आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

शनिबार, ०५ फागुन २०८०, १८ : ५५
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताएका हुन् । 

विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुन्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।”

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा नभएको जिकिर गरे । सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे । 

पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप