शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी बढाउन अमेरिकामा गोलमेच सम्मेलन

शनिबार, ०५ फागुन २०८०, ०६ : १३
शनिबार, ०५ फागुन २०८०

गोकुल श्रेष्ठ
न्यूयोर्क । नेपालमा व्यापार, पर्यटन र लगानी बढाउने उद्देश्य सहित नेपाल महावाणिज्य दूतावास न्यूयोर्कले गोलमेच सम्मेलन गरेको छ । ब्रुकलिन चेम्बर अफ कमर्ससँगको सहकार्यमा महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा ५० भन्दा बढी अमेरिकी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

'नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू' विषयक गोलमेच छलफलमा अमेरिकी व्यवसायीहरूले नेपालमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनका बारेमा चासो राखेका थिए । उनीहरुले नेपालमा लगानीको सम्भावना, पर्यटकीय गन्तव्य र त्यसका चुनौतीका बारेमा समेत चासो व्यक्त गरेका थिए । कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णु प्रसाद गौतमले व्यवसायीहरूलाई नेपाल भ्रमण गर्न र लगानी बढाउन आग्रह गरे । उनले लगानी विस्तारका लागि सहजिकरण गर्न नेपाली महावाणिज्य दूतावास सधैँ तयार रहेको पनि जानकारी दिए ।

ब्रुकलिन चेम्बर अफ कमर्ससँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता संयुक्त राष्ट्रसंघ स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोक बहादुर थापाले नेपालमा राजनीति स्थायित्वसँगै लगानीको राम्रो वातावरण बनेको भन्दै अमेरिकी लगानीकर्ताहरूका लागि लगानी गर्न उत्कृष्ट समय रहेको बताए । उनले लगानीकर्ताहरूका लागि सहजिकरण गर्न नेपाल सरकार सधैँ तत्पर रहेको भन्दै अमेरिका र नेपालबिचको परस्पर सम्बन्धलाई लगानीले थप मजबुत बनाउने दाबी गरे । उनले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी नीति, कानुनी संस्थागत ढाँचा र रणनीतिहरू सहज बनाएको जानकारी दिँदै नेपालमा लगानी गरेकोमा अमेरिकी तथा गैरआवासीय नेपाली उद्यमीहरूको प्रशंसा पनि गरे ।

कार्यक्रममा अमेरिकी विदेश विभागकी प्रतिनिधि ओलिभिया स्नाजाले नेपालप्रति अमेरिकी चासो अझै बढिरहेको भन्दै नेपालको विकासमा अमेरिकी सहयोग जारी रहने बताइन्। उनले दुई देशको सम्बन्धमा पुलको रूपमा काम गरेकोमा लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरूलाई धन्यवाद समेत दिइन् । त्यस्तै ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्शका अध्यक्ष एवं सीईओ मार्क जाफ, ब्रुकलिन चेम्बर अफ कमर्सका उपाध्यक्ष डिना रबिन र सोर्स एटलान्टिकमा अध्यक्ष एवं सिईयो विलियम म्याकगोवेन, मिडास क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष डेभिड जे मार्टिनले नेपालसँग थप व्यापारिक सम्बन्ध विस्तार गर्न आफूहरू आतुर रहेको बताए ।

कार्यक्रमको दोस्रो चरणमा व्यवसायी एवं विज्ञहरूबिच गोलमेच छलफल गरिएको थियो ।  वरिष्ठ सञ्चारकर्मी किरण क्षेत्रीले सहजिकरण गरेको पहिलो चरणको छलफलमा नेपाली गार्डेन न्यूयोर्कका सिईओ अनिल रौनियार, नेपाल टि कलेक्टीभ न्यूयोर्कका संस्थापक एव निश्चल बाँस्कोटा, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठ, माउन्टेन लिगेसी इन्टरनेशनलका सिईओ एवं सनराईज पश्मिनाका सञ्चालक डा सेथ सिक्रोफ र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालका पूर्व सिईओ शैलेश मिश्रले सहभागिता जनाएका थिए । उनीहरुले नेपालमा गरिएको लगानी, व्यापार अनुभव र चुनौतीका बारेमा छलफल गरेका थिए । सारांशमा नेपाल लगानीको निकै सम्भावना भएको क्षेत्रको रूपमा टिप्पणी गरिएको थियो ।

Consulate1

त्यस्तै अमेरिकी एक्सप्रेसकी वरिष्ठ जोखिम प्रबन्धक स्नेहा शर्माले सहजिकरण गरेको दोस्रो गोलमेच छलफलमा युएस–नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष वेद खरेल, एभरेष्ट फेडरल क्रेडिट युनियनका सीईओ विराज रिजाल, क्रस बोर्डर पेमेन्ट तथा स्थार्टप माच्नेटका सिईओ जय दाहाल, कोलम्बीया युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेशर डा समिर मास्के र क्रस रिभर बैंकका क्वान्टीटिभ रणनीति प्रमुख प्रवेश रिजालको सहभागिता रहेको थियो । उनीहरुले आफ्नो सफलताका कथा सुनाउँदै अबको दुनियाँ सूचना प्रविधिको भएको र त्यसका लागि आफूहरूले नेपालमा योगदान गर्न सक्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा व्यवसायीहरूले नेपाल सरकारको नीतिका बारेमा चासो राखेका थिए भने कार्यवाहक महावाणिज्य दुत गौतमले सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । सहभागीहरूले आगामी अप्रिलमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनमा सहभागिताका लागि चासो व्यक्त गरेका थिए ।

Consulate 4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप