सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यपालिकामा लगेको प्रस्ताव अनुमोदन नभएपछि रिसाए बालेन, के हो लफडा ?

'पार्टीको कर्मचारीलाई बचाउने खेल'
मङ्गलबार, ०१ फागुन २०८०, २३ : ०८
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)  शिक्षा विभाग प्रमुख सीताराम कोइरालामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव अनुमोदन नभएपछि आक्रोशित बनेका छन् । 

मंगलबार बसेको २८ औँ नगर कार्यपालिकाको बैठकमा मेयर शाहले शिक्षा समितिको बैठक नै नबसी कोइरालाले पुरानो बानेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कुलको सङ्काय नै थप गर्ने निर्णय गरेको जानकारी गराएका थिए । सो समितिको अध्यक्ष नै मेयर हुने भए पनि कोइरालाले आफूखुसी निर्णय गरेको पाइएको शाहले बताए ।  

महानगरले सोधेको सफाइको जवाफी पत्रमा समेत कोइरालाले गल्ती स्विकारेकाले कारबाही प्रक्रिया अघि बढाउन स्थानीय सरकार सञ्चालन ऐन अनुसार अनुमोदन गरिदिन कार्यपालिकालाई आग्रह गरेका थिए । 

तर, बैठकमा कार्यपालिका सदस्यहरूले तीव्र असन्तुष्टि जनाएपछि उनको प्रस्ताव अनुमोदन भएन । बरु कार्यपालिका सदस्यहरूले कर्मचारीलाई जथाभाबी कारबाही गर्दा मनोबल घट्ने भन्दै बचाउमा उत्रिएका थिए । यसविषयमा एक घण्टाभन्दा ब९ी समय वादविवाद भएको थियो भने अधिकांश सदस्यहरु कोइरालाको बचाउमै उत्रिएका थिए । तर बालेन कारबाही प्रक्रिया अघि बढाउनै पर्नेमा लागिरहे । 

यसबारे लामो वादविवादपछि मेयर शाह यसबारे थप छलफलका लागि महानगरपालिकाकै सुशासन समितिलाई जिम्मा दिन तयार भए । सोहीअनुसार उक्त प्रस्ताव अनुमोदन नभई सुशासन समितिमा थप छलफलका लागि पठाउने निर्णय भएको छ । सुशासन समितिले दिने रिपोर्टका आधारमा अर्को कार्यपालिकामा थप छलफल हुने भएको छ । 

तर, आफ्नो प्रस्ताव अनुमोदन नभएपछि बालेनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत कार्यपालिका सदस्यहरूमाथि कडा आक्रोश पोखेका छन् । उनले वडाध्यक्षहरू आफ्नो पार्टीका कर्मचारीलाई बचाउन लागिपरेको पनि आरोप लगाएका छन् । 

 ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले मैले गलत गरेको हो भनेर लिखित रूपमा स्विकारेको पनि थाहा छ । यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो– वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल’, शाहले भनेका छन् । 

उनले अगाडि भनेका छन्, ‘यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शङ्का छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने ।’

 स्वच्छ कर्मचारीहरूको मनोबल सधैँ उँचो हुने बालेनको भनाइ छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्ने भन्दै शाहले उच्च मनोबलका कर्मचारीहरूको काठमाडौँ महानगरमा कुनै कमी नभएको पनि बताएका छन् । 

आफ्ना पार्टीका कर्मचारीलाई बचाउन लागिपर्ने जनप्रतिनिधिहरूले स्थानीय सरकारको मर्म आत्मसाथ गरेको मान्न नसकिने उनको दाबी छ । ‘जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाडौँ ?’, आक्रोशित हुँदै शाहले प्रश्न गरेका छन् । 

जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउने र कर्मचारीहरू संविधान, ऐन तथा कानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्ने भूमिकामा हुने बालेको तर्क छ ।

 स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा विडम्बना अर्को हुन नसक्ने बालेनको भनाइ छ । 

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएपछि उनी स्पष्टीकरणमा परेका थिए । सोको स्पष्टीकरण प्राप्त भएपछि शाहले कारबाही प्रक्रिया अघि बढाउन कार्यपालिकामा प्रस्ताव लगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप