शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सम्पन्न

सोमबार, २२ माघ २०८०, २२ : १५
सोमबार, २२ माघ २०८०

जनकपुरधाम । चौथो जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८० आज सम्पन्न भएको छ । उक्त महोत्सव यही माघ १८ गतेदेखि सुरु भएको थियो ।  समापन कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले मैथिली भाषा, संस्कृति, कला साहित्यको संरक्षणका लागि महोत्सव महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । पाँच दिनमा भएका विमर्श, कला तथा नाटक प्रदर्शनी र अन्य सत्रमा व्यक्त विचारलाई कार्यान्वयन गर्न सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताए ।

त्यसैगरी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादवले राज्यले सबै भाषा संस्कृतिको संरक्षणका लागि समान महत्व दिनुपर्ने बताए । उनले आफ्नो पहिचान र संस्कृतिको रक्षाका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतासमेत औँल्याए ।

पूर्वमन्त्री सत्रुधनप्रसाद महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, भारतीय साहित्यकार डा.महेन्द्रनारायण मिश्र र प्राडा रविन्द्रनाथ चौधरीले महोत्सवको महत्वबारे आ–आफ्नो धारणा राखेका थिए ।  

आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सव अवधिभर २० विषयमा भएका विमर्शमा मधेस तथा देश निर्माणका लागि गम्भीर छलफल भएको र त्यसकालाई व्यवहारमा लागू गर्न सरोकारवालालाई आग्रह गरे । उनले एउटै आँगनमा सिंगो देशका कला, संस्कृति, साहित्य, नाटक तथा विविध विषयमाथि चर्चा गर्ने प्रयास गरिएको र आगामी दिनमा त्यसलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा आयोजना गरिएको उक्त महोत्सवमा  मैथिली विकास कोष, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको सहयोग रहेको थियो ।  

महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनी, नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बंगाली भाषामा नाटक प्रस्तुत गरिएको कोषका सदस्य सचिव श्यामसुन्दर शशीले जानकारी दिए । विसं २०५५ मा स्थापित कोषले २०७३ सालदेखि दुई दुई वर्षको अवधिमा महोत्सव आयोजना गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप