आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीलाई असहयोग

सिंहदरबारमा अर्थमन्त्रीको ‘शासन’ : प्रधानमन्त्री आक्रोशित !

प्रधानमन्त्रीसँग सल्लाह बिनै बजेट कटौती,  एक्सनको तयारीमा प्रचण्ड
बिहीबार, ०३ फागुन २०८०, १५ : ४१
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सम्मृद्धिका लागि आफू नेतृत्वको सरकारले चालेका कदममा कांग्रेसका तर्फबाट सरकारमा रहेका अधिकांश मन्त्रीहरूले असहयोग गरेको निष्कर्ष निकालेका छन् । यतिसम्मकी अर्थमन्त्री डा प्रकाश शरण महतले चालु आर्थिक वर्षको २ खर्ब भन्दा बढी बजेट कटौती गर्दा आफूलाई सुइँको समेत नदिएकोमा प्रधानमन्त्री प्रचण्ड थप आक्रोशित बनेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले महतलाई अर्थमन्त्रीको कुर्सीमा निरन्तरता दिएर अब चल्न नसकिने बताउन थालेका छन् । 

‘अर्थमन्त्रीले बजेट घटाएकोबारे प्रधानमन्त्रीलाई थाहै छैन । बजेट घटाउनेबारे एक शब्द पनि सोध्नुभएन’, प्रधानमन्त्री निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘यत्रो निर्णय गर्दा सल्लाह नै नगर्ने अर्थमन्त्रीसँग प्रधानमन्त्रीले कसरी काम गर्ने ?’

अर्थमन्त्रीले आफूलाई नटेरेको भन्दै प्रधानमन्त्रीले यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत कुरा गर्ने तयारी गरेका छन् । बजेट घटाउने सवालमा मात्रै नभएर अन्य विषयमा समेत अर्थमन्त्रीले प्रधानमन्त्रीसँग छलफल नगर्ने गरेको स्रोतको दाबी छ ।

गत माघ २९ गते अर्थमन्त्री डा. महतले चालू आर्थिक वर्षको बजेट २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको घोषणा गरेका थिए । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामार्फत मन्त्री महतले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाए पनि त्यति ठुलो बजेट घटाउँदा प्रधानमन्त्रीसँग छलफल र परामर्श नगरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएपनि यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री महतले एकलौटी रूपमा १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका थिए ।

‘अर्थमन्त्री डा. महतले बजेट घटाउनुभयो तर प्रधानमन्त्रीलाई थाहै दिनुभएन । बजेट घटाउने सवालमा उहाँले एक शब्द पनि सोध्नुभएन अर्थमन्त्रीले मनलाग्दी गर्नुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अर्थ मन्त्रालयमा रहेका प्रधानमन्त्री निकट कर्मचारी पनि छानिछानी हटाइदिनुभयो, यसो गरेपछि यो सिस्टममा प्रधानमन्त्री ठुलो हो कि अर्थमन्त्री भन्ने प्रश्न उठ्यो ’, ती सदस्यले प्रश्न गर्दै भने, ‘यस्ता अर्थमन्त्रीसँग पीएमले अब कसरी काम गर्नुहुन्छ ? उहाँको प्रधानमन्त्री प्रचण्ड हो वा सिंहदरबारमा अरू कोही छ ?’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अर्थमन्त्रीले बजेट घटाउँदा प्रधानमन्त्रीसँग सल्लाह गरे–नगरेको आफूलाई थाहा नभएको बताए । ‘मलाई यसबारेमा कुनै जानकारी छैन’,आचार्यले थप प्रतिक्रिया दिन चाहेनन् ।

आचार्यले आफूलाई थाहा नभएको बताएपनि प्रधानमन्त्रीले आफू निकटस्थहरूसँग अर्थमन्त्रीले आफूलाई स्वतन्त्र र स्वायत्त निकाय जस्तो ठानेर व्यवहार गर्ने गरेको बताउने गरेका छन् । मन्त्री महतले बजेट बनाउँदा ५० अर्ब रकम विविध शीर्षकमा खर्च गर्ने गरी छुट्याएकोमा त्यसको समेत प्रधानमन्त्रीलाई हिसाब देखाएका छैनन् । यस्तै डेडिकेटेड लाइनको बिजुलीको बिल नतिर्ने उद्योगको लाइन काट्ने निर्णय पनि अर्थमन्त्रीले असहयोग गरेका थिए 

‘५० अर्ब रुपैयाँ अर्थ मन्त्रालयलाई राखिएको थियो । खुला बजेट विविध शीर्षकमा त्यो कहाँ बाँड्नुभयो ? मनपरी रकम बाँड्ने र रकमान्तर गर्ने काम गरिरहनुभएको छ’, प्रधानमन्त्रीको सचिवालय श्रोतले भन्यो, ‘कांग्रेसका मन्त्रीहरूले नै प्रधानमन्त्रीको हात यसरी बाँधेपछि कसरी काम गर्न सकिन्छ ? उनीहरूले सुशासनमा पनि विभिन्न ढंगले बाधा पुर्‍याएकै छन् ।’ यस्तो हुँदा पनि कांग्रेस सभापति देउवा भने महतलाई हटाउन तयार भइसकेका छैनन् ।

खड्का र गुरुङ प्रमका प्रिय

प्रचण्ड नेतृत्वको सरकारमा हाल कांग्रेसका १० मन्त्री छन् । दश मन्त्रीमध्ये उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन मन्त्री धनराज गुरुङबाहेक कुनैले पनि राम्रो काम नगरेको र प्रधानमन्त्रीलाई सहयोग समेत नगरेको प्रधानमन्त्री प्रचण्डको बुझाइ छ ।

‘खड्का र गुरुङबाहेक कसैको काम छैन’, प्रधानमन्त्रीले आफू निकटहरूसँग भनेका छन्, ‘यही कारण गठबन्धन तलमाथि गर्ने मेरो मनसाय त होइन । तर मेरो हातखुट्टा बाँध्नेसँग काम गर्न सकिँदैन ।’

त्यसो त उद्योग मन्त्रीको कार्यशैलीप्रति पनि प्रधानमन्त्री चरम असन्तुष्ट छन् । उद्योग मन्त्री रमेश रिजालले आफ्नै बहिनी पर्नेलाई महिला उद्यमी भनेर पाँचखालमा दिएको एक नियुक्तिले मन्त्री रिजालसँग प्रधानमन्त्री बढि असन्तुष्ट बन्न पुगेका हुन् । कांग्रेस बाहेक जसपाबाट श्रम मन्त्री बनेका शरदसिंंह भण्डारीको कार्यशैलीप्रति पनि प्रधानमन्त्री सन्तुष्ट हुन सकेका छैनन् । मन्त्री भण्डारीले विदेश जानेहरूलाई तालिमका नाममा जथाभाबी रकम असुल्ने गरेको निर्णय रद्द गर्न दिएको निर्देशन कार्यान्वयनमा नल्याएपछि प्रधानमन्त्री मन्त्री भण्डारीसँग रुष्ट बनेका हुन् । ‘निःशुल्क बनाउनुपर्नेमा शुल्क बढाउनु भनेको त निरीह जनतामाथि घन हान्नु हो’, प्रधानमन्त्रीले भन्ने गरेका छन् ।

एक्सनको तयारीमा प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड फागुन दोस्रो सातातिर मन्त्रीहरू हेरफेर गर्ने सोचसहित त्यसको तयारीमा छन् । त्यसका लागि उनले सत्ता साझेदार दलहरूसँग मन्त्रीको नयाँ नाम मागिसकेका छन् । कांग्रेसले महासमिति बैठकसम्म कुर्न आग्रह गरेकाले उनी त्यसवेलासम्म कुर्ने पक्षमा पुगेका हुन् ।

 ‘त्यसवेलासम्म नाम आए ठिकै छ नत्र प्रधानमन्त्री आफ्नै ढंगले एक्सनमा जानुहुन्छ’, प्रधानमन्त्रीको भनाई उधृत गर्दै निकट स्रोतले भन्यो, ‘महासमितिसम्म कुर्छु त्यतिवेलासम्म नाम नदिए म आफ्नै ढंगले एक्सनमा जान्छु ।’ सोही संकेत प्रधानमन्त्रीले केही दिन पहिला बसेको केन्द्रीय समिति बैठकमा समेत गरिसकेका छन् । उनले बैठकमा कांग्रेससँगको गठबन्धन लाभदायक नभएको भनेर ब्रिफिङ गरेका थिए । 

‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ थियो । 

यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो  । तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा भने पुगेको उनको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्ड सकभर यो गठबन्धन टुटाउने पक्षमा छैनन् । तर हात खुट्टा बाँधेर काम गर्ने मनस्थितिमा पनि छैनन् । ‘गठबन्धन टुटाउने मनसाय प्रधानमन्त्रीको छैन । तर सुशासनको गति बढाउने उहाँको एक मात्र सोच छ । त्यही अनुसार उहाँले निर्देशन दिनुभएको पनि छ । यस क्रममा गलत हुन नदिनेमा पनि उहाँ प्रस्ट हुनुहुन्छ’, स्रोतले भन्यो  ‘प्रधानमन्त्रीले यसो भनिरहँदा हातखुट्टा बाँध्नु त भएन नि ! सानातिना कुरामा सम्झौता गर्ने पक्षमा प्रम हुँदै हुनुहुन्न ।’

कांग्रेसकै एउटा पक्षले निरन्तर प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्दै हिँडेपछि पनि प्रचण्ड थप असन्तुष्ट बनेका छन् । कांग्रेस नेता शेखर कोइरालालगायतको असहयोगी अभिव्यक्तिले प्रचण्ड सन्तुष्ट बन्न नसकेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप