सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय व्यवस्था असफल भयो : अध्यक्ष यादव

बुधबार, २४ माघ २०८०, १९ : १६
बुधबार, २४ माघ २०८०

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताएका हुन् ।

उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताए । संघीयता आएपनि देशमा बेथिति नहटेको उनको भनाई छ । उनले संविधानको संरचनागत ढाँचा नै गलत भएको बताए । संविधान अनुसार स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको उनले बताए ।

‘संघीय व्यवस्थामा संविधान अनुसार स्थानीय र प्रदेश सरकारहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । अधिकारबाट वञ्चित बन्नु पर्दा स्थानीय र प्रदेश सरकारले काम गर्न नसकिरहेका छैनन्,’ उनले भने, ‘संघीयतामा जनताहरुको हक अधिकार तथा समस्या हल गर्ने र समानुपातिक ढंगबाट विकास निर्माणको काम हुनु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।’

उनका अनुसार संघीयता कार्यान्वयनको यस अवधिमा समेत मुलुकको अझै विकास हुन सेको छैन । मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन संविधान संशोधन गरेर अघि बढ्नु पर्ने उनले बताए । संविधानलाई सच्याएर नीति, नियम बनाएर अघि बढ्न सके मात्रा नागरिकहरुको हक अधिकार र विकासको सुनिश्चितता हुने उनको भनाई छ ।

देशमा गणतन्त्र स्थापना भएको धेरै भएपनि सुशासन कायम हुन नसक्दा मुलुकको आर्थिक विकास हुन नसकिरहेको अध्यक्ष यादवले बताए । मुलुकलाई समृद्ध बनाउन र मुलुकमा देखिएको समस्याको अन्त्य गर्न जनताले पुनः संघर्ष गर्नुपर्ने अवस्था देखिएको उनले बताए । देशको आर्थिक स्तर खस्किँदै गइरहेकाले बन्द रहेको सबै उद्योगलाई चलाउने नीति बनाउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाको गुणस्तर उकास्न, बेरोजगारी हटाउन र गरिबी न्यूनीकरणका लागि सरकारले आवश्यक कदम चाल्नु पर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप