आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ खनालको समर्थन

बुधबार, ०२ फागुन २०८०, १३ : ५७
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटर ब्याज पीडितहरूको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । बुधवार अपिल जारी गर्दै नेता खनालले मिटरब्याज पीडित किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै उनीहरूका समस्याहरूलाई समाधान गर्न ठोस मद्दत गर्न आहन समेत गरेका हुन् ।

उनले यसअघि पीडितहरूले ११ दिनको पैदल यात्रामार्फत काठमाडौँ आएर आन्दोलन गरे पनि सरकारले उनीहरूका माग पुरा गर्ने र उनीहरूलाई लुट र अत्याचारबाट मुक्त पार्ने ठोस र क्रान्तिकारी कदम उठाउन नसकेको स्मरण गराएका छन् ।

‘जुन कानुन बन्यो त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन सकेन । किसानहरू माथि भइरहेका लुट र अत्याचारहरू यथावत् जारी रहे । त्यसले गर्दा फेरि आज मिटरब्याज पीडित किसानहरू पुनः आन्दोलनमा उभिन बाध्य भएका छन्’, नेता खनालले भनेका छन् ।

मिटरब्याज पीडकहरूका विरुद्ध किसानहरूले सुरु गरेको आन्दोलनलाई खनालले स्वतःस्फूर्त रूपमा उठेको वर्ग सङ्घर्ष भनेका छन् । ‘यो बिल्कुलै न्यायपूर्ण आन्दोलन हो । म हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मिटर ब्याज पीडित किसानहरूको यो न्यायपूर्ण आन्दोलनलाई दृढ समर्थन गर्दछु र उनीहरूको आन्दोलनको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना दिन चाहन्छु’, खनालको प्रतिबद्धता छ ।

उनले किसानहरूको यो आन्दोलनलाई हर प्रकारले सहयोग र समर्थन गर्न अखिल नेपाल किसान महासङ्घसहित पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र समर्थकहरूलाई आह्वान समेत गरेका छन् ।

‘हाम्रो देशका भूमिहीन, गरिब र मध्यम किसानहरूका समस्याहरूलाई गम्भीरतापूर्वक लिन, मिटर ब्याज पीडित किसानहरूका पीडालाई गहिरो गरी बुझ्न, उनीहरूका समस्याहरूलाई आधारभूत रूपले समाधान गर्न, किसानहरूलाई यस पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढङ्गले कदम चाल्न, मिटर ब्याज पीडकहरूलाई कडा कारबाही गर्न र किसानहरूलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न म सरकारसँग जोडदार माग गर्दछु’ खनालले अन्यथा, परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् ।

माग पुरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले पीडितहरू पूर्वको मेची र पश्चिमको महाकालीबाट काठमाडौँ आइपुग्दै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप