सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

प्रचण्डलाई शेखरको प्रश्न : कांग्रेससँगको गठबन्धन छोड्न कसले रोकेको छ ?

‘अब निर्वाचन प्रणाली परिवर्तनको विषय महासमिति बैठकमा उठ्छ’
मङ्गलबार, ०१ फागुन २०८०, १९ : ३९
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका लाभका लागि आफूहरूले गठबन्धन नगरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग गठबन्धन फलदायी नभएको बताएपछि नेता कोइरालाले रातोपाटीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

राणा र राजाको घुर्क्याइ नखाएको कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको घुर्क्याइ मान्ने नहुने नेता कोइरालाको भनाइ छ । कांग्रेससँगको गठबन्धन फलदायी नभए प्रचण्डलाई सहकार्य छोड्न कसैले नरोकेको उनले स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र कांग्रेस महासमिति बैठकबारे नेता कोइरालासँग गरिएको संक्षिप्त कुराकारी यहाँ प्रस्तुत छ :

  • प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन फलदायी नभएको निष्कर्ष सुनाउनु भएको छ । उहाँको निष्कर्षलाई तपाईंहरुले कसरी लिनु भएको छ ? 

-प्रचण्डजीको अभिव्यक्तिबारे कांग्रेसले अब छलफल गर्छ । प्रचण्डजीलाई लाभ दिनका लागि कांग्रेसले गठबन्धन गरेको होइन होला । उहाँले यस्तो किन बोलिरहनु भएको छ थाहा छैन ।

  • सत्ता गठबन्धनमा विश्वासको वातावरण बिग्रिएपछि यस्तो बोल्नु भएको हो कि ?

-उहाँहरूले विश्वासको वातावरण बिग्रनुमा कोशी प्रदेशको राष्ट्रियसभा चुनाव र मुख्यमन्त्री जोड्नुहुन्छ । गठबन्धनमा कोशी प्रदेश नेपाली कांग्रेसको भागमा थियो नि । नेपाली कांग्रेसको मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् । त्यहाँ मुख्यमन्त्री कसको हुनुपर्ने ? नभए सबै माओवादीलाई दिए भइहाल्यो नि ।

चुनावको कुरा छ गोप्य मतदानमा कसले के गर्‍यो हामीलाई के थाहा हुन्छ ? माओवादी केन्द्रको उम्मेदवार हार्नुमा नेपाली कांग्रेसलाई दोष दिएर हुन्छ ? गठबन्धनमा कांग्रेसले विश्वासको वातावरण बिगारेको छैन । माओवादीसँग गठबन्धनमा भएको सहमति अनुसार कांग्रेस अगाडि बढेको छ ।

  • कांग्रेसले विश्वासको वातावरण नबिगारेको तपाईं बताउँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्यबारे छलफल गर्नुपर्ने ठाउँमा पुर्‍याएको बताउनु भएको छ । नेपाली कांग्रेसको जिम्मेवारी नेताका हिसाबले प्रधानमन्त्रीले दिन खोजेको सन्देश के हो जस्तो लाग्छ ?  

-राजनीतिमा नेताहरूले यस्ता कुरा बोल्छन् । यसलाई मैले धेरै महत्त्व दिएको छैन ।

  • त्यसो भए प्रधानमन्त्रीको अभिव्यक्ति कांग्रेसलाई साइजमा राख्ने रणनीति मात्रै हो त ?

-त्यसलाई तपाईंहरुले राजनीतिक बार्गेनिङ भन्नु होला । कांग्रेसलाई कजाउन खोजेको भन्नु होला । त्यो जे पनि हुनसक्छ । यस्ता कुराहरू सबैले बोली नै राखेका छन् । कुन नेताले बोलेको छैन र ?

उहाँलाई लाभदायी भएन भने छोडिदिँदा ठिक हुन्छ । कांग्रेसको साथमा बसेर कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई घुर्क्याउन पाउनुहुन्न ।
  • अरू नेताहरूले बोल्ने कुरा र सत्ताको नेतृत्व गरिरहेको व्यक्तिले गठबन्धनप्रति असन्तुष्टि जनाउनु एउटै हुन्छ र ?

-उहाँले गर्नुपर्‍यो नि त के गर्ने हो ? नेपाली कांग्रेससँगको गठबन्धन फलदायी भएन भने छोड्ने हो त ? त्यो पनि उहाँले सोच्नुपर्‍यो नि त । उहाँले सोच्ने हो । नेपाली कांग्रेससँगको गठबन्धन छोडिदिए भइहाल्यो नि । कसले रोकेको छ ? कम्युनिस्टहरू मिले भइहाल्यो नि । घुर्क्याएर केही फाइदा छैन । नेपाली कांग्रेस कसैको घुर्क्याइ खाँदैन । राजाको घुर्क्याइ खाएन, राणाको घुर्क्याइ खाएन । अब प्रचण्डजीहरुको वा ओलीजीहरू कसैको पनि घुर्क्याइ खाँदैन ।

उहाँलाई लाभदायी भएन भने छोडिदिँदा ठिक हुन्छ । कांग्रेसको साथमा बसेर कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई घुर्क्याउन पाउनुहुन्न । हाम्रो पार्टी सभापतिलाई घुर्क्याउन पाइँदैन ।

  • प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नियमित छलफल गरिराख्नु भएको छ । यसबिचमा कांग्रेससँगको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्ने कुराले सत्ता गठबन्धनमा गडबड हुन खोजेको हो ?

-उहाँले पहिले नेकपा एमालेसँग मिलेर सरकारको नेतृत्व गर्नुभएको हो । नेकपा एमालेलाई छोडेर नेपाली कांग्रेससित आउनुभयो । फेरि जानु होला । हाम्रो संविधानले नै त्यस्तै बनाएको छ । हाम्रो निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन ।

जब कुनै दलको बहुमत आउँदैन त हुने यस्तै हो । नभए हामीले कुनै दलले बहुमत ल्याउने निर्वाचन प्रणाली बनाउनुपर्‍यो । हामी त्यतातिर सोचिराखेका छैनौँ । कहिले हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्छौँ । केही के भन्छौँ । संसदीय व्यवस्थामा एक दलले बहुमत ल्याउने निर्वाचन प्रणाली बनाउनुतिर लागौँन । अनि यस्तो चलखेल हुँदैन नि । जनमत नभएको दलले नेतृत्व गर्ने अवस्था रोकिन्छ ।

  • कांग्रेसको महासमिति बैठकका लागि तपाईंले सुझाव माग्नुभएको छ । महासमिति बैठकमा कसरी प्रस्तुत हुने तयारीमा हुनुहुन्छ ?

-हामी केन्द्रीय समिति सदस्य हौँ । जिम्मेवार व्यक्ति हौँ । पर्सी (फागुन ३ गते) केन्द्रीय कार्यसमितिको बैठक छ । त्यो बैठकले केही निर्णय गर्छ । त्यो निर्णय लिएर महासमिति बैठकमा जान्छौँ । महासमितिका सदस्यहरूले आफ्ना विचारहरू राख्नुहुन्छ । मैले पनि साथीहरूको सुझाव लिने काम गरेको छु ।

साथीहरूको सुझाव केन्द्रीय समितिमा राख्नुपर्ने हुन्छ । त्यो सुझावलाई हामीले फिल्टर गर्छौँ । हेर्छौँ । सुझावहरू आइराखेका छन् । महासमितिमा पनि त्यही सुझाव अनुसार बोल्नुहुन्छ होला । 

केन्द्रीय समितिमा कसरी आउँछ फरक कुरा भयो । केन्द्रीय समितिको एउटै डकुमेन्ट हुनुपर्छ । केन्द्रीय समितिको एउटै डकुमेन्ट भएन भने महासमितिमा अप्ठ्यारो पर्छ । कम्युनिस्ट पार्टीको जस्तो व्यक्तिपिच्छे डकुमेन्ट पेस गर्ने कुरा पनि भएन । हामीहरूको त्यस्तो होइन । 

प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राखेर २४० सिटको प्रतिनिधि सभा बनाउनुपर्छ । समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिनुपर्छ भन्ने मेरो मान्यता छ । जसरी हामी यो घुर्क्याई खाइराखेका छौँ ,यो कम हुन्छ ।
  • निर्वाचन प्रणाली परिवर्तनको एजेन्डा प्रवेश गराउनुहुन्छ ?

-म निर्वाचन प्रणाली परिवर्तनको पक्षमा छु । यो विषय महासमिति बैठकमा उठ्छ । अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिट नै सुरक्षित गर्नुपर्छ । 

महिला-महिला, दलित-दलितमा र जनजाति-जनजातिका बिचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ  । प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राखेर २४० सिटको प्रतिनिधि सभा बनाउनुपर्छ । समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिनुपर्छ भन्ने मेरो मान्यता छ । जसरी हामी यो घुर्क्याई खाइराखेका छौँ, यो कम हुन्छ ।

  • महासमिति बैठकमा अरू के-के विषय उठाउने तयारीमा हुनुहुन्छ ?

सभापतिदेखि सबै नेताहरू वडादेखि लड्दै आउनुपर्छ भन्ने कुरा महासमिति बैठकमा पक्कै आउँछ । स्थानीय, प्रदेश र प्रतिनिधिसभामा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्छ भन्ने कुरा पनि आउँछ । चुनावबाट बहुमत ल्याउन नसके सरकार बनाउँदा गठबन्धन गरे हुन्छ । निर्वाचनमा गठबन्धन गर्नुहुँदैन । धर्मको कुरा आउला । यो विषय विगतमा पनि उठ्दै आएको छ । यिनै विषय त हो नि ।

  • महासमिति बैठकपछि कांग्रेसमा के कुरा हुन्छ ?

महासमिति बैठकले १५ औँ महाधिवेशनको तिथि—मिति तोकिनुपर्छ भन्ने मेरो मान्यता हो । हामी महासमितिमा गयौँ । महाधिवेशन भएको दुई वर्ष भयो । १५ औँ महाधिवेशन हुनु दुई वर्ष बाँकी छ । महाधिवेशनको कार्यतालिका बनाएर समयमा काम नगर्दा १४ औँ महाधिवेशन हतार—हतार गर्नुपरेको थियो । १५ औँ महाधिवेशन समय लिएर गर्दा राम्रो हुन्छ । नेपाली कांग्रेसलाई विधि र विधानसम्मत सञ्चालनका लागि महासमिति बैठकले दिशानिर्देश गर्छ भन्ने मलाई विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप