शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रणनीतिक विन्दुमा रहेको नेपालले होसियारीपूर्वक कदम चाल्नुपर्छ : झलनाथ खनाल

मङ्गलबार, ०१ फागुन २०८०, २१ : ३८
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको बताउनुभएको छ । 

पार्टी विदेश विभागको मंगलबार भएको बैठकमा उनले छिमेकी भारत, चीन तथा पश्चिम एसिया मामिलामा नेपालले असन्तुलित नीति अपनाइरहेको आरोप लगाए । पार्टी विदेश विभाग प्रमुख खनालले नेपाल भूराजनीतिक संवेदनशीलता र रणनीतिक विन्दुमा रहेकाले होसियारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिए । अर्को एक प्रसङ्गमा पूर्वप्रधानमन्त्रीले  समाजवादी मार्ग अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने र ‘समाजवादी लोकतन्त्र’ का माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्ने विचार व्यक्त गरे । 

त्यस अवसरमा पार्टी उपाध्यक्ष प्रमेश हमालले चीन जस्ता समाजवादी देशले गरेको विकासबाट नेपालले पनि सिक्नुपर्ने बताए । पार्टी उपमहासचिव विजय पौडेलले सरकारले भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौताका कागजात उपलब्ध गराउनुपर्ने र त्यसलाई प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्ने विचार व्यक्त गरे । 

विभागका सचिव शङ्कर खतिवडाले विश्वमा बढिरहेको युद्ध र अशान्तिको प्रवृत्तिबारे  छलफल गर्न आवश्यक भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप