शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक छ घण्टा हिँडेर पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा

आइतबार, २८ माघ २०८०, १२ : ३३
आइतबार, २८ माघ २०८०

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो । तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिड्नुपर्ने बाध्यता हटेको छ ।

भौगोलिक विकटताका कारण नर्जाखानी, पात्ले र भित्रीवन गाउँबाट दैनिक छ घण्टा हिँडेर वडा नं ५ खुङ्खानी स्थित शान्ति माध्यमिक विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा दिइएको गाउँपालिका कार्यालयले जनाएको छ । 

गत पुस १ गतेदेखि कक्षा १० मा पढ्ने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै ‘होस्टेल’ स्थापना गरेर एसइई दिँदासम्मका लागि आवासीय सुविधा दिन थालेको विद्यालयमा प्रधानाध्यापक सत्यनाराण सिंहले जानकारी दिए । 

वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि शान्ति माध्यमिक विद्यालयमा पुग्नु पर्ने बाध्यता छ । नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टाभन्दा बढी लाग्दछ । वर्षौँदेखि घण्टौँ हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका यस क्षेत्रका विद्यार्थीलाई एसइई तयारीका लागि करिब तीन महिना आवासीय सुविधा दिइएको प्रअ सिंहले जानकारी दिए । 

“शान्ति माविमा छात्रावास सञ्चालनका लागि गाउँपालिकाले हरेक वर्ष रु एक लाख विनियोजन गर्ने गरेको छ । जसबाट विद्यार्थीको अतिरिक्त कक्षा सञ्चालन, छात्रावासको व्यवस्थापन गरिरहेका छौँ”, उनले भने, “तीन महिना विद्यालयमा बसेर पढे भने उनीहरुको नजितामा सुधार आउने अपेक्षा गरेका छौँ ।”

नर्जाखानीबाट कक्षा ९ र १० मा अध्ययन गर्न खुङ्खानी आउनुपर्छ । नर्जाखानीबाट पढ्न आउने ललिता छन्त्यालले छात्रवासमा बसेर पढ्न थालेपछि धेरै सहज भएको बताइन् । कक्षा नौदेखि दैनिक छ घण्टा हिँड्नुपरेको भन्दै अहिले विद्यालयमा बसेर पढ्न पाउँदा एसइई परीक्षामा राम्रो अङ्क लिएर पास हुने अपेक्षा रहेको उनको भनाइ थियो ।

“घरबाट आउजाउ गर्दा निकै समस्या थियो । दैनिक छ घण्टा हिँड्नुपथ्यो । हिँडाइको थकाइले गर्दा पढाइप्रति ध्यान नै जाँदैनथ्यो । अहिले घरबाट आउजाउ गर्नु परेको छैन, यही बसेर पढ्दा पढाइ पनि राम्रो भएको छ”, छन्त्यालले भनिन्, “सबैभन्दा बढी समस्या बर्खा र जाडोको समयमा हुने गरेको थियो ।”

पात्लेगाउँका रुपक घर्ती मगर पनि अहिले विद्यालयकै छात्रवासमा बसेर अध्ययन गर्दै छन् । नर्जाखानीको विद्यालयबाट आठ कक्षा पास गरेर शान्ति माविमा आएका घर्तीले डेढ वर्ष निकै कष्टपूर्ण तरिकाले विद्यालय आउजाउ गरेको अनुभव सुनाए । जङ्गलको बाटो हिँड्दा वन्यजन्तको डर हुने गरेको भन्दै अहिले परीक्षा नजिक आइरहेको अवस्थामा यसरी विद्यालयमै बसेर पढ्न पाएकामा सहज भएको उनले बताए ।

यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ ।

टाढाका विद्यार्थीको सहजताका लागि गाउँपालिकाले केही समयका लागि भए पनि आवासीय सुविधा दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालनका लागि शान्ति माविसहित वडा नं २ को जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभान र धन गौ ज्योति मावि वडा नं ३ तमानलाई पनि बजेट विनयोजन गरिएको उनले जानकारी दिए । 

अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए । भौतिक संरचनाको व्यवस्थापनसँगै शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाले प्रयास गरिरहेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप