आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
गठबन्धनमा गडबड

कांग्रेससँगको गठबन्धनबारे ‘प्रचण्ड’ अभिव्यक्तिले सत्तारुढ दलमा तरङ्ग !

गठबन्धन फेर्दा डुब्ने काममात्रै हुन्छ : उपेन्द्र यादव
बुधबार, ०२ फागुन २०८०, १६ : ११
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको भनेर गरेको टिप्पणीले सत्तारुढ दलभित्र तरङ्ग पैदा गरेको छ । पार्टीको विधान सम्मेलन सुरु हुनुभन्दा अघिल्लो दिन बसेको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक परिस्थितिको विश्लेषण गर्दै माओवादीका लागि कांग्रेससँगको गठबन्धन फलदायी बन्न नसकेको ब्रिफिङ गरेका थिए ।

‘कांग्रेससँग हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन,’ प्रचण्डको भनाइ थियो । यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भई नसकेको नेताहरूलाई बताएका थिए ।

‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक–पटक धक्का मिलेको छ,’ प्रचण्डले राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा नै भएको विश्लेषण सुनाएका थिए ।

प्रचण्डको यस्तो अभिव्यक्तिबारे सत्ता गठबन्धनमा रहेका दलले संस्थागत रूपमा कुनै धारणा दिइनसकेपनि केही नेताहरूले भने आश्चर्य प्रकट गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे दिएको अभिव्यक्तिले आफू आश्चर्यमा परेको बताए ।

‘प्रचण्डले यसो भन्नुभयो भनेर आएका समाचार मैले पनि सुनेँ । उहाँले किन त्यसो भन्नुभयो बुझ्न पाएको छैन’, अध्यक्ष नेपालले रातोपाटीसँग भने, ‘म भेटेरै यसबारे उहाँसँग कुरा गर्छु ।’

अध्यक्ष नेपालले जस्तै कांग्रेस महामन्त्री गगन थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सोचनीय रहेको बताएका छन् । ‘उहाँको अभिव्यक्तिले हामीलाई सोच्नुपर्ने ठाउँमा पुर्‍याएको छ । यसबारे पार्टीमा एकखालको छलफल त हुन्छ नै,’ थापाले रातोपाटीलाई प्रतिक्रिया दिँदै भने । कांग्रेसमा थापाबाहेकका नेताहरूले पनि प्रचण्डको उक्त अभिव्यक्तिलाई स्वाभाविक ठान्न सकिरहेका छैनन् ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रकोमात्रै लाभका लागि कांग्रेसले गठबन्धन नगरेको जवाफ प्रचण्डलाई दिइसकेका छन् । ‘प्रचण्डजीको अभिव्यक्तिबारे कांग्रेसले छलफल गर्छ’, नेता कोइरालाले भनेका छन्, ‘प्रचण्डजीलाई लाभ दिनका लागि कांग्रेसले गठबन्धन गरेको होइन । उहाँले किन यस्तो बोलिरहनु भएको छ थाहा छैन ।’

अर्का नेता रमेश लेखकले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व गर्न दिएको भन्दै उसका लागि त्यो नै लाभदायक भएको जवाफ दिए । ‘कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएका छौँ र हामी सहमति अनुसार नै अगाडि बढिराखेका छौँ’, लेखकले भनेका छन्, ‘माओवादीलाई कहाँनिर गठबन्धन अनकम्फर्टेबल भयो ? बसेर छलफल गरौँला ।’

  • गठबन्धन फेर्दा डुब्ने काममात्रै हुन्छ : अध्यक्ष यादव

सत्ता गठबन्धनआबद्ध जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीबाट व्यक्त असन्तुष्टिबारे गठबन्धनले नै सोच्नुपर्ने बताए ।

‘उहाँको असन्तुष्टि केमा हो ? प्रधानमन्त्री उहाँ आफै हुनुहुन्छ । आफै असन्तुष्ट हुने हो भने जनताको अवस्था के होला ? अरू अरूको अवस्था के होला ?,’ अध्यक्ष यादवको प्रश्न छ । उनले प्रधानमन्त्रीको असन्तुष्टि केमा हो भनेर गठबन्धनले सोच्नुपर्ने पनि बताए । ‘उहाँलाई कहाँबाट सहयोग पुगेन । गठबन्धन दलले कहाँ साथ दिएनन् । यी सबै विषय अगाडि आउनुपर्छ,’ यादवको भनाइ छ ।

प्रधानमन्त्रीलाई काम गर्न आफूहरूले सहयोग गरिरहेको भन्दै वर्तमान गठबन्धनको विकल्प खोज्न नहुने यादवको सुझाव छ । ‘गठबन्धनले सहयोग गरिराखेको पनि छ । ‘कांग्रेससँगको सहकार्य फलदायी भएन भनेर के गर्ने ? एमालेसँग पनि गठबन्धन त्यस्तै भयो । अब कहाँ जाने त ? एकल बहुमत छैन,’ यादवको भनाइ छ ।

कांग्रेस नेतृत्वको गठबन्धन फेर्ने संकेतका रूपमा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आएको हो कि भन्ने प्रश्नमा यादवले एमालेसँग सहकार्य झन् कम्फर्टेबल नभएको स्मरण गराए । ‘गठबन्धन फेरेर जाने भनेको एमालेसँग हो । तर, प्रचण्ड त्यहाँबाट पनि फर्केर आउनु भएको हो । उहाँ आफैले कांग्रेस रोजेको हो’, यादवले भने, ‘यहाँ (कांग्रेससँग) त एक वर्ष भयो । त्यहाँ (एमालेसँग) त तीन महिना पनि चलेन ।’

कांग्रेसबाट अप्ठ्यारो भएको भए बसेर छलफल गर्न सकिने उनको भनाइ छ । ‘कहाँ अप्ठ्यारो भयो कांग्रेससँगै बसेर छलफल गरौँ । हामी पनि त्यसमा सहयोग गर्छौँ । तर, गठबन्धन फेरेर फेरि डुब्ने काम मात्रै हुन्छ’, यादवको भनाइ छ ।

  • गठबन्धनमा गडबडको सुरुवात

प्रधानमन्त्री प्रचण्ड गत पुस १० लगत्तै सरकारका केही मन्त्री हेरफेर गर्न चाहन्थे । उनले सोही कुरा सार्वजनिक कार्यक्रम र गठबन्धनका शीर्ष नेताहरूसँग पनि पटक–पटक भनिसकेका थिए । तर प्रचण्डको मन्त्री फेर्ने चाहानामा सत्ता गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तत्काल तयार भएनन् । 

सभापति देउवाले आफ्नो पार्टीको फागुन ७ बाट हुने महासमिति बैठक पछि मात्रै मन्त्री हेरफेर गर्न सकिने प्रचण्डलाई जवाफ दिएका थिए भने माधव नेपालले कमसेकम आफ्नो पार्टीका मन्त्रीले यो आर्थिक वर्ष पुरा भएपछि मात्रै मन्त्री हेरफेर गर्न प्रचण्डलाई सुझाव दिएका थिए । देउवा र नेपाल दुवैले प्रचण्डको योजनाअनुसार तत्काल मन्त्री हेरफेरमा अनुमति नदिएपछि प्रचण्डको योजनामा ब्रेक लाग्नुका साथै ‘अनकम्फर्टेबल’ महसुस गर्न पुगेका थिए । 

त्यसलगत्तै फेरी प्रचण्डले गठबन्धनबाट अर्को क्षति व्यहोर्नुपर्यो । त्यो थियो गत माघ ११ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचन । राष्ट्रिय सभाका १९ पदमा भएको निर्वाचनअन्तर्गत कोशीमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकी माओवादीका चम्पा कार्की पराजित बन्न पुगिन् । यसले गठबन्धनमा थप खटपट विस्तार हुन पुग्यो । 

कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले उम्मेदवारलाई मत दिँदा गठबन्धनका उम्मेदवार कार्की पराजित हुनुपरेको जगजाहेर छ । माओवादीले कांग्रेसका मतदाताले मत नदिएको विश्लेषण गरेको छ । तर कांग्रेस माओवादीको उक्त विश्लेषण मान्न तयार छैन । निर्वाचनलगत्तै कोशी घटनाबारे बालुवाटारमा बसेको गठबन्धनको बैठकले पनि उक्त घटनालाई अप्रत्याशित भन्दै गम्भीर समीक्षा गर्न आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप