बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

मिरुनाको असफलता नै सफलताको राज

शनिबार, १५ वैशाख २०८१, १३ : ००
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । यतिबेला अभिनेत्री मिरुना मगर चर्चामा छिन् । फिल्म ‘मनसरा’को कारण उनको चर्चा चुलिएको हो । यही २१ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्ममा उनी एकल महिलाको भूमिकामा देखिँदैछिन्, जो एक छोरा हुर्काउन र जीविका चलाउन साग बेच्छिन्, सुँगुर पाल्छिन् र रक्सी पार्छिन् ।

फिल्मले आफ्नो अभिनय करियरमा बेग्लै उचाइ दिने मिरुनाको विश्वास छ । फिल्मबाट एकल महिलाले आफ्नो सन्तान हुर्काउन गर्नुपर्ने सङ्घर्ष बुझ्न पाएको उनी बताउँछिन् । यो फिल्ममा अभिनयपछि आमाप्रति आफ्नो रेस्पोन्स झनै बढेर आएको उनको भनाइ छ ।

अविवाहित मिरुनाका लागि फिल्ममा आमाको भूमिका कम चुनौतीपूर्ण थिएन । उनको छोरा ‘तान्छो’ बन्ने मेनाहाङ राई ९ वर्षका छन् । उनले आफूलाई आमा झैँ रेस्पोन्स गर्छन् कि गर्दैनन्, बच्चासँग आफू ‘कनेक्ट’ हुन सक्छु कि सक्दिनँ भन्नेजस्ता अनेक डर मिरुनाको मनमा थियो ।

17799355_10212510599265553_1578130276296573493_n

‘यस्ता विभिन्न डरले प्रि–प्रोडक्सनदेखि नै तान्छोसँग घुलमिल हुन थालेँ’, उनले अनुभव सुनाइन्, ‘उसले मलाई साँच्चिकै आमा झैँ रेस्पोन्स गर्‍यो । मलाई अभिनयमा सजिलो भयो ।’

फिल्म निर्देशक उपेन्द्र सुब्बा हुन् । निर्देशक सुब्बाका लागि ‘मनसरा’ बक्सअफिसमा हिट हुनुपर्ने प्रेसर छ । मिरुना भने आफूमा कुनै प्रेसर नरहेको बताउँछिन् । ‘जुन फिल्मबाट मैले डेब्यु गरेँ, त्यो बक्सअफिसमा असफल भयो । तर म अभिनेत्रीको रूपमा फिल्ममा भित्रिएँ’, उनले भनिन्, ‘मनसरा मेरालागि एउटा अर्काेमात्र स्टेप हो ।’

एउटा कलाकारलाई हरेक प्रोजेक्टले केही न केही सिकाउने बताउने मिरुना कलाकारका लागि व्यावसायिक सफलताभन्दा अभिनयको सफलता महत्त्वपूर्ण हुने सुनाउँछिन् ।

अभिनेता दयाहाङ राई ‘मनसरा’मा मिरुनाको जोडी छन् । दयाहाङसँग उनको तीन फिल्म ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ हिट भइसकेको छ । ‘डिग्री माइला’ हिटको बाटोमा छ । यो पनि हिट हुनसक्ने मिरुना बताउँछिन् ।

फिल्म ‘लालपुर्जा’बाट अभिनेता सौगात मल्लको जोडीको रूपमा अभिनयमा डेब्यु गरेकी मिरुनाले त्यसपछि प्रदीप खड्कासँग ‘रोज’, राजकुमारसँग ‘साइनो’ र आर्यन सिग्देलसँग ‘चच हुई’मा जोडी बाँधिन् । यी सबै फिल्म बक्सअफिसमा असफल हुँदा उनको करिअरमा नराम्रो धक्का पुग्यो ।

miruna

दयाहाङ राईसँग ‘कबड्डी ४’ हिट भएपछि उनको करिअर नयाँ उडान लियो । दयाहाङ उनका लागि ‘लक्की’ हिरो साबित भए । उनी स्वयं दयाहाङ आफ्ना लागि ‘लक्की’ भएको बताउँछिन् ।

‘म भर्खर अभिनय सुरु गरेको कलाकारले दयाहाङ जस्तो कलाकारसँग काम गर्न पाउनु नै ठुलो कुरा थियो । उहाँसँग रङ्गमञ्चको धेरै अनुभव छ’, मिरुनाले अगाडि भनिन्, ‘कलाकारितामा जति सङ्घर्ष उहाँले गर्नु भएको छ, अहिले जुन पोजिसनमा हुनुहुन्छ । त्यो हेर्दा मैले उहाँसँग काम गर्न पाउनु भनेको आफूलाई लक्की ठान्छु ।’

दयाहाङसँग आफ्नो ‘अन स्क्रिन’ जोडीलाई दर्शकले पनि मन पराउने उनको बुझाइ छ । ‘त्यसैले दयादाइ र मलाई लिएर फिल्म बनाउने निर्माता निर्देशक पनि बढे,’ उनले भनिन् ।

मिरुना ‘कबड्डी ४’मा दयाहाङको प्रेमिकाको रूपमा देखिइन् भने ‘जारी’ र ‘नाङ्गो गाउँमा’ श्रीमतीको रूपमा देखिएकी थिइन् ।

दयाहाङसँग प्रेमिकाभन्दा श्रीमतीको केमेस्ट्री दर्शकले धेरै रुचाएको मिरुना बताउँछिन् । उनले भनिन्, ‘श्रीमान् श्रीमतीको प्रेमिल सम्बन्ध हुन्छ । त्यसलाई पियोर सम्बन्धको हिसाबले हेरिन्छ । त्यसले पनि हाम्रो जोडी रुचाइएको हो ।’

त्यसो त आगामी दिनमा दयाहाङ बाहेकका हिरोसँग उनको फिल्म नआउने भने होइन । अहिले उनी अन्य हिरोसँग काम गरिरहेकी छन् । अभिनेता विपिन कार्कीसँग ‘उनको सुइटर’ आउँदैछ भने प्रदीप खड्का र खगेन्द्र लामिछानेसँग पनि उनी नयाँ फिल्ममा देखिँदैछिन् ।

  • असफलता नै सफलताको राज

भनिन्छ, असफलता नै सफलताको पहिलो सिँढी हो । अभिनेत्री मिरुना मगरको जीवनसँग पनि यो भनाइले मेल खान्छ ।

अभिनय सुरुवातको समय लगातार असफलता मिलेको उनलाई अहिले एकपछि अर्को सफलताले पछ्याइरहेको छ ।

108681651_10223164513006738_1338193090404219113_n

२०७९ मा फिल्म ‘कबड्डी ४’बाट बक्सअफिसमा सफलता हात पारेकी उनको गत वर्ष (२०८०)मा दुई फिल्म ‘जारी’ र ‘नाङ्गो गाउँ’ हिट भयो । यी फिल्मले उनलाई सफलतामात्र चखाएन, थुप्रै नयाँ प्रोजेक्टसँग समेत दिलाएको छ ।

२०७४ मा प्रदर्शित फिल्म ‘लालपुर्जा’बाट अभिनयमा डेब्यु गरेकी उनले त्यसपछि ‘रोज’, ‘साइनो’ र ‘चच हुई’मा अभिनय गरिन् । सबै फिल्म फ्लप हुँदा उनको करियरमा नराम्रोसँग धक्का पुग्यो । कतै फिल्मबाट पलायन पो हुनुपर्ने त होइन भन्ने डरकाबिच उनले ‘कबड्डी ४’ गरिन्, जसले उनलाई सफलताको खाता खोलिदियो ।

त्यसपछि ‘जारी’ र ‘नाङ्गो गाउँ’ सफल भयो । यसबाट उनलाई अभिनयमा झन् ऊर्जा भरिदियो ।  सफलता, असफलता जीवनको दुई पाटो भएको मिरुना बताउँछिन् । ‘सफलता, असफलता दुवै पाटोले मानिसलाई केही न केही सिकाउँदो रहेछ’, उनले भनिन्, ‘सुरुको असफलताले अहिले मलाई सफल बनाएको हो ।’

त्यतिबेला असफल नभएको भए अहिले यो अवस्थामा आउन नसक्ने उनको धारणा छ । ‘असफलताले पनि मलाई धेरै महत्त्वपूर्ण कुरा सिकायो’, उनी भन्छिन्, ‘म ग्राउन्ड जिरो पनि भए ।’

  • हरर फिल्मको रहर

मिरुनाले अभिनय रोज्नुको पछाडि ठुलो उद्देश्य वा सपना थिएन । अभिनयमा रुचि भएका कारण फिल्ममा उनी हाम फालिन् । अभिनयमा आउने लक्ष्य पूरा भइसक्यो । अहिलेको लक्ष्य भनेका निरन्तरता हो, जुन उनले एकपछि अर्को फिल्म गर्दै पूरा गरिरहेकी छन् ।

कामको सिलसिलामा थरिथरिका व्यक्तिको सङ्गत, भोगाइ, धेरै घुम्ने अवसर पाएकी उनी यो नै आफ्नालागि ठुलो उपलब्धि ठान्छिन् ।

331805528_696775928910748_8699102056722781898_n

‘अहिलेसम्म एकपछि अर्को फिल्ममा फरक फरक भूमिका पाइरहेकी छु । नयाँनयाँ कलाकार र टिमसँग काम गर्न मिलिरहेको छ । यो मेरोलागि खुसीको कुरो हो’, उनले भनिन्, ‘यसै गरेर सधैँ काम गर्न पाउँ । अन्य धेरै कुराको कल्पना छैन ।’

करिब दर्जन हाराहारी फिल्म अभिनय गरिसकेकी मिरुनाले प्रेमकथा, कमेडीदेखि सामाजिक कथासम्मका फिल्मको अनुभव लिइसकेकी छन् । उनले अहिलेसम्म अभिनय गर्न नपाएको भनेको हरर फिल्म हो । उनलाई हरर फिल्ममा अभिनय गर्ने रहर जागेको छ । हरर फिल्म मनपर्ने र धेरै हेर्ने भएकाले अभिनय गर्न मन लागेको उनले बताइन् ।

‘विदेशका जस्ता डरलाग्दो हरर फिल्म नेपालमा पनि बने हुन्थ्यो र त्यसमा आफूले अभिनय गर्न पाए हुन्थ्यो’, उनले रहर राखिन्, ‘हररको सुरुवातचाहिँ नेपाली कथाबाटै होस् ।’

  • पुस्तक पढ्ने योजना

मिरुनाका लागि गत वर्ष अर्थात् २०८० फलदायी रह्यो । उनका दुई फिल्म ‘जारी’ र ‘नाङ्गो गाउँ’ हिट भयो । उनी थुप्रै नयाँ प्रोजेक्टमा पनि जोडिइन् । यस वर्षको सुरुवात ‘मनसरा’ रिलिजबाट हुँदैछ । त्यसपछि पनि उनका केही फिल्म प्रदर्शनमा आउँदैछन् ।

सरसर्ती हेर्दा २०८१ उनका लागि विशेष हुने देखिएको छ । उनको अनुमान पनि यही छ । त्यसैले यो वर्ष सङ्गत गरेका, देखे सिकेको कुरो अझै बढी जान्ने इच्छा छ । किताब अध्ययनमा समेत रुचि राख्ने उनले धेरैभन्दा धेरै  पुस्तक पढ्ने सोच राखेकी छन् ।

433403102_18424844386035346_2806502173316365994_n

अभिनयमा भने उनले बक्सअफिसभन्दा पनि उत्कृष्ट चरित्र निर्माणमा ध्यान दिने सोच राखेकी छन् । यसले खतरा अभिनय गरी भन्ने गरेर अडियन्स तथा समीक्षकको तारिफ पाउने लक्ष्य छ उनको ।

‘मनसरा’बाट केही हदसम्म यो लक्ष्य प्राप्ति हुने मिरुनाको विश्वास छ । ‘मनसरा’ निर्देशक सुब्बाकै लेखनमा तयार भएको हो । फिल्ममा उनको अलावा दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता, छायाकार शैलेन्द्रध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्ममा सह–निर्माता छन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप