थारु धर्मदेखि थारु साहित्यको अनुवादबारे बहस
सुनसरी । सुनसरीको गढीमा भएको ८ औँ थारु साहित्य राष्ट्रिय सम्मेलनको दोश्रो दिन माघ २७ गते विभिन्न विषयमा छलफल भएको छ । के हो मानक लेखन ? सन्दर्भ: थारु मानक लेखन लेखन शैली (बोडे घोषणापत्र) को कार्यान्वयनको अवस्थाको बारेमा भोलाराम चौधरी, डा. रामबहादुर चौधरी, अगिव बनेपालीले आ–आफ्नो मन्तव्य राखेका थिए । यस क्रममा थारु आयोगका सदस्य भोलाराम चौधरीले आयोगले थारु मानक भाषाको बारेमा थारु कल्याणकारिणी सभासँग कार्यदल नै बनाई काम गरिरहेको र यो अन्तिम चरणमा रहेको बताए ।
उनले पूर्वीया भाषाको लेखन शैली, मध्यपूर्वीया थारु भाषाको लेखन शैली तथा डंगौरा थारु भाषाको वर्ण निर्धारण लगायतको काम भएकोमा सबै शैलीलाई एकै शैलीमा राखेर मानकता कार्यको लागि रफ्तार दिनुपर्ने विचार व्यक्त गरे ।
यसैगरी थारु भाषाबारेमै विद्यावारिधि गरेका डा.रामबहादुर चौधरीले थारु भाषा जस्तो बोल्छौँ त्यस्तै लेख्नुपर्ने तर आगन्तुक शब्दलाई पनि भित्र्याउन उपयुक्त हुने बताए । उनले थारु मौलिक शब्दको सूचीकरण गर्नुपर्ने जरुरी रहेको पनि विचार राखे ।
त्यसैगरी प्राज्ञ अगिव बनेपालीले भाषालाई सत्ताले पनि असर गर्ने बताउँदै पहिले मल्ल कालमा भक्तपुरमा सत्ता रहेकोमा नेवार भाषा त्यहीँको आधिकारिक मानिएको तर अहिले काठमाडौँमा सत्ता रहेकोले काठमाडौँकै नेवार भाषा आधिकारिक मानिएको बताए । उनले कुन क्षेत्रको थारु भाषालाई मानक बनाउने त्यसको आधार प्रस्ट्याउनुपर्ने जनाए । यो सेसनको सहजीकरण लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले गरेका थिए ।
त्यसैगरी अनुवादको आवश्यकता र थारु साहित्यमा अनुवादको अवस्था शीर्षकमा डा.कृष्णराज सर्वहारी तथा हंसावती कुर्मीले विचार राखेका थिए । सर्वहारीले थारु साहित्यमा अनुवादको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै थारुबाट अन्य भाषामा अनुवाद कार्य निकै कम भएको जनाए ।
त्यसैगरी प्राज्ञ हंसा कुर्मीले अनुवाद पनि साहित्यको एक विधा भएकोले अनुवादकलाई दोस्रो दर्जाको साहित्यकारको रुपमा हेर्ने दृष्टिकोण गलत रहेको बताइन् ।
त्यसैगरी अर्को सेसन सुनसरी मोरङमा थारु साहित्यको अवस्थाबारे हौली परिवारका पूर्व अध्यक्ष सम्पतलाल चौधरी, सल्लाहकार रामसागर चौधरी तथा गायिका उर्वशी चौधरीले प्रकाश पारे । राजेश सरदारले सहजीकरण गरेको कार्यक्रममा हौली परिवारले सो क्षेत्रमा संस्थागत रूपले थारु साहित्यिक क्षेत्रमा गरेको कामको चर्चा भयो ।
यसैगरी अर्को सेसन थारुको इतिहास तथा धर्म संस्कृतिको आधार विषयमा डा.गोपाल दहित, डा.अपार लम्साल, हृदयनारायण चौधरी वक्ता रहेकोमा शेखर दहितले सेसनको सहजीकरण गरेका थिए । कार्यक्रममा थारु र बुद्धको सम्बन्धबारे विस्तृत छलफल भएको थियो । तर, थारुहरूको आनीबानी हेर्दा प्रकृतिसँग नजिक देखिएकोले प्राकृत धर्मको नजिक देखिएको छलफलको निचोड थियो ।
सम्मेलनबाट ९ बुँदे घोषणापत्र पनि जारी गरिएको छ । जसमा आगामी नवौँ सम्मेलन बर्दियामा गर्ने, थरुहटका पालिकामा थारु पाठ्यपुस्तक लागू गर्न पहल गर्ने, थारु लोक साहित्यका सर्जकहरूको पाण्डुलिपि प्रकाशनको व्यवस्थापन गर्ने, थारु लेखक सङ्घ नेपालबाट लागि आफूले पाएको पुरस्कार रकममा थप गरी अक्षयकोष वृद्धि गर्न सहयोग गर्ने, रामसागर चौधरीलाई धन्यवाद दिने तथा थारु साहित्यमा अनुवाद कार्यलाई जोड दिनुपर्ने लगायत रहेका छन् । कार्यक्रममा १५० भन्दा बढी विभिन्न जिल्लाबाट थारु साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
थारु लेखक सङ्घ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा माघ २६ गते शुक्रवार ८ औँ थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटन पूर्वमन्त्री तथा सङ्घीय सांसद भगवती चौधरीले गरेकी थिइन् । कार्यक्रममा थारु लेखक सङ्घ नेपालबाट स्थापित यस वर्षको पुरस्कार स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई प्रदान गरियो ।