आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

प्रचण्डको निष्कर्ष : कांग्रेससँगको गठबन्धन लाभदायक भएन

सोमबार, २९ माघ २०८०, १४ : ०७
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा  प्रदेश इन्चार्जहरूले पेश गरेको   रिपोर्टमाथि सोमबारको बैठकमा संश्लेषणसहितको आफ्नो धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको बताए । यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने जानकारी गराए । 

सो क्रममा प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीका साथसाथै वर्तमान सत्ता गठबन्धनको विषयमा समेत धारणा राखेका छन् । 

सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेको बैठक स्रोतले जानकारी दियो । उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् । 

‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो  । तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा भने पुगेको उनको धारणा थियो ।

प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको समेत धारणा राखेका थिए । ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक पटक धक्का मिलेको छ’, प्रचण्डले भने । राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो । 

अबका दिनमा गठबन्धन भन्दा पनि आफ्नै धरातलमा चुनाव लड्ने गरी पार्टीले अभियान सञ्चालन गर्नुपर्ने समेत प्रचण्डले बताएको स्रोतको दाबी छ ।

दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने

जसअनुसार निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने  योजना उनले सुनाएका छन् । जसअनुसार तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण नामक अर्को अभियान चलाउने योजना उनले बैठकमा सुनाएका हुन् । उनले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने जानकारी दिए । यस्तै तराई मधेस जागरण अभियानले पार्टीको संगठन सुदृढीकरणमा सघाउ पुग्ने प्रचण्डको भनाइ थियो।  यसबारे पार्टीले ठोस निर्णय गरेर अघि बढ्ने उनको भनाइ रहेको एक नेताले जानकारी दिए ।  बैठकमा प्रचण्डले उत्पीडित जनसमुदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका थिए । 

 यस्तै प्रचण्डले डा बाबुराम भट्टराई र विप्लवको पार्टीसँग एकता निष्कर्षमा पुग्न बाँकी रहेको बैठकलाई जानकारी गराएका थिए । 

कारबाहीको डन्डा

यसैगरी माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने बताएको छ ।

 प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने बैठकमा घोषणा गरेका हुन् ।  उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिएको बताइएको । रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अघि बढिने प्रचण्डको भनाइ थियो ।  यस्तै प्रचण्डले अभियानका क्रममा धेरै खटिने नेताहरूलाई विशेष सम्मान गरिने पनि बताएका छन् । 

सरकारले राम्रो काम गरेको दाबी 

यस्तै प्रचण्डले सुशासन र सामाजिक न्यायको पक्षमा सरकारले काम गरेको बैठकमा बताएको नेताहरुको भनाइ छ ।  अन्तर्राष्ट्रिय फोरममा पनि वर्तमान सरकार संसारले देख्ने गरी प्रस्तुत भएको प्रचण्डको दाबी थियो ।  ‘आशा र अपेक्षा माओवादी पार्टीप्रति महसुस भएको छ’, प्रचण्डको भनाइ थियो । 

यस्तै भ्रष्टाचारको निर्मूल नभएसम्म समाजवादको बाटो तय नहुने पनि प्रचण्डको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भूमाफिया र तस्करीका विरुद्धसम्म सरकार गम्भीर भएर लागिपरेको र निरन्तर लागिपर्ने पनि उनले बताए । 

यस्तै प्रचण्डले आफ्नो जोस अझै पनि युवाको भन्दा कम नभएको भन्दै देश र जनताका लागि बिहानदेखि बेलुकासम्म निरन्तर खटिइरहेको बताएका थिए । जति सक्रिय भयो त्यति स्वस्थ भएजस्तो अनुभूति आफूलाई हुने भन्दै सबै पार्टीपंक्ति पनि यसैगरी खटिएर जनताको पक्षमा लाग्नुपर्नेमा उनले जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप