शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
चिया दिवस

कमजोर बजारीकरणको मारमा नेपाली चिया

नेपालमा चिया उत्पादन कति ?
शनिबार, १५ वैशाख २०८१, २० : ०८
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नेपाली चियालाई केही हप्ताअघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर निर्यात रोक्यो । काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परे । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यवसायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध रोकिए पनि भविष्यमा पुनः यस्ता समस्या नआउला भन्न नसकिने सरोकारवालाले बताएका छन् । यसले नेपाली चियाको बजारीकरणको पाटो कमजोर देखिएको छ । 

नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारत रहेको बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनाल बताउँछन् । ‘भारतीय बजार नेपाली चियाको सबैभन्दा ठुलो बजार रहेको कुरामा दुई मत छैन,’ उनले भने, ‘तसर्थ, भारत सरकारले आयात सम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठुलो हलचल आउने गरेको छ ।’

नेपालको निर्यातजन्य केही सीमित कृषि बालीहरूमध्ये चिया अग्रस्थानमा पर्दछ । ग्रामीण रोजगारी सिर्जना गर्नदेखि विदेशी मुद्रा आर्जन गर्नमा चियाले टेवा पुर्‍याएको डा. खनालको भनाई छ । ‘नेपाली चियाले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनेका छन्, ‘नेपालको चियाले कृषि, उद्योग र पर्यटनलाई एउटै धागोमा उनेर अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रूपमा आफूलाई उभ्याउन सफल भएको छ ।’ 

नेपाली चिया क्षेत्रले पछिल्लो समय बजारीकरणको पाटोमा विभिन्न चुनौतीहरू देखिएको छ । नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतीय पक्षबाट हुने गरेको बोर्डले जनाएको छ ।

  • नेपाली चियाको गुणस्तर उच्च

नेपाली चियाको गुणस्तर उच्च रहेको बोर्डको दाबी छ । भारतमा उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको डा. खनालले बताएका छन् । गत मार्च २४ देखि २६ सम्म संयुक्त राज्य अमेरिकाको लस भेगासमा सम्पन्न भएको ‘वर्ल्ड टी एस्क्पो’ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले ब्रेभ च्यालेन्ज तर्फ ‘ग्राण्ड च्याम्पियन’ को रूपमा पुरस्कृत भएको बोर्डले जनाएको छ ।

यस्तै, विगत वर्षहरूमा पनि चीनमा भएको ‘टी च्याम्पियनसिप’ मा नेपाली चिया उत्पादकहरूले ‘ग्रण्ड /गोल्ड मेडल’ जितेका छन् । यसले भारतीय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको पुस्टी भएको बोर्डको दाबी छ । 

  • नेपाली चियाको दिगो बजारीकरण गर्न विकल्प खोज्नु पर्ने 

नेपाली चियाको दिगो बजारीकरण गर्न भारतीय बजारको विकल्प खोज्न पर्ने सरोकारवालाले सुझाएका छन् । नेपाली चियाको बजार भारत मात्रै नभई चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने खनालको भनाई छ । 

जसका लागि चिया उत्पादक संघसंस्थाहरू, निजी एवं सहकारी क्षेत्रहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । 

यस्तै, चियाको समस्यालाई दिगोरुपमा सम्बोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत रहेका प्रयोगशालाहरूलाई सबल बनाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम प्रमाणीकरण गर्नु पर्ने सुझाएका छन् । 

  • नेपालमा चिया उत्पादन कति ?

नेपालमा आर्थिक वर्ष २०७९/०८० मा २० हजार २३० हेक्टर क्षेत्रफलबाट २६ हजार ४०१ मेट्रिक टन चिया उत्पादन भएको छ । 

नेपालमा आर्थिक वर्ष २०७८/०७९ को २० हजार २ सय १९ हेक्टरमा चिया खेती भएकोमा २६ हजार ३ सय ७९ मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ मा  १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा २३ हजार ७ सय ४५ मेट्रिक टन उत्पादन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती हुँदा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।

  • चिया निर्यात कति ? 

चालु आर्थिक वर्षमा नेपालबाट १० हजार १७८ मेट्रिक टन चिया निर्यात भएको बोर्डले  जनाएको छ । सो बापत् २ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको छ । 

यस्तै, आर्थिक २०७९/८० मा नेपालबाट १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात भएको छ । सो बापत् ३ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । 

यस्तै, आर्थिक २०७८/०७९ मा नेपालबाट १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको छ । सो बापत् ३ अर्ब ४३ करोड रुपैयाँ भित्रिएको छ । 

  • आयात कति ? 

नेपालमा चिया निर्यात मात्रै नभई केही मात्रमा आयात पनि हुने गरेको पाइएको छ । 

चालु आर्थिक वर्षमा नेपालमा ३० मेट्रिक टन चिया आयात भएको र सो बापत् २ करोड रुपैयाँ खर्च भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । 

चालु आर्थिक वर्ष २०७९/०८० मा नेपालमा २७७ मेट्रिक टन चिया आयात भएको छ । सो बापत् १२ करोड रुपैयाँ खर्च भएको छ । 

चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा २०३ मेट्रिक टन चिया आयात भएको छ । सो बापत् ८ करोड रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

नेपालमा आज २८ औँ राष्ट्रिय चिया दिवस मनाइएको छ । ‘कृषि पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ नाराका साथ आज चिया दिवस मनाइएको हो । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया कृषक, उद्योग, मजदुर व्यवसायी एवं चियाका पारखीहरूको सहभागितामा हरेक वर्ष वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप