण गर्न अहिंसाको औचित्य सधैँ रहिरहनेछ । राष्ट्रिय सुरक्षाको नवीनतम अवधारणा अन्तर्गतको ‘मानव केन्द्रित’ सुरक्षाको उपलब्धि हासिल गर्न पनि अहिंसा दर्शन जीवन्त हुन आवश्यक छ । यसका लागि बहुस्तरीय शासनको मूल्य र मान्यता अवलम्बन गरिनुपर्छ । 

(कणेल, नेपाल सरकारको पूर्वसहसचिव, नीति विश्लेषक एवं अध्ययन अध्यापनमा संलग्न छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीपराज कणेल
प्रदीपराज कणेल
लेखकबाट थप