आखिर किन खाली हुँदै छ मेरो गाउँ ?
मेरो गाउँ, जहाँ जन्मे हुर्केर कखरा सकियो, विडम्बना माटोसँग लडिबुडी गरेको त्यस्तो सुन्दर भूमि अहिले खाली हुँदै गइरहेको छ । अहिले रोजगारको सिलसिलामा होस् या आधुनिकतालाई अँगाल्नेहरुका कारण नै किन नहाेस् प्रतिदिन मेरो घर वरिपरिका युवा जमातहरु स्वदेश तथा विदेशी भूमिमा पलायन हुँदै छन् । सुन्छु पल्ला घरे माइला वा र माथिल्ला घरे ठुला बाको छोरा पनि विदेश जान्छु भन्दैछन् रे। यदि ती दुई भाइहरू विदेश पलायन हुँदा घरमा त केवल ती बुढा बा आमाहरू मात्र रहन्छन् जो कि उहाँहरू धारामा पानी भर्न लाइन बस्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ । यति मात्र कहाँ हो र ? मेरो गाउँ जहाँ अहिले पनि दाउरामा खाना पकाउनु पर्छ र ग्यासको सुविधा छैन । ती बिचरा बूढाबूढीहरू कसरी जंगलबाट दाउरा ल्याएर काँचोलाई पाको बनाएर जीवन निर्वाह गर्लान् ? अचम्म त के भने गाउँका ससाना ४/५ कक्षा पढ्ने भाइ बहिनीहरूले पनि स्कुलबाट फर्किदा बाटोमा कुरा गरेको मैले सुन्दा अनौठो लाग्यो । अब पढेर काम छैन विदेश जानू पर्छ पो भन्थे । आखिर के छ विदेशमा ? विकल्प नभएको हो कि विकल्प हुँदा हुँदै पनि हामीले कार्यान्वयन गर्न नसकेको हो, यो प्रश्न अनुत्तरित छ।
यतिमात्र होइन हिजो कुनै दिन पानी लिन धारामा जाँदा लाइन बसेर पानी भर्नु पर्ने गाउँका अधिकांश धाराहरू बँझिएर रहेका छन् । धाराहरू मात्र होइन, गाउँमा अधिकांश घरहरूमा नेपाल सरकारको वृद्ध भत्ता खाने बुढाबुढी र बाल पोषण भत्ता खाने ससाना बाबुनानीहरु मात्र देख्छु । कसैको घरका तालामा खिया लागिसकेका छन् । के ती खिया लागेका तालाहरू भोलि चाबी प्रयोग गरेर पुन प्रयोगमा आउँछन् वा प्रयोगमा ल्याउनको लागि हामी फेरि पुरानै गाउँ फर्केर आउँछौँ त ?
कुनै वेला यस्तो पनि थियो गाउँमा केही कार्यक्रम छ या कुनै राजनीतिक दलको मान्छे अथवा कोही ठुलो मान्छे आउँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि स्वागत -सम्मानका लागि लाइन लाग्थ्यो । तर मञ्च तथा स्वागतको लागि तयारी गर्ने र हुने त्यो मेरो युवा जमात अहिले छैन । कहाँ होला भन्दै गर्दा कोही स्वदेश भित्रै त कोही खाडी मुलुकतिर रोजगारको सिलसिलामा भौँतारिरहेको सुन्छु । के ती दिनहरू फेरि पुरानो अवस्थामा फर्केर आउलान् त ? के केवल सम्झना मात्रै रहलान् ? खै के भनूँ कुनै निर्वाचन आउँदा मसँगै प्रचार प्रसार गर्न झण्डा बोकेर हिँड्ने त्यो युवा शक्ति फेरि त्यसरी एक पटक गोलबद्ध र लामबद्ध हुन सक्ला त ?
मैले देखेको मेरो गाउँ हिजो के थियो आज के हुँदै छ भन्ने कुरा हाम्रो समाज र ती बाझिएका घरहरूमा खिया लागिसकेका तालाहरूले देखाइसकेका छन् । हुन त समय जति परिवर्तनशील छ मानिस पनि त्यतिकै परिवर्तन र विकास प्रेमी हुन चाहन्छ । यो सबै समयको खेल न हो अब समय र हामी एक अर्कामा समर्पित हुन हुन जरुरी छ । देशको राजनीति सांस्कृतिक तथा आर्थिक अवस्थालाई सुधार गर्नका लागि हाम्रो देशको संविधानको मर्म अनुरूप देशमा आर्थिक उत्पादनका साथै रोजगारी सिर्जना गरिनुपर्छ । अनि मात्र हाम्रा गाउँ घरहरू पुन भरिनेछन् जस्तो लाग्छ ।
हाम्रो गाउँ समाजलाई परिवर्तन र विकासशील बनाउनको लागि विदेश पलाएन मात्र नभई आफ्नै देशमा केही गर्ने हुटहुटीका साथ युवाहरू लागि लाग्नुपर्छ । त्यसपछि गाउँ घर मात्र नभई सिङ्गो देशलाई पनि आर्थिक हिसाबले परिवर्तन गर्न सकिन्छ ।
तिल गुफा नगरपालिका वडा नं.९, कालिकोट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, १७ वर्षपछि नेतृत्वमा प्रेस युनियन
-
पत्रकार महासंघको चुनाव : काठमाडौं शाखाको मतगणनामा विष्टलाई प्रारम्भिक अग्रता
-
तनावले म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाको पाचन प्रणाली नै बिग्रियो
-
पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा चौलागाईं निर्वाचित
-
१२ बजे, १२ समाचार : भारत भ्रमणको तयारीमा प्रधानमन्त्रीदेखि संसदको लेखा समिति सभापति पोखरेल पत्नीसहित २६ जनाविरुद्ध मुद्दासम्म
-
नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम