शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
काठमाडौँ–सिओल उडान

नागरिक उड्डयन प्राधिकरणको झेल : राष्ट्रिय ध्वजावाहकलाई रोकेर कोरियन एयर पोस्ने खेल

मङ्गलबार, २३ माघ २०८०, १० : १२
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (एनएसी) ले काठमाडौँ–सिओल उडानको अनुमति मागेको ६ वर्ष भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल–दक्षिण कोरिया उडान गर्दै आएको कोरियन एयरलाइन्सको एकाधिकार नतोडियोस् भनेर नेपाल एयरलाइन्सलाई अनुमति नदिने खेल खेलिरहेको पाइएको छ ।

नेपाल एयरलाइन्सको सिओल उडान अनुमतिका लागि २०७४ सालदेखि नै प्रक्रिया अगाडि बढेको हो । कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गत रहेको फ्लाइट स्ट्याण्डर्ड डिभिजन र (क्यान) का फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख राजु श्रेष्ठबिच भएको पटकपटकको पत्राचारले एनएसीले अझै अनुमति पाएको छैन । श्रेष्ठले अवकाश लिइसक्दा पनि उनको योजना बमोजिम नै अनुमति रोकिएको छ ।

कोरियाले पनि निगमको जहाज सिओल उडानका लागि सेफ्टी अडिटको सर्त तेर्स्याइरहेको छ । साइट निरीक्षण गरेर अडिट गरेपछि उडान अनुमति दिने प्रस्ताव अगाडि सारेको छ भने क्यानले चाहिँ नेपाल सार्वभौम मुलुक भएका कारण अडिट गर्न नदिने जवाफ फर्काएको छ । यही नेर क्यानको नियतमा शङ्का गर्दै उसले झेली गरिरहेको जानकारहरूको बुझाई छ ।  

‘क्यानले चाहेको भए उहिल्यै नेपाली ध्वजावाहक जहाजले सिओलको नियमित उडान भरिसक्थ्यो । कतै न कतै कोरियन एयरलाइन्स पोस्ने र त्यसबापत आर्थिक फाइदा लिने मनसायले क्यानका जिम्मेवार अधिकृतहरूले अनेक बहानाबाजी गर्दै  अनुमति दिएनन्’ निगमका एक उच्च अधिकृतले रातोपाटीसँग भने ।

निगमले आफ्नो कार्यविधि सच्याएर भए पनि सिओल उडान भर्न सकिए त्यहाँ कार्यरत नेपालीले सस्तोमा आवतजावत गर्न पाउने ठानेको छ । अहिले एक जना यात्रुले सिओल–काठमाडौँ एकतर्फी उडानका लागि एक लाख ४५ हजार रुपैयाँ बढी भाडा तिरिरहेको अवस्था छ । निगमको जहाज उडान भए त्यो खर्च ह्वात्तै हट्ने देखिन्छ । दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपिएस) परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरू त्यहाँ जान्छन् । प्रत्येक वर्ष कम्तीमा २० देखि २५ हजार नेपाली र विदेशी नागरिकको काठमाडौँ–सिओल उडान भर्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हालै बसेको बैठकमा क्यान र निगमको बोर्डका सदस्यलाई मन्त्री सुदन किराँतीले निगमको जहाज सिओल उडानको चाँजोपाँजो मिलाउन निर्देशन दिएका थिए । जवाफमा क्यानका महानिर्देशक प्रदीप अधिकारी अडिट गर्ने कोरियन प्रस्ताव स्विकार्न नसकिने बताएको बैठकमा सहभागी एक अधिकृतले बताए ।

  • उडानबारे यस्तो पत्राचार 

कोरियास्थित फ्लाइट स्ट्याण्डर्ड डिभिजनका उपनिर्देशक कुम अ यीसँग क्यानका अधिकारीहरूको नियमित सम्पर्क भइरहेको छ । गत साउन ११ मा क्यानका फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख श्रेष्ठलाई सम्बोधन गरी अ यीले लेखेको पत्रमा असोज १६–२० मा कोरियन टोली साइट निरीक्षणमा आउने उल्लेख छ । यसका लागि व्यवस्थापन गर्न क्यानलाई अनुरोध गरिएको छ । 

कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयले श्रेष्ठलाई नै सम्बोधन गर्दै गत असोज ४ मा लेखेको अर्को पत्रमा साइट निरीक्षणका लागि ध्यानाकर्षण गराउँदै भनिएको छ,‘ नेपाल इयूको हवाई सुरक्षा सूचीमा परेको छ, त्यसको कारण के थियो र कस्तो कार्ययोजना बनाइएको थियो भन्ने कुरा हामीलाई नेपाली टोलीले स्पष्ट पार्नुपर्छ ।’ 

पत्रमा भनिएको छ, ‘लेखापरीक्षण टोलीले कोरियामा उडान सेवाको लागि निगमको तयारी हेर्ने छ, र यस समयमा, हामी निगम सञ्चालनको सुपरिवेक्षण कसरी गर्न सक्छौँ भनेर पनि हेर्नेछौँ ।’ 

असोज ८ मा पत्रको जवाफ फर्काउँदै श्रेष्ठले ‘म तपाईंलाई जानकारी गराउन चाहन्छु कि क्यान नेपालले त्यहाँको अडिट टिमको कुनै पनि मूल्याङ्कन वा लेखा परीक्षणका गतिविधिलाई समर्थन गर्नेछ’ भनेका छन् । सार्वभौम मुलुक नेपालले कुनै पनि प्राधिकरणबाट कुनै लेखापरीक्षण नगर्ने पत्रमा उल्लेख छ ।

त्यसपछि कोरियाको फ्लाइट स्ट्याण्डर्ड डिभिजनका सहायक निर्देशक सङजुले कोरियास्थित नेपाली दूतावासका मिसन उपप्रमुख पुष्पराज भट्टराईलाई सम्बोधन गरेर अर्को पत्र लेखेका छन् । आफ्नो कार्यालयले नेपाल एयरलाइन्सको अनसाइट लेखापरीक्षण गर्ने तयारी गरेको र यसका लागि एयर अपरेटर प्रमाणपत्र (एओसी) जारी गर्ने भन्ने ब्यहोरा पत्रमा छ । 

  • प्राधिकरण र निगम दोहोरी 

क्यानका प्रवक्ता एवं उपमहानिर्देशक जगन्नाथ निरौलाले कोरियाले सार्वभौम मुलुक नेपालको हवाई संस्था क्यानलगायतको अडिट गर्ने विषयमा सहमत हुन नसकिएको बताए ।

‘कोरिया र नेपालबिच हवाई सम्झौता छ । कोरिया र नेपाल दुवै सार्वभौम मुलुक हो । हामीले बिना रोकतोक उसको जहाज नेपाल ल्याउन दिएका छौ’ उनले रातोपाटीसँग भने, ‘हाम्रो जहाज उता लैजान्छु भन्दा अडिट गर्छु भन्छ । त्यो मिल्दैन भनेर हामीले जवाफ दिइसकेका छौँ । बाँकी निगमसँगै बुझ्नुहोला ।’ 

निगमका प्रवक्ता एवं उपनिर्देशक रमेश पौडेल कोरियन सरकारसँग समन्वय भइरहेको बताउँछन् ।

‘उनीहरू साइट निरीक्षणका लागि आउने भनेका थिए, हामीले आऊ भनेका थियौँ । आएका छैनन् । हामी समन्वय गरिरहेका छौँ’ उनले रातोपाटीसँग भने ।

यस्तो छ कोरियाका लागि नेपाली राजदूत प्रा.डा ज्योति प्याकुरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई गत असोजमा लखेको पत्र ।

L-1L-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप